• माघ २३, सिन्धुली/लायन्स क्लव अफ सिन्धुलीले कमलामाई नगरपालिका १ कोप्चे स्थित हायू गाउँका विद्यार्थीहरुलाई कपडा वितरण तथा स्वास्थ्य जाँच गरेका छन् । जनज्योति प्राथमिक विद्यालयमा अध्ययनरत लोपोन्मुुख हायू र तामाङ जातिका ६० जना विद्यार्थीहरुलाई विद्यालय पोषाक (ट्रयाक-सुट) वितरण गरेका हुन् ।

    आर्थिक स्थिती कमजोर भएका विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको लायन्स क्लव अफले जनाएको छ । लायन्स क्लव अफका अध्यक्ष छत्र बहादुर स्याङ्तानको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरेश गोलेको प्रमुख आतिथ्यतामा कपडा वितरण कार्यक्रम गरिएको हो ।

    त्यस्तै शुभजिवन अस्पताल सिन्धुली र लायन्स क्लव अफ सिन्धुलीको संयुक्त आयोजनामा सोहि विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । स्वास्थ्य चेकजाँच गराउँदा विद्यार्थीहरुमा पोषण खानेकुराको कमि,व्यक्तिगत सरसफाईमा कमि, उचाई अनुसार तौलको कमि, केहि विद्यार्थीहरुको छाला र दातमा समस्या देखिएको शुभजिवन अस्पतालका डाक्टर प्रज्वल भुर्तेलले जानकारी दिनुभयो ।

    विद्यार्थीहरुमा सन्तुलीत आहारको कमिले अधिकांस विद्यार्थीहरुमा उचाई अनुसार तौल नभएकाले सन्तुलित आहार खुवाउन अभिभावक सचेत रहन आवश्यक रहेको डाक्टर भुर्तेलले बताउनु भयो । उहाँले छाला र दाँतमा समस्या भएका विरामीहरुलाई तत्काल उपचार गराउन र व्यक्तिगत सरसफाईमा ध्यान दिन समेत सुझाव दिनुभएको छ । लायन्स क्लव अफ सिन्धुलीले स्थापना देखिनै विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको छ ।