संगैको सिन्धुलीगढीले मुहार फेर्यो, पौवागढी जस्ताको त्यस्तै छ
पौवागढी घुम्न आउने पर्यटकलाई सहजिकरण नभएकाले पनि यहाँ उतिसारो पर्यटक जादैनन् । बिपि राजमार्ग संग जोडिएकाले बिशेषगरी यहाँ पार्किङ गर्ने स्थान छैन । स्थानीय सरकारले यसको संरक्षण र प्रवद्र्धनमा चासो राख्ने होभने सवै समस्याको समाधान संभव देखिन्छ । आडामा थकाई मारेर पौवागढी गढी हुँदै मुख्य गढी जाने बाटो अहिले सन्चालनमा छैन ।
बैशाख २८, सिन्धुली/कुनैबेला राज्यको सुरक्षाको लागि स्थापना गरिएको ऐतिहासिक पौवागढी यतिवेला आफ्नै सुरक्षा र जिर्णोद्धारको लागि राज्यको आशामा छ । सिन्धुलीगढीको पुनःसंरचना तथा युद्ध संग्रहालयको स्थापना भएपनि सिन्धुलीगढीको अर्को मुख्य स्थान पौवागढी भने ओझेलमा परेको हो ।
स्थानीय तहका जनप्रतिनिधिहरुले सपथ खाएको वर्षाैं वितिसक्दा पनि ऐतिहासिक पौवागढीको पुनःसंचरनामा खासै ध्यान दिन सकेका छैनन् । पौवागढी साँच्चै नै ओझेलमा परेको स्थानीयहको गुनासो छ । तर गुनासो सुन्नेले गुनासोको महत्व बुझ्न नसक्दा इतिहास जोडिएका स्थानहरु ओझेलमा छन् ।
सिन्धुलीगढी जत्तिकै इतिहास बोकेको भएर पनि पौवागढी ओझेलमा पर्नुलाई स्थानीयहरुले दुर्भाग्यको संज्ञा दिएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलिका उदय अधिकारी पौवागढीको काखमा खेल्दै हुर्किएका व्यक्ति हुनुहुन्छ । ‘पौवागढी मलाई साथी जस्तै लाग्छ । आमाको भनाइ अनुसार नव्वे सालको भुँइचालो जाँदा म जन्मिएको हुँ । त्यो बेलामा गोर्खाली सेनाले पौवागढीबाट अंग्रेजलाइ हराएको भनेर हजुरबुवाले भन्नुहुन्थ्यो ।’
अधिकारीका अनुसार सिन्धुली बजारबाट नुन लिएर आउँदा जाँदा भारी बिसाउने ठाउँ थियो पौवागढी । पौवागढीबाट सिन्धुलीगढी हुँदै भारी बोकेर जङ्गलको बाटो ओहोर दोहोर गर्नुपथ्र्यो । अधिकारी भन्नुहुन्छ ‘म बालक बाट वयस्क हुँदै बुढो भएँ तर पौवागढी जस्ताको त्यस्तै छ । स्थानीय सरकार आयो । संगैको सिन्धुलीगढीले मुहार फेर्यो । तर पौवागढी जस्ताको त्यस्तै छ ।”
ऐतिहासिक सिन्धुलीगढी भ्रमणको लागि पुग्ने हजारौँ पर्यटकलाई छेउमै रहेको पौवागढीको बारेमा जानकारी समेत छैन । रौतहट घर भई सिन्धुलीगढी परिवार संगै घुम्न आएका बासुराम श्रेष्ठलाई पौवागढी भनेकै थाहा छैन । श्रेष्ठ जस्ता सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरु छन् जसलाई पौवागढीबारे सामान्य जानकारी पनि छैन । यसको मुख्य कारण भनेको सिन्धुलीगढीको प्रचार प्रसारमा जस्तो पौवागढीलाई महत्व नदिनु नै हो । स्थानीय तहले आवस्यक सहजिकरण गर्न नसकेका कारण पौवागढी ओझेलमा परेको स्थानीयहरुको गुनासो छ ।
कुनैबेला भरियाहरु भारी बोकेर पौवागढी भएर आवात जावत गर्ने गर्थे । सो ठाउँमा भारि अनुसारको भन्सार अशुल गर्ने भएकाले पौवागढीलाई पुच्छ्रे ‘कर’ भनेर पनि चिनिन्थ्यो । पौवागढी त्यो समयमा मुख्य आम्दानि हुने ठाउँ भएकाले मल्लहरुले कब्जा गरेका थिए । त्यस्तै किन्लक राजाले पनि पौवागढी आण्डा लाई कब्जा गरेको इतिहास सागर कुमार ढकालको पुस्तक ‘सिन्धुलीगढी’ मा उल्लेख गरिएको छ ।
पौवागढी घुम्न आउने पर्यटकलाई सहजिकरण नभएकाले पनि यहाँ उतिसारो पर्यटक जादैनन् । बिपि राजमार्ग संग जोडिएकाले बिशेषगरी यहाँ पार्किङ गर्ने स्थान छैन । स्थानीय सरकारले यसको संरक्षण र प्रवद्र्धनमा चासो राख्ने होभने सवै समस्याको समाधान संभव देखिन्छ । आडामा थकाई मारेर पौवागढी गढी हुँदै मुख्य गढी जाने बाटो अहिले सन्चालनमा छैन । सिन्धुलीगढी जानका लागि राजमार्ग हुँदै अर्काे सजिलो बाटो निर्माण गरिएका कारण पनि पौवागढी ओझेलमा पररेको देखिन्छ । उचित व्यवस्थापन, संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको पौवागढीतर्फ स्थानीय सरकारको नजर पर्न ढिला हुनुहुँदैन ।