• असार ४ , सिन्धुली/कमलामाई नगरपालिकाले ‘एक वडा, एक उत्पादन कार्यक्रम’लाई थप विस्तार गर्दै लगेको छ । आर्थिक वर्ष २०७७/७८ सुरु गरिएको यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि विस्तार गर्दै लगिएको नगरपालिकाले जनाएको छ । यो कार्यक्रमबाट कृषकहरु लाभान्वित बनेका छन् ।
    कमलामाईले कृषि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । आर्थिक वर्ष २०७७/७८ बाट कृषिलाई प्राथमिकतामा राखेर कमलामाईले १४ वटै वडालाई हावापानी र भौगोलिक विशिष्टताको आधारमा पकेट क्षेत्र घोषणा गरेको थियो ।
    यो कार्यक्रमका लागि नगरपालिकाले गत दुई आर्थिक वर्षमा प्रत्येक वडालाई एक/एक लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा बढाएर दुई/दुई लाख रुपैयाँ विनियोजन गरी यस कार्यक्रमलाई विस्तार गरिएको नगरको कृषिशाखाका सरोज फुयालले जानकारी दिनुभयो ।
    कमलामाईको वडा नम्बर १ लाई तरकारी पकेट क्षेत्र घोषणा गरिएको छ । उक्त वडामा सोहीअनुसार तरकारी खेती विस्तार गर्ने काम भइरहेको जानकारी दिइएको छ । यो वर्ष कृषि शाखाले उक्त वडालाई तरकारीको बीउविजन, विषादी, प्लास्टिक टनेल, पाइप, थोपा सिँचाइ, क्रेट, सिकेचरलगायत दुई लाख रुपैयाँको कृषि सामग्री वितरण गरिएको कृषि शाखाका फुयालले बताए ।
    यस वडामा नमोबुद्ध कृषि सहकारी संस्थामार्फत कार्यक्रम लागू गरिएको उनले बताए । कृषि शाखाले प्रत्येक वर्ष फरक–फरक समूहलाई कृषि सामग्री वितरण गर्ने गरेको छ । सो कार्यक्रमबाट ४० जना कृषकहरु लाभान्भित भएका हुन् ।
    त्यस्तै कमलामाईको वडा नम्बर ४, ६, ७, १०, ११ र १२ लाई पनि तरकारी पकेट क्षेत्र घोषणा गरिएको छ । ४ नम्बर वडामा शिवालय महिला उद्यमी कृषि सहकारी सँस्थामार्फत कार्यक्रम लागू भएको छ । सो कार्यक्रमबाट ५० जना महिला कृषक लाभान्भित भएका छन् ।
    वडा नम्बर ६ मा फूलबारी कृषक समुह मार्फत कार्यक्रम लागु भएको छ भने ५० जना कृषक लाभान्भित भएको जनाइएको छ । वडा नम्बर ७ मा सेतिदेबि कृषक समुह मार्फत कार्यक्रम भएको छ भने २५ जना कृषक लाभान्भित भएका छन् ।
    वडा नम्बर १० मा यो बर्ष आवेदन नआएकोले कार्यक्रम संचालन गर्न नसकिएको कृषि शाखाले जनाएको छ । त्यस्तै वडा नम्बर ११मा सो कार्यक्रमबाट ३० जना कृषक लाभान्भित भएका छन् भने १२ नम्बर वडामा कार्यशिल युवा कृषि तथा पशुपंक्षि सहकारी सँस्था मार्फत कार्यक्रम लागू भएकोमा ५० जना कृषकले फाइदा लिएका हुन् ।
    वडा नम्बर २,३ र ५ लाई अदुवा र बेसार पकेट क्षेत्र घोषणा गरिएकोमा यो बर्ष ५ नम्बर मात्रै कार्यक्रम संचालन गरिएको थियो । सो वडालाई मिनिटिलर, सोलार ड्रायर,चाना काट्नी मेसिन, अनुवा र बेसारको बिउ,पाइप,बिषादि बितरण गरिएको थियो ।
    शाखाजोर कृषक समुह मार्फत लागू भएको सो कार्यक्रमबाट ३० जना कृषक लाभान्भित भएका छन् भने अन्य वडामा उन्नत जातको बिउ नपाएको कारण कार्यक्रम संचालन नभएको जनाइएको छ ।
    वडा नम्बर ८ लाई भुँइकटहर पकेट क्षेत्र घोषणा गरिएको छ । कमला भुँइकटहर उत्पादन कृषक सँस्था मार्फत कार्यक्रम गरिएको छ भने कृषकलाई भुँइकटहको बिरुवा,सिँचाई पाइप,मलखाद वितरण गरिएको छ । कार्यक्रमबाट ५० जना कृषक फाइदा लिएका छन् ।
    वडा नम्बर ९ लाई लिचि पकेट क्षेत्र घोषणा गरिएको छ । शसक्त महिला कृषि सहकारी सँस्था मार्फत कार्यक्रम लागू भएको छ भने वडाका कृषकलाई २ हजार लिचिको बिरुवा,स्प्रेयर,बिषादी र सिकेचर वितरण गरिएको छ । सो कार्यक्रमबाट ५० जना महिला कृषक लाभान्भित भएका हुन् ।
    त्यस्तै वडा नम्बर १३ र १४ लाई चैते धान पकेट क्षेत्र घोषणा गरिएको छ । यो बर्ष भने समुह सँग सम्झौता भएपनि बिउ नपाएको कारण संचालन गर्न असफल भएको कृषि शाखाका सरोज फुयालले जानकारी दिनुभयो ।
    कृषि उत्पादनको लागि कृषकले प्राप्त गरेको कृषि सामग्री शाखाको ६५ प्रतिशत र कृषकको ३५ प्रतिशत लागतमा वितरण गरिन्छ । नगरबाट विनियोजित बजेट अभावको कारण वडाका सम्पुर्ण कृषकलाई ‘एक वडा, एक उत्पादन कार्यक्रम’ मा समेट्न सकिएको छैन । लभान्भित कृषकले सो कार्यक्रमबाट क्षेत्र बिस्तार तथा आर्थिक उपलब्धी लिएका छन् ।