ओली सरकारको अपमानजनक बहिर्गमन: एक विश्लेषण

संसारको कुनै पनि विषयवस्तुलाई अंश वा टुक्रामा बुझ्नु हुन्न। यस्तो आंशिक वा टुक्रे बुझाईले व्यक्तिलाई विवेकशील र उचित निष्कर्षमा पुर्याउदैन। के यो समस्या जनताको तहमा मात्रै छ कि नेताहरु पनि यस्तो टुक्रे बुझाईको शिकार हुने गर्दछ ? वर्तमान नेपाली राजनीतिमा अदालत वा अदालतमा राजनीति , यी दुई फरक पाटाका विश्लेषण र संश्लेषण गर्दै गर्दा जनताको तहमा भन्दा नेताको तहमा राजनीतिक सुझबुझ कमजोर रहेको भन्ने मेरो ठम्याई छ। नत्रभने सत्तरी वर्षको संघर्ष , त्याग र माग बमोजिम संविधान सभाबाट प्राप्त नेपालको संविधान २०७२ लाई चलाउने , कुच्याउने र विघटन गर्न खोज्ने बदनियतपुर्ण हर्कत कोहि कसैबाट हुदैनथ्यो। तर भयो। 
खसीको मासु देखाएर कुकुरको मासु बेच्न पल्केका तथाकथित कम्युनिस्ट भनाउदाले गएको तीन वर्षमा दुई तिहाईको जनमत , सरकार , कम्युनिस्ट एकता र सबैभन्दा महत्त्वपूर्ण कुरो, जनविश्वासलाई चितामा लगेर जलाए। यसबाट के प्रष्ट हुन्छ भने यिनीहरूको लागि देश र जनता भन्दा पनि कुर्सी र सत्ता प्रमुख रहेछ। मार्क्सवाद र लेनिनवादको मात्रै बदनाम गरेनन् बरु सिङ्गो रास्ट्रको लामो समयदेखिको समाजवादी राज्य व्यवस्थाको चाहनालाई फेरि एकपटक लत्याए। संविधानको प्रस्तावनामा अङ्कित गरिएको यो हजारौं सहिदको सपनालाई कम्युनिस्ट ओली सरकारले साकार नगरेपछि उनको बहिर्गमन नचाहनेहरु सच्चा कम्युनिस्ट हुन सक्दैनन्। 
अब आउने चुनावमा सङ्घीयता, समावेशीता , समानुपातिक सहभागिताको विरोध गर्दै हिन्दुराज्यको एजेन्डा बोकेर ओली एमाले प्रस्तुत हुने लगभग निश्चित छ। उनको नागरिकता सम्बन्धी अध्यादेश , मध्य रातको गोयलसङ्गको गोप्य भेटघाट र नेपाल र नेपाली भन्दा पनि भारत  र भारतीयको हित र फाइदाका लागि प्रयोग हुने राजेन्द्र महतो र महन्त ठाकुर जस्तासङ्गको मायापिरतीले गर्दा उनको खोक्रो र बनावटी रास्ट्रवादी मुकुन्डो उत्रेपछि उनको छवि र लोकप्रियताको ग्राफ ह्वात्तै ओरालो लगेको यस परिप्रेक्ष्यमा हिन्दुत्व र हिन्दुराज्य बाहेक अरु एजेन्डा नहुन सक्छ। मोदीको सङ्गतबाट र मोदीको कक्षाबाट हिन्दुत्व बाहेक अर्थोक सिक्न अलि गाह्रै हुनेछ। 
America First भन्ने ट्रम्पले जानीजानी लापरबाही गर्दै ६ लाख अमेरिकीलाई कोरोनाबाट मर्न वाध्य पारे। त्यसैगरी Neighbour First भन्ने मोदीले भारत स्वतन्त्र भए यता आफ्नो छिमेकी मुलुकसँग सबैभन्दा बढी सम्बन्ध बिगारे। भुटान बाहेक कोहिसङ्ग सुमधुर सम्बन्ध छैन। दक्षिण एसियामा मोदी र रअ असफल पात्र र संस्था बन्न पुगेको छ। सबै दक्षिण एसियायी रास्ट्रहरु चीनसँगको सम्बन्ध र बिकास साझेदारी अगाडि बढाउदैछ। बङ्गलादेश, म्यान्मार, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र अफगानिस्तानसङ्ग केवल ब्यापार सम्बन्ध नभई रणनीतिक र कतिपय देशसङ्ग सामरिक सम्बन्ध अगाडि बढाइरहेको चीनलाई छोडेर मोदी र रअको असफल कुटनीती र रणनीतिमा फस्नु क. ओलीको अवनतिको कारण हो भन्न सकिन्छ। 
एमसिसी अनुमोदन गरेर अमेरिका रिझाउने, नागरिकता कानुन खुकुलो गरेर भारत रिझाउने साथै हिन्दुत्व र हिन्दुराज्यको मुद्दा उठान गरेर बिजेपी र आरएसएस रिझाउने निकै कुटिल चाल र नीति अवलम्बन गर्न खोजिएको ओली नीति निर्माताले वास्तवमा अन्तर्राष्ट्रिय भूराजनीतिक समीक्षा गरि सहि निष्कर्ष निकाल्न सकेनन्। फलस्वरूप काङ्ग्रेस , माओवादी , जसपासङ्ग सम्बन्ध बिग्रेको अवस्थामा आफ्नै पार्टीका इमानदार , सिद्धान्तनिष्ठ ,पुरोनो र त्यागी सहकर्मी नेतागणले पनि ओलीको साथ छाड्नु पक्कै पनि सुखद कुरो होईन। एकोहोरो , जिद्दी , अहंकारी र सत्तालिप्सा नै ओलीको बहिर्गमनको प्रमुख कारण देखिएता पनि सार कुरो अलि फरक छ। त्यो के भने उनको वर्तमान संविधानप्रति असन्तुष्टि र त्यो असन्तुष्टिमा पेट्रोल छर्कने काम भारतले गरेको साथै चीन घेर्न आफ्नो इशारामा चल्ने  एउटा तानाशाह नेपालमा आवश्यक रहेको भन्ने अमेरिकी बुझाईले गर्दा सत्ता र शक्तिमा रहेको ओलीलाई CIA र RAW को सबै एजेन्ट र नेटवर्कले साथ दिएकोले र रास्ट्रपति पनि आफ्नै अनुकुल रहेकोले जे गर्दा नि हुन्छ भन्ने दम्भले चीनको शक्तिलाई नजरअन्दाज गरेको देखियो। 
अर्बौं डलर अनुदान र ऋण सहयोग दिने र देशकै रास्ट्रीय सुरक्षा व्यवस्थापनमा लामो समयदेखि अहम् भूमिका खेल्दै आएको आणविक शक्ति सम्पन्न रास्ट्र पाकिस्तानले त अमेरिकाको साथ छाडेर चीनसँगको सम्बन्धलाई पहिलो प्राथमिकता दिइरहेको सन्दर्भमा क. ओली चीनको अपमान गर्दै भारतको कित्तामा हाम फाल्नु विश्व शक्ति सङ्घर्ष र अन्तर्राष्ट्रिय प्रभुत्वको होडबाजीमा आइरहेको बदलावलाई आत्मसात गरि सटिक विश्लेषण गर्न नसकेको भन्ने बुझिन्छ। प्रायः सबै एसियायी रास्ट्रहरुमा भारतीय कुटनीती असफल बनिरहेको यस घडीमा नेपालमा उसको कुटनीती सफल हुने संभावना नै थिएन। सन १९५० को सन्धि पछिको नेपालमाथी भारतीय प्रभाव र दबाब न्यूनीकरण हुँदै गएको र चीनको वल्फ वारिअर डिप्लोमेसी नेपाल लगायत विश्वभर बढ्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा सटिक मुल्यांकन गर्न नसक्नु एक डरलाग्दो कमजोरी हो। केही दिन अघि मात्र चीनिया कम्युनिस्ट पार्टीको आफ्नो स्थापना कालको सयौं वार्षिकोत्सबको अवसरमा रास्ट्रपति सि जिनपिङ्गले पश्चिमा रास्ट्रहरु र विशेषगरी अमेरिकालाई इङ्गित गर्दै भनेका थिए कि चीनलाई दुख दिने जोसुकै होस् त्यसलाई चीनको ग्रेट वालमा पछारेर टाउको फुटाइनेछ र रक्ताम्य बनाइनेछ। यसबाट स्पष्ट हुन्छ कि चीनको आगामी दिनको विश्व राजनीति र कुटनीतिमा जबर्जस्त हस्तक्षेप र प्रभाव देखिनेछ। भारतको भन्दा पाँच गुणा ठूलो अर्थतन्त्र भएको चीनको प्रभाव नेपालमा भारतको भन्दा ठ्याक्कै पाँच गुणा ठुलो नभए पनि तुलनात्मक रूपमा ठुलै हुनेछ अबका दिनहरूमा !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *