कविता-हो हामी झोले हौँ

हजारौँ वर्षको एउटा बर्बरता
किनलकको डायरीबाट झिकेर दुई अक्षर भएपनि
सुगन्ध छर्ने भ्रममा लागेका हामी
कुशल झोले ।

हामी संग हाम्रो आफ्नै भन्ने अस्तित्व छैन
छ त केवल तिमीले दिएको दुईथोपा आशिर्वाद
गुजारा चलाउने केहि थान खोष्टा नोट
त्यसले सिर्जना गरेको दातव्यको तिम्रो अहंकार संगसंगै
कुल्चिएका विश्वासका सिमारेखाहरु ।
आज बनेको भ्रम भोलिको यथार्थता
दुई नम्बरी, दुई थान सिरानी
त्यसैको आडमा बसेर तिमीले सिर्जना गर्ने हजारौं गुड्डी
समुन्द्रको किनारको ज्वारभाटाको चित्कार
पुरिँदै गरेको संघर्षको इतिहास ।
विशे नगर्चीको दुःख जस्तै
दुःखको हजारौं झोले
आशिर्वादकै लर्काेमा लामवद्ध
आलो क्रमिकतामा उभिँदै
बफादारीता घोक्दा घोक्दै
पौष्टिकता बिनाका लुते भएका छन् ।

हिजो फालेर आएको राजा जस्तै
हिजो चुँडालेर हिँडेको माला जस्तै
हिजो पोखाएर मासिएका मदिरा जस्तै
हिजो खुवाएरै भएपनि नखेल्न उर्दि दिएका
जुवाका खाल जस्तै
आज सवै सवै जस्तै तिमी
बन्नै लाग्दा पनि हामीले पुच्छर हल्लाइदिनुपर्ने
हामीले चुइक्क नगरिदिनुपर्ने
हो, हामी झोले नै हौँ ।

फरक छैन हाम्रो परिवेश
उहि आहात छ
निकम्माको पगरी, उहि बेरोजगारको व्यंग्यता
उहि सामाजिक बहिष्करण
उहि नै, उस्तै नै
केवल झोले मात्रै
अझ निकम्मा शिरानीमा हालेर सुत्नै पर्ने
सर्टिफिकेटको कागजी खोस्टो भएको झोले ।

हजारौ पटक कष्ट उठाएर
लाखौँ पटक दुःख बिसाएर
अनेक हण्डर ठक्कर खाएर
तिम्रै लागि लोकसेवाको परिक्षामा भन्दा बढि
तिमीलाई पास गरायौैं
राजनीतिक जीवनका सयौँ लोकसेवा
क्रान्तिकै नाममा सुम्पियौँ
जीवनभर सुकिलो कोट र सुखका नोट कमाएको
दुईथान मुसुमुन्डेले योग्यताको कडिमा
लोकसेवा पास गर्न नसक्ने
निकम्मा भनिदिँदा कयौँ चियर्सहरुसैगै
हामी सधैँका झोलेमा परिणत भयौँ ।

सुखको गाडीबाट ओर्लेर भुइँमा नमस्कार गर्दैगर्दा
भोलि तिम्रो कूटिल मुस्कानले
यिनै झोलेको झोल्लिँदै गरेको
निकम्मा जीवनशैलीमा
फगत बहिष्कारका लामा कोशेली देख्नेछौ ।

फगत निकम्मा दिमाग नभएको, मुढी
कुनै पनि अर्थमा सुकिलो कोटको दाँजोमा
कहिल्यै नपुग्ने तिमी
सबैको आँखाको तगारो
फगत झोले
केवल झोले ।
–दिपेश बराल
सिन्धुली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *