तीनपाटनको उत्कृष्ट कार्यक्रम : ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’, नि:शुल्क उच्चशिक्षा
भदौ ३, सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका छोरी बुहारीहरुलाई उच्च शिक्षा नि:शुल्क पढाउने निर्णय गरेको छ । सिन्धुलीमै पहिलो पटक बुहारीहरुको उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न गाउँपालिकाको ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम अन्तर्गत नि:शुल्क पढाउने निर्णय गरिएको हो ।
तीनपाटन गाउँपालिकाको नयाँ आर्थिक बर्ष २०८०/८१ को गाउँसभा बाट दलित छोरी बुहारीलाई शिक्षामा जोड दिने उदेश्यले ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ भन्ने कार्यक्रम सन्चालन गरिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले बताउनु भएको छ । कार्यक्रमको लागि गाउँपालिकाले ४ लाख बजेट बिनियोज गरेकाे अध्यक्ष मगरले जानकारी दिनुभयो ।
तीनपाटन गउँपालिका क्षेत्र भित्रका क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरी रहेका र गर्न चाहने बुहारीहरुलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क र मासीक शुल्क नलिने निर्णय गरीएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले बताउनुभयाे। उहाँले भन्नुभयो “सासू र बुहारीको सम्बन्ध सुमधुर बनाउने हाम्रो उद्देश्य हो । यसबाट आर्थिक स्थिती कमजोर भएर उच्च शिक्षा अध्ययनको लागि बिचमै छोड्नुपर्ने बाध्यताको अन्त्य हुने आसा छ ।”
गाउँपालिकाको ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम बाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनै पनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने जनाएको छ । साथै महिला अभिभावक परिवारमा नभएमा एकासगोल परिवार भित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजान सक्नेछन् ।
अभिभावक समेत नभएमा सम्बन्धित वडाको महिला वडा सदस्यले कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातक र स्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानु पर्ने छ । उक्त कार्यक्रमबाट लाभ लिनको लागि सम्बन्धीत ढाचाँमा आवेदन भर्नुपर्नेछ ।
त्यस्तै क्याम्पसले प्रकृया पूरा गरी भर्ना हुन आउने दलित समुदायभित्रका छोरी/बुहारीलाई भर्ना गर्ने व्यवस्था मिलाउने र अभिलेख प्रयोजनका लागि भर्ना हुँदाको फोटो अनिवार्य खिच्न गाउँपालिकाले आग्रह गरेको छ । सम्बन्धीत ढाचाँमा आवेदन दिएका दलित समुदायभित्रका छोरी/बुहारीको भर्ना शुल्क र मासीक शुल्क गाउँपालिकाको शिक्षा शाखा मार्फत निकासा गरिने गाउँपालिकाले जनाएको छ ।