• अहिले नेपालका राजनीतिक दलहरू बिच आपसमा सत्ताको हानथाप मात्रै चलेको देखिन्छ । सत्तालाई केन्द्रबिन्दु बनाएर अगि बढ्दा राष्ट्रिय राजनीतिमा खुलेआम बाह्य हस्तक्षेपले प्रश्रय पाएको छ । शान्ति र स्थिरताको जनताको चाहना माथि तुषारापात मात्रै भएको छैन मुलुकको राष्ट्रियता समेत अत्यन्तै कमजोर बनेको छ ।

    प्रारम्भिकः
    सिन्धुली दुम्जाको धरिन डाँडाको पुख्र्यौली थातथलो छाडी पिताजी कृष्णप्रसाद कोइराला तराइको चन्द्रगन्ज बसाइँ सरे । चन्द्रशमशेरसँगको सुमधुर मित्रताका कारण उनको शासनशैलीप्रति प्रतीकात्मक असन्तुष्टि स्वरूप भरियाहरूको झुत्रा लुगाको पार्सल बनाई चन्द्रशमसेरलाई पठाए । यस घटनाबाट राणा प्रधानमन्त्री चन्द्रशमशेर क्षुब्ध भए फलस्वरूप कोइराला प्रवास जान बाध्य भए । प्रवासमा रहँदा भारतको वनारसमा कान्छी पत्नी दिव्याको कोखबाट वि. सं. १९७१ मा विपी कोइरालाको जन्म भयो ।
    योग्य पिताका योग्य पुत्र विपी पिताजीको राजनीतिक प्रेरणा तथा तत्कालीन भारतको राजनीतिक परिवेशका कारण थाहै नपाई राजनीतिमा कृयाशील भए । उनी जति बाँचे आफ्ना लागि बाँचेनन् भन्दा पनि हुन्छ । उनी मुलुक र जनताका लागि बाँच्दाबाँच्दै आफ्नो लागि बाँच्ने समय नै पाएनन् । जीवनको कुनै एक पल मात्र पनि उनले संघर्षबाट अवकाश पाएनन् । नेपाली काङ्ग्रेसका संस्थापक समेत रहेका विपीकै अगुवाइमा भएको क्रान्तिबाट २००७ सालमा नेपालबाट १०४ वर्षको जहाँनिया राणा शासनको समूल अन्त्य भएर प्रजातान्त्रिक नवयुगको सुरुवात भयो । नेपाली जनतामा नयाँ आशाका किरणहरू चम्किँदै थियोे त्यसमा एकाएक तुषारापात हुन पुग्यो । १० वर्षको शिशु प्रजातन्त्रमाथि राजा महेन्द्रको गिद्दे दृष्टि पर्न गयो । २०१७ साल पुस १ गतेको शाही कदमबाट शिशु प्रजातन्त्रको निर्मम हत्या गरियो । अन्य प्रजान्त्रवादी नेताहरू सहित विपी कोइराला बन्दी बनाइए । त्यहीँ उनको संघर्षको नयाँ अध्याय सुरु भयो ।
    आठ वर्षको कठोर कारावासपछि २०२५ साल कार्तिक १४ गते उनी जेलबाट मुक्त हुन सफल भए । त्यसपछि उनी आफ्ना सहकर्मी सहित भारत पलायन भए । त्यहीँबाट पन्चायती व्यवस्था विरुद्धको संघर्ष जारी राखे । त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते गणेशमान सिंह लगायतका नेताहरू सहित उनी राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्किए । सोही दिनको सम्झनामा नेपाली काँङ्ग्रेसले प्रत्येक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ । सोही क्रममा नेपाली काङ्ग्रेसले २०७७ पुस १६ गते देशभर ४४ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै छ ।
    के हो विपीको मेलमिलाप ?
