सिन्धुलीमा रक्तदान गर्ने बढे, एक वर्षमा ८ सय ७० युनिट रगत संकलन

सिन्धुली/सिन्धुलीमा एक वर्षमा रक्तदान गर्नेको संख्या बढेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८ सय ७० जनाले रक्तदान गरेका छन् । आर्थिक २०८१/८२ वर्षमा भने ७ सय ५१ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका कार्यालय प्रमुख पवन पाख्रीनका अनुसार यस वर्ष रक्तदान गर्नेमा ७ सय २३ जना पुरुष र १ सय ४७ जना महिला रहेका छन् ।

जिल्लामा कहिलेकाहीँ रगतको अभाव देखिए पनि आवश्यकता अनुसार व्यवस्थापन गर्दै रगतको अभाव हुन नदिइएको पाख्रीनले बताउनुभयो । “हामीले रगत अभाव हुन दिएका छैनौँ,” उहाँले भन्नुभयो ।

महिलाको तुलनामा पुरुषहरुको रक्तदानमा सहभागिता बढी हुनुमा महिलाको स्वास्थ्य अवस्था, महिनावारी लगायतका कारण महिलाहरुको रक्तदानमा सहभागि कम देखिएको पाख्रीनले बताउनुभयो । महिनावारी भएको अवस्थामा तथा त्यस पछिको केही समय रक्तदान गर्न नमिल्ने भएकाले महिलाको सहभागिता कम देखिएको उहाँको भनाइ छ ।

पछिल्लो समय पुरुषमा पनि विभिन्न दीर्घरोग देखिन थालेकाले रक्तदान गर्ने उमेर समूहमा त्यसको प्रभाव परेको पाख्रीनले बताउनुभयो । अहिले प्राय जसो ४० देखि ५० वर्ष उमेर समूहका पुरुषले रक्तदान गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा कुल ८ सय ७० युनिट रगत संकलन भएको छ। जसमा ए पोजेटिभ २ सय २९, बी पोजेटिभ २ सय ८०, ओ पोजेटिभ २ सय ६९, एबी पोजेटिभ ९१, ए नेगेटिभ २, बी नेगेटिभ ३, ओ नेगेटिभ १ र एबी नेगेटिभ ५१ युनिट रहेका छन् ।

रक्तदान अभियानमा हालसम्म जिल्लाका ३७ वटा संस्थाले सहयोग गरेका छन्। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीअन्तर्गत जिल्लामा ४२ वटा शाखा तथा उपशाखा रहेका छन्। तीमध्ये रक्तदान कार्यक्रमका लागि सिद्धबाबा उपशाखाले सबैभन्दा धेरै सहयोग गर्दै आएको पाख्रीनले बताउनुभयो ।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा  महिलाहरुको सहभागिता समेत बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा रक्तदान गर्नेमा करिब १५ प्रतिशत महिला र ८४ प्रतिशत पुरुष रहेकामा आर्थिक वर्ष २०८२/८३ मा महिला १६ प्रतिशत र पुरुष ८३ प्रतिशत रहेका छन् ।

आपत्कालीन अवस्थामा रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले रक्तदान गर्न पाख्रीनले सबैलाई आग्रह गर्नुभएको छ। जिल्लामा आवश्यक पर्ने रगत व्यवस्थापनका लागि विभिन्न संघसंस्था तथा रक्तदाताबाट निरन्तर सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *