सिन्धुलीमा १ लाख भन्दा बढी मानिस स्वास्थ्य बिमित
मंसिर ६, सिन्धुली/सिन्धुलीमा १ लाख भन्दा बढी मानिस नेपाल सरकारद्धारा सन्चालित स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका छन् ।
हाल सम्म जिल्लाका ५३ हजार १ सय ३० जना पुरुष र ५५ हजार ६ सय १० जना महिला गरेर १ लाख ८ हजार ७ सय ५५ जना मानिसहरु बीमित रहेको स्वास्थ्य बीमा बोर्ड सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ ।
सिन्धुलीमा नौँ वटा पालिका मध्ये सबैभन्दा बढी कमलामाई नगरपालिका भित्रमा मानिसले स्वास्थ्य बीमाका सेवा लिइरहेको स्वास्थ्य बीमा बोर्ड सिन्धुलीका प्रमुख रमेश घिमिरेले बताउनु भयो । कमलामाई भित्रका ३२ हजार २ सय १० जना रहेका छन् ।
त्यस्तै दुधौँली नगरपालिकाका १८ हजार ४० जना, मरिण गाउँपालिकाका ११ हजार ८ सय ८२ जना, तिनपाटन गाउँपालिकाका १५ हजार ६८ जना, गोलन्जोर गाउँपालिकाका ९ हजार १ सय ५९ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
सुनकोशी गाउँपालिकाका ७ हजार ५ सय ४७ जना, फिक्कल गाउँपालिकाका ७ हजार ३ सय ८५ जना, हरिहरपुरगढी गाउँपालिकाका ३ हजार ९ सय ७९ जना र घ्याङलेख गाउँपालिकाका सबैभन्दा कम ३ हजार ४ सय ८५ जनाले स्वास्थ्य बीमा मार्फत सेवा लिइरहेको प्रमुख घिमिरेले बताउनु भयो ।
नेपाल सरकारले २०७२ सालबाट केहि जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ वटै जिल्लामा लागु भएपनि सिन्धुलीका केहि पालिकामा भने बीमित संख्या सन्तोषजनक छैन । भौगोलिग विकटता भएका घ्याङलेख,फिक्कल जस्ता पालिकाहरुमा विभिन्न भ्रमका कारण स्वास्थ्य बीमा नै गर्न नमान्ने प्रमुख घिमिरेको भनाई छ ।
बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको रु तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ। पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७०० बुझाउनु पर्दछ। पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य रु २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।
सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी÷एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको स्वास्थ्य बीमा बोर्ड सिन्धुलीका प्रमुख रमेश घिमिरेले बताउनु भयो ।
उहाँको अनुसार हाल सिन्धुली जिल्लामा अति गरिब २२ हजार ३ सय ३७ जना, महिला स्वास्थ्य स्वयमसेविका परिवार ५ सय ६२ जना, ज्येष्ठ नागरिक (७० बर्ष पुरा भएका) ११ हजार ५ सय १९ जना एचआइभि/एड्स संक्रमित परिवार सहित २ सय १५ जना कुष्ठरोगी २ जना, पुर्ण अपाङ्गता भएका (रातो कार्ड प्राप्त) ५ सय ४८ जना र एमडिआर–टिबी ७ जना लाई नेपाल सरकारले निशूल्क स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका छन् ।