फूलपाती भित्राउनको लागि रक्तमाला मन्दिर सरसफाई

असोज २६, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँ स्थित रक्तमाला मन्दिर परिसर सरसफाई गरिएको छ । ६८ “औँ प्रहरी दिवस”को अवसरमा आज सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालको उपस्थितीमा मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
नेपालीहरुको महान पर्व बडादशैँको फुलपातीको दिन प्रत्येक बर्ष रक्तमाला मन्दिरमा फूलपाती भित्राइने गरिन्छ । सोहि दिनलाई मध्यनजर गरेर प्रहरी दिवसको अवसरमा कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकाल, कमलामाई नगरपालिकाका कर्मचारी, नगर प्रहरी र मिलनचोक गाइज लगायतको उपस्थितीमा सरसफाई गरिएको प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
यसैबिच यो बर्ष बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाहादुर सिं लामाको प्रमुख आतिथ्यतामा सिन्धुलीको रक्तामाला मन्दिरमा फूलपाती भित्राइने कार्यक्रमको तयारी भएको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकालले जानकारी दिनुभयो ।
फूलपाती भित्राउनको लागि तयारी सुरु भएको अध्यक्ष ढकालले बताउनु भयो । रक्तमालामा मन्दिर संरक्षण समितिको आयोजनामा हुने कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले फूलपाती परिक्रमा गरी सलामी अर्पण गर्न गर्दछन् ।
उक्त दिन रक्तमाला मन्दिरमा भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।