• भदौ १७, सिन्धुली/शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका प्रमुख निर्मलकुमार घिमिरेले सिकाइ भनेको पुस्तक पढ्ने मात्र नभएको बताउनुभएको छ । कमलामाई नगरपालिका–६ पानिट्याङ्कीस्थित आधुनिक इङ्लिस बोर्डिङ हाइ स्कुलले आयोजना गरेको ‘बुवाको मुख हेर्ने तथा आमालाई दर खुवाउने ’ कार्यक्रममा प्रमुख घिमिरेले पुस्तकको पाना मात्रै पढेर सिकाइ पूरा नहुने बताउनुभएको हो ।

    “सिकाइले त हामीलाई रिडिङ, राइटिङ र अर्थमेटिक मात्रै सिकाउँछ । एउटा मानिसले सिक्नुपर्ने भनेको उसको जीवनयापन गर्न सम्पूर्णतामा के कुरा चाहिन्छ । त्यो कुरा विद्यार्थीहरुले सिक्नुपर्छ । यस्ता कुराहरु ठाउँ, समय, देश, काल र परिस्थितिअनुसार फरक हुन्छन् । हाम्रो नेपालको परिवेश नै छुट्टै छ,” उहाँले भन्नुभयो ।

    हाम्रा बालबालिकाहरु हाम्रो परिवेशअनुसार हुर्किनुपर्ने र हाम्रै परिवेशमा जीवनयापन गर्ने भएकोले नेपालीको धर्म, संस्कृति, परम्पराहरु विद्यार्थीलाई मनाउन लगाए मात्रै वास्तविक तथा व्यावहारिक ज्ञान आर्जन गर्न सकिने प्रमुख घिमिरेले बताउनुयो । विद्यार्थीमा भाइचारा सम्बन्ध विस्तार, ज्ञान, सीप अभिवृद्धि गर्न यस्ता किसिमका कार्यक्रमले योगदान गर्ने उहाँको भनाइ थियो ।
    उहाँले पछिल्लो समय विद्यार्थीहरुमा विदेशमोह बढेको बताउनुभयो ।

    अभिभावकलाई अनुरोध गर्नुहुँदै प्रमुख घिमिरेले “हामीले हाम्रा बालबालिकालाई हाम्रै परिवेशमा हुर्किन दिनुपर्छ“ भन्नुभयो । “बच्चाहरु मेसिन हैनन्, प्रकृतिका अनुपम उपहार हुन् । सबै बालबालिकाको क्षमता फरक हुन्छ । आफ्नो बालबालिकालाई डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने जबरर्जस्ती नगर्नुहोला,” उहाँले थप्नुभयो ।

    आधुनिक इङ्लिस बोर्डिङ हाइ स्कुलकी सञ्चालक तुलसाकुमारी श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । उक्त स्कुलका प्रधानाध्यापक भानुभक्त गुरुङले आफ्नो विद्यालयमा संस्कारसहितको शिक्षालाई निरन्तरता दिइरहेको बताउनुभयो । नेपालीहरुको संस्कार र स्कृतिको लोप हुने अवस्थामा रहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    विद्यार्थीहरुले आफैंले सिर्जना गरेका बुवाप्रति समर्पित कविता वाचन गरेका थिए । त्यस्तै अभिभावकले आफ्ना बालबालिकाहरुलाई खाजामा जंगफुड तथा फास्टफुड पठाउँदा उत्पन्न हुने समस्याको विषयमा विद्यार्थीहले जनचेतनामूलक लघुनाटक प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विभिन्न जातजातिको संस्कृति झल्काउने नृत्यसमेत प्रस्तुत गरेका थिए ।