गजुरेल परिवारबाट दुई उमेदवार, हरिबोल भने दाहालको प्रस्तावक
सिन्धुली/नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको परिवारबाट फागनु २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ मा दुई जनाको उमेद्वारी परेको छ । तर गजुरेल भने स्वतन्त्र उमेद्वार महेश्वर दाहालको प्रस्तावक बनेका छन् ।
हरिबोल गजुरेलका साईलो दाइ डा. मुकुन्द प्रसाद गजुरेल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिन्धुली क्षेत्र नं. २ बाट उमेद्वार बनेका छन् । त्यस्तै गजुरेलका काइलो दाइ मुरारी प्रसाद गजुरेलका छोरा आशिष गजुरेल यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका छन् ।
लिलानाथ गजुरेलका ठाईला छोरा हरिबोल गजुरेल माओवादी केन्द्रका प्रभावशालि नेता हुन् । तर प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि उनले सिन्धुली जिल्ला जन्मथालो रहेका काठमाण्डौं महानगरपालिका–४, गिताञ्जली मार्ग स्थायि निवासी महेश्वर दाहाललाई पार्टीबाट विद्रोही उमेदवार बनाएका छन् । कोषि प्रदेशका इन्चार्ज समेत भएका गजुरलले सिन्धुलीबाट संविधान सभा निर्वाचन २०७० र प्रतिनिधि सभा निर्वाचन २०७४ बाट दुई पटक सांसद भई मन्त्री समेत बनेका थिए ।
मुकुन्द प्रसाद त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका पूर्व डिन हुन् भने आशिष गजुरेल यातायात इन्जिनियर हुन् । हरिबोल गजुरेलका सात दाजु भाइ सबै फरक फरक राजनीतिक आस्थामा विभाजित छन् ।


