• असोज १८,सिन्धुली/मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान ( प्रख्यात ) ले चाडपर्वले मानिसको दुरी घटाएर सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बताउनु भएको छ ।

    नजिकिदै गरेको नेपालीहरुको चाड बडादशै, दिपावली तथा छठको अवसरमा गाउँपालिकाद्धारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष मोक्तानले चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्ने बताउनु भएको हो ।

    चाडपर्वको अवसरमा राखिएको औपचारिक कार्यक्रमले सबैमा एकताबद्ध भएर अगाडि बढ्न सहयोग पुग्ने अध्यक्ष मोक्तानले आसा गर्नुभएको छ । उहाँले चाडपर्वको अवसरमा विभिन्न किसिमका दुर्घटना हुन सक्ने भएकोले पार्टिगत,जातिगत कुरालाई त्यागेर समस्या समाधान गर्न एकजुट बन्न आग्रह समेत गर्नुभएको छ ।

    “ चाडपर्वको समयमा हुने गलत क्रियाकलापमा कुनै राजनितिक प्रतिसोधको रुपमा नलिई ठुला घटना घट्न नदिन सबैमा अनुरोध गर्दछु । यदि समस्या आएछ भने सम्बन्धित निकायको सहयोगमा एकिकृत भएर समस्या समाधानमा गर्नुपर्दछ ।” अध्यक्ष मोक्तानले भन्नुभयो । उहाँले चाडपर्वको समयमा अनावश्यक रुपमा फजुल खर्च नगरी सोहार्दपुर्ण वातावरणमा चाडपर्व मनाउन पनि सम्पुर्णमा अनुरोध गर्नुभएको छ ।

    अविरल बर्षाका कारण गत असोज ११ र १२ गते गएको बाढी र पहिरो बाट जिल्लामा पनि करोडौँको क्षति भएको हुँदा यस्ता विपद् जहाँ पनि हुन सक्ने भएकोले सुरक्षित भएर तडकभडक नगरी चाडपर्व मनाउनु पर्ने अध्यक्ष मोक्तानको भनाई छ । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला माझिले चाडपर्वको समयमा बालबालिका तथा महिलाहरुमा जबरजस्तीकरणी, घरेलु हिँसा तथा लागुपदार्थ ओसारपसार लगायतका घटना हुन सक्ने भएकोले सजग रहन अनुरोध गर्नुभएको थियो ।

    उहाँले चाडपर्वलाई मध्येनजर गर्दै सुरक्षामा कडाई गर्न इलाका प्रहरी कार्यालय कपिलाकोटलाई आग्रह गर्नुभएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दास, विभिन्न राजनितिक दलका व्यक्तिहरुले शुभकामना दिनुभएको थियो ।