मरिणमा २ दिने निःशुल्क शिविर समापन,८७ जनाले गराए शल्यक्रिया

सिन्धुली/मरिण गाउँपालिकामा २ दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम समापन भएको छ ।

सनिबारबाट २ दिनसम्म सञ्चालन भएको मोतिबिन्दु आँखा जाँच तथा शल्यक्रिया शिविरको आज समापन गरीएको गाउँपालिकाले जानकारी दिएको छ ।

२ दिन सम्म मरिण गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौंको संयुक्त आयोजनामा मरिण गाउँपालिका ६ छापस्थित मरिण आधारभूत अस्पताल (कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्र) मा सञ्चालन भएको निःशुल्क शिविरमा १३४ जनाले स्क्रिनिङ जाँच गरेका छन् । त्यस्तै पालिकाको अनुसार १३४ जना मध्य ४१ पुरुष र ४६ महिला रहेका छन् भने ति मध्य ८७ जनाको निःशुल्क मोतिबिन्दुको सफल शल्यक्रिया समेत गराएका छन् ।

शिविर समापन कार्यक्रममा बोल्नुहँुदै गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान –(प्रख्यात)ले सहकार्य गर्ने सम्पूर्ण संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता नागरिकमैत्री स्वास्थ्य सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने बताउनुभयो ।

पालिकामै यस्ता किसिमका शिविर पाए पश्चात स्थानियहरुले पालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।

समापन कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र विशेषज्ञ डा. प्रतिभा लामा जोशी, वडाअध्यक्ष हर्कवीर माझी, कार्यपालिका सदस्यहरू, डा. अनिल त्याठा, डा. महेश कुमार श्रेष्ठ, शिविर म्यानेजर भोजराज पोखरेल, कार्यक्रम अधिकृत निर्जना धोजु, स्वास्थ्यकर्मी र स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *