• वैशाख ३०, सिन्धुली/सिन्धुलीमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ प्रभावकारी बनेको छ । सिन्धुली अस्पताल सिन्धुलीबाट चालु आर्थिक बर्षको हाल सम्ममा ६ सय जनाले सेवा लिइसकेका छन् ।
    ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत ३० वर्षमाथिका मानिहरुको नसर्ने रोगको पहिचान, निदान, परामर्श र उपचार निःशुल्क हुने भएकोले जिल्लामा सेवाग्राही बढी आकर्षित भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर अभिशेक थपलियाले बताउनु भएको छ ।
    जिल्लामा विशेषगरी प्रेसर, सुगर, थाइराइड, कोलस्टोर लगायतका नसर्ने रोग मानिसमा भए नभएको परिक्षणको लागि आउने गरेका छन् । प्रायजसो ३० बर्ष भन्दा माथि उमेर कटेपछि विभिन्न रोग लाग्न सक्ने सम्भावना भएकोले रोगको पहिचान गर्न सो उमेर समुहका मानिसलाई परिक्षण गर्ने गरिएको डाक्टर थपलियाको भनाई छ ।
    परिक्षणबाट थोरै मात्रै मानिसमा रोग नदेखाएको र धेरै जसो मानिसमा विभिन्न प्रकारका नसर्ने रोग देखाएको उहाँले बताउनु भयो । “सिन्धुली अस्पतालमै उपचार सम्भव भएका विरामीलाई यहिँ नै उपचारको लागि सल्लाह दिएका छौँ । पत्थरी, मुटु, मृगौलामा समस्या तथा अन्य जटिल प्रकारका रोग पहिचान भएको बिरामीलाई बाहिर गएर उपचारको लागि सल्लाह दिने गरेका छौँ ।” डाक्टर थपलियाले भन्नुभयो ।
    सो कार्यक्रम अन्र्तगत हप्ताको ४ दिन (आइतबार, सोमबार, मंगलबार र बुधबार) एक दिनमा १५, २० जनाको दरले व्यक्तिहरुलाई परिक्षण गर्ने गरिएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ सिन्धुली अस्पतालका फोकल पर्सन राम कौसल यादवले जानकारी दिनुभयो ।
    त्यस मध्ये पनि २ दिन अन्य पालिकाको स्वास्थ्य कार्यालयबाट सिफारिस भएका व्यक्तिहरुको परिक्षण गरिन्छ भने २ दिन कमलामाई नगरपालिका भित्रका व्यक्तिहरुको परिक्षण गरिने फोकल पर्सन यादवले बताउनु भयो ।
    बार्षिक अस्पताललाई १ जना विरामी लाई परीक्षण गराउँदा २ हजार २ सयको दरले ८ सय जना विरामी परिक्षणको लागि बजेट आउने गरेको छ । जिल्लामा अघिल्लो बर्षबाट सुभारम्भ भएको सो कार्यक्रम अन्तर्गत अघिल्लो बर्षनै जिल्लाबाट ८ जनाले नै सेवा लिएका थिए । यो बर्षको अन्तिम सम्ममा सेवा लिनेहरु ८ सय जना नै पुग्ने यादवले आंकलन गर्नुभएको छ ।
    बागमती प्रदेशका जिल्लाहरुमा सो कार्यक्रम सन्चालन हुने गरेको छ । विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन यो कार्यक्रम सुरु गरीएको हो ।