मरिण गाउँपालिमा पाँचौँ मरिण महोत्सव हुने
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका–४ साहानस्थित खेलमैदानमा पाँचौँ मरिण महोत्सव २०८२ संचालन हुने भएको छ ।
कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेलासहितको पाँचौँ मरिण महोत्सव आउँदो पुस ९ गतेदेखि २१ गतेसम्म उक्त ठाउँमा संचलन हुने भएको हो ।
सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजना हुन लागेका उक्त महोत्सवको हाल धमाधम तयारी सुरु भइरहेको छ ।
महोत्सवमा स्थानीय पहिचान, परम्परा, उत्पादन र पर्यटन प्रवद्र्धनलाई मुख्य लक्ष्य राखेर आयोजना गरिएको महोत्सवमा यस वर्ष विविध प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ। महोत्सवमा कृषिजन्य, हस्तकला, स्थानीय मौलिक उत्पादन तथा विभिन्न सेवामूलक क्षेत्रका स्टलहरू राखिनेछन् भने बाँस, काठ, दुग्धजन्य पदार्थ, ढाका तथा अल्लोका कपडाहरू, साथै सिन्धुली जिल्लाका मौलिक उत्पादनहरूको प्रतियोगितात्मक प्रदर्शनी प्रमुख आकर्षण हुने आयोजकले बताएका छन् ।
त्यस्तै पर्यटन प्रवद्र्धनका लागि मधुवनी डाँडाबाट प्याराग्लाइडिङ उडान, मरिणको प्रसिद्ध माछा र तामाका सामग्रीको प्रदर्शन, पञ्चकन्या पोखरी अवलोकन, मिश्रित सांस्कृतिक झाँकीहरू, अन्तर–विद्यालय नृत्य प्रतियोगिता, साथै ख्यातिप्राप्त कलाकारहरूको सांगितिक प्रस्तुति र दोहोरी गीत कार्यक्रम महोत्सवका अन्य आकर्षण हुनेछन् ।
त्यस्तै बाल उद्यान, सर्कस, झूला, पिङ, मौतकुवा जस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि महोत्सव अवधिभर सञ्चालन हुने छन् ।