    विसं २०३३ पुस १६ गते पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका तत्कालीन अध्यक्ष विपी कोइराला आफू माथि तत्कालीन पन्चायती सरकारले लगाएको ७ वटा राजद्रोहका मुद्दाहरूको बेवास्ता गर्दै राष्ट्रियताको सवालमा मुलुकका सम्पूर्ण शक्तिहरू एकजुट हुनुपर्छ भन्दै ८ वर्ष लामो भारत निर्वासनको अन्त्य गर्दै स्वदेश फर्के । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले स्वतन्त्र राष्ट्र सिक्किमलाई भारतमा विलय गराइसकेर अन्य छिमेकी मुलुकहरू प्रति पनि गिद्दे दृष्टि राख्न थालेको सुइँको पाउने बित्तिकै नेपालको राष्ट्रियता खतरामा परेको महसुस गरि त्यसबाट मुलुकलाई त्राण दिने उद्देश्यले उनी स्वदेश फर्केका थिए । उनको सो मेलमिलाप नीति राष्ट्रियता, एकता, प्रजातन्त्र र मुलुकको सबल सार्वभौमसत्ताका लागि थियो । राजा, राजनीतिक दलहरू र आम नेपाली नागरिक एकताबद्ध नहुँदासम्म राष्ट्रियता बलियो हुन नसक्ने उनको ठम्याइ थियोे । उनको भनाइ थियोे “राष्ट्रिय मेलमिलाप भनेको २०१७ सालमा जुन राजा र प्रजा बिचमा, राजा र जनताका बिचमा एउटा ठूलो पर्खाल खडा भएको थियो त्यो पर्खाल तोडेर राजालाई जनताको समक्ष ल्याउने त्यो प्रयास नै मेलमिलापको प्रयास हो । राजा र प्रजाका बिचमा मेलमिलाप गराउनु नै मेलमिलापको प्रयास हो ।”
    तत्कालीन भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् भने जयप्रकाश नारायण, राममनोहर लोहिया, चन्द्रशेखर लगायत समाजवादी नेताहरू प्रतिपक्षमा थिए । यही बेला गान्धीले आपतकाल घोषणा गरी विपक्षी नेताहरूलाई गिरफ्तार गर्न थालिन् । विपी जयप्रकाशकै समूहमा रहन्थे । गान्धीको कदम र नियत दुबैबाट सशङ्कित भएका विपीले भारतबाटै नेपालको राष्ट्रियता खतरामा रहेको महसुस गरे । आफ्नो भन्दा बढी मुलुकको चिन्ता गर्ने विपी राष्ट्र नै नरहे आफू रहनुको कुनै अर्थ नहुने ठानी राष्ट्रियतालाई सङ्कटबाट बचाउन आफूमाथि लागेका राजकाजका ७ ओटा मुद्दाको समेत परवाह नगरी मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किए । स्मरण रहोस् ती ७ मुद्दा यस्ता थिए जसमध्ये एउटामा मात्रै दोषी ठहरिए पनि उनलाई फाँसीको सजाय हुन सक्थ्यो । यस्तो अवस्थामा पनि मेलमिलापको नीति लिई स्वदेश फर्किने जोखिमपूर्ण निर्णय लिए । उनी भन्थे “म भारतीय भूमिमा लामो समय बाँच्नुभन्दा बरु थोरै समय भए पनि आफ्नै देशमा बाँच्न चाहन्छु ।” यो उनको अटल राष्ट्रभक्तिको अनुपम उदाहरण थियोे । नभन्दै निरंकुश पन्चायती सरकारले गणेशमान विपीसहितका नेतालाई विमानस्थलबाटै पक्राउ ग¥यो । २०३४ साल फागुनमा ७ मध्ये ५ मुख्य मुद्दामा उनलाई निर्दोष सावित गरियो । फागुन ११ गते उनी थुनामुक्त भए । राजा वीरेन्द्रले उनलाई अमेरिका गएर क्यान्सरको उपचार गर्न उल्टै २ लाख रुपैयाँ उपलब्ध गराए । यसबाट विपीको मेलमिलाप नीति सफल भएको पुष्टि समेत हुन्छ ।
    विपीको समाजवादी सिद्धान्त र मेलमिलापको नीति अनुसार नेपालमा निरंकुश राजतन्त्र होइन संवैधानिक राजतन्त्र उपयुक्त हुन्छ भन्ने थियोे । राजा वीरेन्द्रबाट गराइएको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था पराजित भए पनि प्रजातान्त्रिक अभ्यास भएकाले यसको परिणाम विपीले मानेका थिए । यो पनि राजासँग मिलेर बस्ने मेलमिलापको नीतिको उदाहरण हो ।
