• कार्तिक १५, सिन्धुली/विद्यार्थीहरुले पढाइसंगै आम्दानी हुने काम पनि गर्छन् भन्दा अधिकांसलाई विश्वास नलाग्न सक्छ । तर सिन्धुलीको कमलामाई नगरपालिका ५ मा रहेको जनज्योति मावि फोस्रेटारका विद्यार्थीहरु यतिवेला पढाइसंगै कमाउने काम पनि गरिरहेका छन् ।

    उनिहरु विद्यालयकै जमिनमा गरिएको सयपत्री फूल खेतिबाट राम्रो आम्दानी लिइरहेका छन् । तिहारको समयमा २ सय केजी फूलको माग भएपनि पुर्याउन सकिँदैन कि भन्ने चिन्ता उनिहरुलाई छ । जिल्लामै सयपत्री फूलको थुप्रै माग आएको विद्यार्थीहरुले बताएका छन् ।

    जनज्योति माविका ८,९,१० कक्षा र कृषि जेटिए तर्फका विद्यार्थीहरुले “पढ्दै कमाउँदै” कार्यक्रम अन्तर्गत २०७२ सालबाट विद्यालयले भाडामा लिएको जमिनमा तरकारी खेति गर्दै आएका थिए । गत बर्ष सपयत्री फूल खेतीको परिक्षणका लागि रोपिएको थोरै फूलबाट राम्रो आम्दानी भएपछि विद्यार्थीहरु सयपत्री फूलखेती तर्फ आकर्षित भएका हुन् ।

    थाइल्याण्डबाट ओरिण्टलदिपमाला सिप र कर्मा जातको बेमौसमि समयपत्री फूलको बेर्ना उमारेर १ कठ्ठा जमिनमा सयपत्री फूलको खेति गरिएको थियो । त्यसबाट विद्यार्थीहरुले राम्रो आम्दानी हुने देखिएपछि उनिहरु थप जमिनमा फूल खेतीगर्ने तयारीमा छन् ।

    विद्यार्थीहरु अध्ययन गरेर बाँकि रहेको समय र प्राक्टिकलको समयमा आफैँ फूल गोडमेल गर्ने, फूल टिप्ने, माला उन्ने, औषधि हाल्ने लगायतको काम गर्छन् । प्राक्टिकल गर्नुपर्ने नै भएकाले आम्दानी लिने गरी फूल खेति गरिएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद अधिकारीले बताउनुभयो । विद्यार्थीहरुले काम गरेर उत्पादन गरेका तरकारी, फूल, अन्नबाली विक्रि गरेर आएको आम्दानीबाट २ सय जना विद्यार्थीलाई दशैँमा प्रति विद्यार्थी ४ हजार ५ सय नगद दिइएको प्रधानाध्यापक अधिकारीको भनाई छ ।

    प्राक्टिकलसंगै आम्दानी पनि हुने देखिएपछि विद्यार्थीहरु पनि आकर्षित भएका छन् । सबै काम विद्यार्थीले नै गर्ने र विद्यालय बजारीकरण संगै अभिभावकीय जिम्मेवारीमा मात्र रहने अधिकारीले बताउनुभयो । विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने भएकाले उत्पादनको लागि जिल्लाका विभिन्न गैरसरकारी संघसँस्थाहरुले लगानी गर्ने गर्दछन् । उत्पादनकोे ५० प्रतिशत विद्यार्थीलाई र ५० प्रतिशत लगानी सँस्थालाई फिर्ता गर्ने गर्दछन् ।

    सिन्धुलीमा दशैँ, तिहार, छठ लगायतका चाडबाड तथा कार्यक्रमहरुको लागि फूलको माग आउने गरेको छ । फूलखेतीको लागि सिँचाईमा भने समस्या हुने गरेको विद्यार्थीहरुको गुनासो छ । सिँचाइको समस्या समाधानका लागि विद्यालयले छलफल गरेर समाधानको उपाय निकाल्ने प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।