ख्रीष्टमस नजिकिएसँंगै शुभकामना आदन प्रदान कार्यक्रम

सिन्धुली/ ख्रीष्टमस नजिकिएसँंगै सिन्धुलीको हरिहरपुगढी गाउँपालिका २ चैनपुर बजारमा बिहिबार शुभकामना आदन प्रदान कार्यक्रम गरिएको छ ।मावन जातिको महान मुक्तिदाता प्रभु येशु ख्रीष्टको जन्म उत्सवको अवसरमा हिजो बिहिबार ईसाइ एकता समाज मरिण र ईसाइ एकता समाज हरिहरपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख वक्ता कमल अधिकारीले आउँदै गरेको ख्रीष्टमसको शुभकामना दिनुहुँदै येशुख्रीष्टको जन्मदिन अर्थात् ख्रीष्टमस डे को अर्थ अनन्त जीवन दिनुहुने येशुख्रीष्टलाई हृदयमा अपनाउनु पनि रहेको उहाँले बताउनुभयो ।त्यस्तै हरिहरपुरगढी गाउँपालिका २ चैनपुरका वडा अध्यक्ष विश्व राईले उक्त कार्यक्रममा बोल्नुहुँदै हाम्रो नेपालमा फरक भाषा, फरक संस्कृती साथै फरक धर्ममा आस्था राख्ने व्यक्तिहरु भएता पनि सबैले एकअर्काको भावना विचार र अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा परमेश्वरको महिमा, प्रशंसा, आराधना गर्दै शुभकामना आदन प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा येशुख्रीष्टको जन्म उत्सवलाई केन्द्रित गर्दै मकवानपुर तथा सिन्धुलीका विभिन्न मण्डलीका जवानहरुले ख्रीष्टमस गीतमा नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राजनितीक दलका प्रतिनिधी, वडा अध्यक्ष, सिन्धुली–मकवानपुर लगायत विभिन्न ठाउँका रेभरेन, पास्टरहरु, प्रहरी, पत्रकार, जिल्लाका ईसाइ तथा गैरईसाइ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

आजभन्दा दुई हजार वर्ष अगाडि समस्त मानव जातीहरुलाई पापबाट उद्धार र मुक्ति दिनको लागि येशुख्रीष्ट यस संसारमा आउनुभएको खुसीयालीको अवसरमा संसारभर नै डिसेम्बर २५ तारिखमा ख्रीष्टमस मनाईने गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *