मरिणका अध्यक्ष मोक्तानलाई ‘ग्यालेक्सी एक्सलेन्ट अवार्ड’
भदौ २, सिन्धुली मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ‘ग्यालेक्सी एक्सलेन्ट अवार्ड-२०२४’ बाट सम्मानित हुनुभएको छ ।
निखिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्टले शनिबार काठमाडौंमा एक समारोहबीच अध्यक्ष मोक्तानलाई उक्त अवार्ड प्रदान गरेको हो ।
आर्थिक वर्ष २०७९/८० मा मरिण गाउँपालिकाले वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी देशभरका ७५३ स्थानीय तहमध्ये प्रथम बनेकोले सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । मरिणले देशभरकै स्थानीय तहहरुको तुलनामा उच्च अङ्क ९७.५ प्राप्त गरेको थियो, जसले वित्तीय जोखिम न्यून रहेको देखाउँछ ।
यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९४.७५ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सुशासनको मामिलामा अब्बल सावित गराउनुभएको थियो । देशभरका स्थानीयतहमध्ये वित्तीय सुशासनमा अब्बल काम गरेसँगै मरिण गाउँपालिका अध्यक्ष मोक्तान सो अवार्ड प्राप्त गर्न सफल हुनुभएको हो ।
उहाँलाई कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले अवार्ड प्रदान गर्नुभएको थियो । गाउँपालिकालाई सक्षम बनाउन प्रस्ट लक्ष्य र दृष्टि लिएर निरन्तर अघि बढेकाले अध्यक्ष मोक्तानलाई उक्त सफलता मिलेको हो । वि.सं. २०७४ को निर्वाचनमा वडाध्यक्ष निर्वाचित भई काम गर्नुभएका मोक्तान २०७९ को निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा भारी मतले निर्वाचित हुनुभएको थियो।
‘निरन्तर मेहनत गर्दा सफलता आफैं प्राप्त हुन्छ भन्ने भनाइ आज पुष्टि भएको छ, कामको मूल्याङ्कन गरेर सम्मान पाउँदा खुसी छु,’ उहाँले भन्नुभयो, ‘हामीले सबैसँग सहकार्य गरेर काम गरेका हौं, सबैको साथ र सहयोगले अहिले गाउँपालिकाले यो अवार्ड पाउन सफल भएको छ । सफलताले सबैमाझ चिनाउँदो रहेछ । जनताको सेवामा हामी यसरी नै निरन्तर लागिरहने छौं ।’