• भदौ ५,सिन्धुली/नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले मुलुकलाई जारी अस्थिरताबाट निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीले आज पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

    ‘मुलुक भएमा हरेक परिवर्तनहरुमा एमाले र कांग्रेस एक ठाउँमा उभिएको इतिहास छ । बहुदलीय व्यवस्था ल्याउनदेखि वर्तमान संविधान निर्माणसम्म एमाले–कांग्रेस मिलेर काम गरेको थियो । मुलुकमा हरेकपटक संकटको अवस्था आउँदा दुई पार्टी मिलेर निकास दिँदै आएको छ,’ एमालेको पूर्वविदेश विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले भन्नुभयो, ‘चरम राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले फेरि एमाले र कांग्रेसबीच सहकार्य भएको हो ।’

    उहाँले व्यवस्था विरोधी शक्तिहरुका कारण वर्तमान व्यवस्थामाथि नै प्रश्न उठ्न थालेकोले व्यवस्था जोगाउन दुई पार्टी एक ठाउँमा उभिएको बताउनुभयो । मुलुकलाई सही दिशामा अगाडि बढाउने शक्ति एमाले र कांग्रेसमात्रै भएको उहाँको दाबी छ ।
    ‘हरेक निर्वाचनको मूल्यांकन गर्दा एमाले र कांग्रेसले लगभग उस्तै मत पाइरहेको छ । तेस्रो शक्ति हावी हुँदा केही कम देखिए पनि धेरै घटेको होइन । पहिलो संविधानसभामा माओवादी हावी हुने बेलामा पनि एमाले–कांग्रेसको मत २०–२२ प्रतिशतको हाराहारीमा थियो । अब आगामी निर्वाचनमा पनि एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हो,’ नेता भट्टराईले भन्नुभयो ।

    एमाले र कांग्रेसबीच चुनावी गठबन्धन भने नहुने उहाँले बताउनुभयो । सामान्य अवस्थामा पहिलो र दोस्रो पार्टी कहिल्यै सरकारमा नहुने र रहन नहुने उहाँको भनाइ थियो । तर, संक्रमणको बेला दुई ठूला पार्टी एक ठाउँमा आएर निकास दिनुपर्ने जिम्मेवारीका कारण वर्तमान सरकार बनेको दाबी गर्नुभयो ।

    वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्म निरन्तरता हुने नेता भट्टराईले बताउनुभयो । मुलुकको अर्थतन्त्र सुधार गर्न सरकारले प्रभावकारी रुपमा काम गर्ने उहाँले बताउनुभयो । वर्तमान सरकारको मुख्य लक्ष्य मुलुकमा लगानीको वातावरण निर्माण, रोजगारी अवसर सिर्जना, सुशासन कायम गर्नेसहित मुलुकको समृद्धिको आधार तय गर्ने रहेको नेता भट्टराईले प्रस्ट पार्नुभयो ।