कविता – रहरै रहरको घर
आमा,
धुरीखाँबो साँच्चै डगमगाउन थालेको भान हुँदैछ
धुरीबलोमा दिनदिनै धमिराले गिद्धे नजर लाएको देख्दैछु
लाएको हो या लगाइएको हो,
ठम्याउन नसकेर
म हायलकायल भएको छु आमा ।
फेरखाँबाले आँफै तीन तिघ्रे भएको घोषणा गर्दैछन्
बलाहरु बलिष्ठ भएको उद्घोष गर्दै
फेरखाँबासंग सिङौरी खेल्न तमतयार छन्
र जोड्ती छोड्दै छन् आपसमा
यो दृष्य नतमस्तक हेरिरहेछु म
र यस्तो लाग्दैछ–
धुरीखाँबो समातेको नाटक गर्दै
धुरीबलो नछोडेको अभिनयमा
तीनतिघ्रे फेरखाँबा र बलिष्ठ बलाहरु
निम्छरो ‘घर’ माथि धावा बोल्दैछन्
निरन्तर प्रहार गर्दैछन्
र हावी भैरहेछन् सुन्दर घर विरुद्ध
फँणा फिँजाउन, निर्मम नंग्रा गाढ्न ।
भनन आमा,
–के धुरीबलो डगमगाएकै हो ?
–कल्पना गरे जस्तै, सपनामा बनाए जस्तै
बिपनामै सजाएको सुन्दर घर
र त्यसमै कुँदिएको सिंगो परिवारको
रहरै रहरको सुन्दर आकृतीमा
के अव हिलो छ्यापिएकै हो ?
भन्देउन आमा एकपटक–
‘बाबु, यो सब तेरो सपना मात्र हो’ भनेर ।
हो आमा,
यी सबै सपना हुन् र थिए
त्यही सपना, कल्पना र रहरै रहरको जगमा
सुन्दर घरले पूर्णता पाएको हो
रहरले बुट्टा भरिएको दिलाकृतीभित्र
रहरलाग्दो परिवारको सुन्दर तस्वीर पनि
तिमीले नै कुँदेकी हौनी–हैन र….???
कि विश्वास लागेन आमा ?
तिम्रै पदचाप पछ्याउँदै धर्ती बन्न सिकेकी
सात समुन्द्रपारी पुगेर पनि
तिम्रै कथा लेख्दै गरेकी
तिम्रो रगत नै प्रमाणका लागि काफी छैनर ?
आधा जीन्दगीसम्म चप्पल नचिनेका तिम्रा पैताला
कालीमुन्टी र देब्रेका लहरासंग राम्रै परिचित भए
महिनौँ काइँयो नडोबिएका तिम्रा कपालले
नाम्लाको पातोसंग निकै नजिकको नाता गाँस्यो
न पोल्यो तिम्रो थाप्लो
न घोच्यो तिम्रो पैताला
देखीरह्यौ रहरहरु अनि रहरहरु मात्रै
गाँसीयो, बेरीयो सिंगो रहर
सखुवा, साज, डाम्डुमे र चिलाउनेसंग
आफू बन्यौ सतीसालको ‘धुरीखाँबो’
त्यसैभित्र कुँदीयो सारा रहर
अनि बनायौ सुन्दर ‘घर’ ।
एकपटक भन्देउन आमा –
‘बाबु यो चाहीँ तेरो सपना हैन’ भनेर ।
– ध्रुवचन्द्र खड्का
सिन्धुली