तिन दिने “जुनार प्रवर्द्धन मेला २०८२” आजबाट सुरु
सिन्धुली /‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान ! गोलन्जोरको जुनार, समृद्धिको आधार’ भन्ने नारा सहित “जुनार प्रवर्द्धन मेला २०८२” आजबाट सुरु भएको छ ।मंसिर २३ गते देखि २५ गते सम्म गोलन्जोर गाउँपालिका ४ माझकुभिण्डेमा सञ्चालन हुने तीन दिने जुनार प्रर्बद्धन मेलाको आज एक कार्यक्रम बिच बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी बिकास मन्त्री मधुसूदन पौडेलले उद्धघाटन गर्नु भएको हो ।
मेलालाई सम्बोधन गर्नुहुदैँ बागमती प्रदेश कृषि तथा पशुपन्छी बिकास मन्त्री मधुसूदन पौडेलले जुनार मेलाको आयोजना गरेकोमा गाउँपालिका लाई धन्यबाद दिदैँ आगामी वर्ष जुनार प्रवर्द्धनका लागि बागमती प्रदेशबाट बजेट विनियोज गर्ने प्रतिबद्धता व्यक्त गनुभयो । त्यस्तै उहाँले कृषकको जीवनयापनको प्रमुख आधारको रुपमा रहेको जुनारलाई नष्ट भएर जान नदिन बागमती प्रदेश सरकारले सकेको सहयोग तथा समन्वयन गर्ने समेत बताउनुभएको छ ।
बाटो देखि लिएर भौतिक पूर्वाधार बिकासको लागि सो क्षेत्रमा भएका अथाह आवश्यकतालाई मध्यनजर गर्दै बहुवर्षीय योजनामा गोलन्जोरलाई आगामी दिनमा प्राथमिकतामा राखिने समेम मन्त्री पौडेलले बताउनुभयो। साथै उहाँले आफ्नो उत्पादनलाई संसार भरी चिनाउनलाई गरिएको मेलाको विशेष अर्थ हुने बताउनुहुदैँ गाउँपालिकाको यस अभियानले जुनार फलाउने कृषकहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
यस्तै गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले वर्षेनी जुनारमा लाग्ने औँसा, विभिन्न प्रकारका हानिकारक पुतली र बोट मर्ने समस्याहरुले कृषकलाई जहिले समस्यामा पारेको र हुनु पर्ने आम्दानी समेत हुन नसकेको गुनासो व्यक्त गर्नुभयो ।साथै वार्षीक ८० करोड बढीको आम्दानी हुने यस जुनारलाई सरकारले बेवास्ता गरिदिदाँ धेरैले पाउन सक्ने स्वरोजगार, जीविकोपार्जन समेत खोसिएको बताउनुभयो । सरकारले पनि जुनारको प्रचार प्रसार र उचित प्रर्बद्धन गर्नको लागि निकै आवश्यकता रहेको अध्यक्ष बरालल बताउनुभयो
मेलामा स्थानिय कृषकहरुले जुनारबाट बनाएका जुस, जाम, जेली, स्क्वास, क्याण्डी लगायतका खाद्यबस्तुहरु व्यापार तथा प्रदर्शनीमा राखिएको थियो । मेलाको अवसरमा गाउँपालिकाका कृषक र विज्ञबीच बगैँचामा जुनार प्रवर्द्धनको विषयमा पनि छलफल तथा परामर्श हुने छ । मेलामा विभिन्न जातजातीको पहिचान झल्किने पहिरन भेषभुषा र बाजागाजा सहित कृषक, कृषि सहकारी संस्था, कृषक समूह, जुनार कृषकबाट झाँकी र्याली प्रस्तुत गरिएको थियो ।
साथै मेला अवलोकन गर्न आउने पर्यटकहरुलाई जुनार बगैचाको प्रत्यक्ष अवलोकन, जुनार बगैचामा आफैले जुनार टिपेर खान, फोटो खिच्न पनि छुट प्रदान गरिएको छ । साथै तीन दिन सम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको साङ्गितीक प्रस्तुती समेत रहने छ ।
गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, बागमती प्रदेश सदस्यहरु सुस्पा भुजेल (आस्था), गंगा नारायण श्रेष्ठ, रामकुमार पहाडी, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, विभिन्न पालिकाका अध्यक्ष लगायतले मन्तव्य राख्नुभएको थियो ।


