सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
 
 						जेठ ५,सिन्धुली/नेपाली कांग्रेसकी केन्द्रिय सदस्य  बिला संँग्रौलाले  सहकारी पीडितको समस्या सम्बोधन गर्न आफ्नो पार्टीले उठाएको माग जायज रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठाएको माग सम्बोधन गर्न सत्तापक्ष तयार नहुँदा संसद् चल्न नसकेको बताउनुभयो ।
‘संसद्मा उठाउनुपर्ने जनताका धेरै समस्या छन्, तर समस्यालाई मुखरित गर्नेभन्दा सत्ताको रस्साकस्सीमा जनप्रतिनिधिहरु लागिरहँदा जनतामा गलत सन्देश गइरहेको छ,’ संँग्रौलाले भन्नुभयो, ‘हामीले अहिले जति पनि सहकारीका समस्या छन्, तिनको छानबिन होस् । मुलुकको गृहमन्त्री स्वयं सहकारी घोटला प्रकरणमा मुछिएको हुँदा नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन हुनुपर्ने माग राखेको हो ।’
उहाँले संसद् जहिले पनि प्रतिपक्षको हुने भए पनि सत्तापक्षले त्यसलाई बेवास्ता गरेको बताउनुभयो । ‘संसद्मा जहिले पनि प्रतिपक्षले आवाज उठाउनुपर्छ । सहकारीको कुरामा मात्रै होइन, अन्य काण्डमा पनि आवाज उठाउँदै आएको छ । तर सरकार यसमा तयार नहुँदा सदन रस्साकस्सीमै रुमलिएको छ,’ उहाँले भन्नुभयो ।
सदन सञ्चालन गर्नेबारे पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज पनि वार्तामार्फत निकास निकाल्ने प्रयास भइरहेको  संँग्रौलाले बताउनुभयो ।
अर्को प्रसंगमा उहाँले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी र परम्परागत भएको बताउनुभयो । ‘आफ्ना कार्यकर्तालाई पोस्ने खालको छ । अहिलेको मुलुकको अर्थतन्त्रको समस्यालाई सम्बोधन गर्न सक्दैन । महँगीले चरम सीमा छोएको छ, कालोबजारी बढेको छ । अर्थतन्त्रलाई सुदृढ बनाएर लैजाने खालको नीति तथा कार्यक्रम छैन,’ उहाँको भनाइ छ ।
युवाहरुको विदेश पलायनलाई रोक्न जसरी सम्बोधन गर्नुपथ्र्यो त्यसमा सरकार चुकेको उहाँको भनाइ छ । त्यस्तै, खाद्यान्न आयात प्रतिस्थापन गर्ने गरी कृषि क्षेत्रलाई अगाडि बढाउने योजना सरकारले ल्याउन नसकेको संँग्रौलाको टिप्पणी छ ।


 सिन्धुली खबर
								सिन्धुली खबर								
 
 														 
 														 
 														 
 														 
 														 
 										 
 										 
 										 
 										 
 										 
 										 
 										