    २०१५ सालको आम निर्वाचनमा विपीले नेतृत्व गरेको नेपाली काङ्ग्रेसले १०९ मध्ये ७४ सिट जित्यो । त्यसपछि एउटै दलभित्र २ सिंहका रूपमा रहेका विपी र सुवर्ण शमशेर बिच राजा महेन्द्रले फाटो ल्याउन चाहे । चुनाव सम्पन्न भएको लामो समयपछि महेन्द्रले सुवर्ण शमशेरलाई बोलाएर संसदीय दलको नेता र प्रधानमन्त्री बन्न निर्देशन दिए । सुवर्णले आफू राणाको छोरा भएकोले फेरि राणाकै छोरा प्रधानमन्त्री हुँदा जनताले राणा शासन कायमै रहेको अनुभूत गर्छन् भन्दै विपीलाई प्रधानमन्त्री बनाउन सुझाव दिएका थिए ।
    त्यसपछि राजाले विपीलाई बोलाएर प्रधानमन्त्री बन्न निर्देशन दिँदा उनले दरबारको मर्म बुझेका, दरबार र जनताका बिछ सेतुको काम गर्न सक्ने देश विदेशमा आवश्यक कुटनैतिक सम्बन्ध कायम गर्न सक्ने व्यक्ति प्रधानमन्त्री हुनुपर्ने र त्यो क्षमता सुवर्णमा भएकाले उनलाई प्रधानमन्त्री बनाउन सुझाव दिएका थिए । जसबाट महेन्द्र निकै प्रभावित भएका थिए । अन्ततः राजा महेन्द्रले विपीलाई नै प्रधानमन्त्री बनाए । यसबाट पनि विपी कति उदार, त्यागी, राष्ट्रवादी एवम् आफ्ना सहकर्मी प्रति कति सुमधुर सम्बन्ध राख्न चाहन्थे भन्ने प्रष्ट हुन्छ ।
    सान्दर्भिकताः
    विपी भन्थे “राष्ट्रियता कमजोर भयो भने मुलुकको सार्वभौमिकताको अस्तित्व समाप्त हुन्छ । जनताको हक अधिकारलाई सुनिश्चित गर्न र लोकतन्त्रलाई संस्थागत गर्न राष्ट्रियता बलियो हुनुपर्छ । बाह्य शक्तिसँग जुध्न आम नेपालीहरूको एकताको आवश्यकता हुन्छ ।”
    मुलुक राष्ट्रिय सङ्कटमा परेका बेला राज्यका सबै संयन्त्र र आम नागरिकहरूको एकता नै राष्ट्रिय सङ्कट समाधान गर्ने ठूलो अस्त्र हुने गर्छ । दूरदर्शी राजनेता महामानव विपी कोइरालाले राष्ट्र सङ्कटमा परेका बेला विपरीत ध्रुवका राजनीतिक विचार भएका कम्युनिस्ट र निरंकुश पन्चायती व्यवस्थाका हिमायती राजासँग राष्ट्रिय चुनौतीको सङ्कटको सामना गर्न कार्यगत सहमति तथा सहकार्य गरी राष्ट्रिय मेलमिलाप नीति ल्याएका थिए । नेपाली जनताको अथक प्रयास र पसिनाको ६ दशक लामो सङ्घर्षको परिणामस्वरूप जनप्रतिनिधिद्वारा निर्माण गरिएको मुलुकको मूल कानुन संविधानको कार्यान्वयनमा बाधा उत्पन्न भएको महसुस भएको छ । आम नेपाली नागरिकहरूले आफ्नो संविधान प्रदत्त हक अधिकार उपभोग गर्न नपाउँदा राष्ट्रियता कमजोर हुँदै जान्छ भने लोकतन्त्रको संस्थागत विकास पनि हुन सक्दैन ।
    अहिले नेपालका राजनीतिक दलहरू बिच आपसमा सत्ताको हानथाप मात्रै चलेको देखिन्छ । सत्तालाई केन्द्रबिन्दु बनाएर अगि बढ्दा राष्ट्रिय राजनीतिमा खुलेआम बाह्य हस्तक्षेपले प्रश्रय पाएको छ । शान्ति र स्थिरताको जनताको चाहना माथि तुषारापात मात्रै भएको छैन मुलुकको राष्ट्रियता समेत अत्यन्तै कमजोर बनेको छ । दलहरू र तिनका नेताहरू बिच आफ्नो व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्न विपीको नीतिको ठीक विपरीत उत्तर र दक्षिणलाई पालैपालो हारगुहार गर्ने एक किसिमको प्रतिस्पर्धा नै चलेको देखिन्छ । व्यक्तिगत, दलगत तथा गुटगत स्वार्थ पूरा गर्ने तथा एकले अर्कालाई तह लगाउने होडबाजीमा राष्ट्रियतालाई नै दाउमा लगाउने प्रवृत्तिले मुलुकमा बाह्य शक्तिलाई परेड खेल्न अनुकूल वातावरण निर्माणमा सघाउ पु¥याएका छन् । यसलाई अवसरका रूपमा उपयोग गरि पतन भएको राजसंस्थालाई उपयोग गरी आफ्नो स्वार्थ पूरा गर्न चाहनेहरूका कारण लोकतन्त्र नै २०१७ सालमा प्रजातन्त्रको हत्या भएजस्तै हत्या हुने अवस्थामा पुग्ने त होइन भन्ने आशङ्का समेत पैदा भएको छ । तसर्थ लोकतन्त्र तथा राष्ट्रियता दुबै कमजोर भएको वर्तमान परिस्थितिमा आजभन्दा ४४ वर्ष पहिले प्रतिपादित विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति उत्तिकै सान्दर्भिक रहेको प्रतीत हुन्छ ।
    अस्तु !
    (सन्दर्भः ४४ औँ राष्ट्रिय मेलमिलाप दिवस, १६ पौष २०७७)