नेपाली राजनीति र साहित्यका शिखर व्यक्तित्व विपी कोइराला

प्रारम्भिक
सिन्धुलीको दुम्जा भन्ने गाउँमा नन्दीकेश्वर पाध्याका चार भाइ छोराहरूमध्ये कान्छा थिए कृष्णप्रसाद कोइराला जो नेपालका प्रसिद्ध समाजसुधारक तथा राजनीतिज्ञ थिए । पछि बसाइँसराइका क्रममा तराइको चन्द्रगन्ज भन्ने ठाउँमा बसोबास गर्दै आएका थिए । त्यहाँ उनले भन्सारको ठेक्का लिएका थिए । तत्कालीन प्रधानमन्त्री चन्द्रसमसेरसँग उनको सुमधुर सम्बन्ध थियोे । उनीहरू बिच निरन्तर पत्राचार समेत हुन्थ्यो ।एकपटक उनले राणा शासनको प्रतीकात्मक विरोध स्वरूप पहाडबाट चन्द्रगन्ज आउने भरियाहरूले लगाएका झुत्रा, टालेका र मैला कपडाको पार्सल बनाई पठाए । यसबाट चन्द्रसमसेर उनीसँगको सम्बन्ध अत्यन्तै बिग्रियो । चन्द्रसमसेर रिसाएनन् मात्र उनको ठेक्का समेत खोसेर सर्वस्वहरण गरी प्रवास जान बाध्य पारे । नेपाल छोडी उनी सपरिवार भारतको वनारस पुगे । त्यहीँ उनकी कान्छी पत्नी दिव्या कोइरालाको कोखबाट वि. सं. १९७१ मा विपी कोइरालाको जन्म भयो ।
पिताजीले भगालपुरको टेढी भन्ने ठाउँमा आफ्ना मित्रको सहयोग समेतमा केही रकम जम्मा गरी आदर्श विद्यालय नामको स्कुल खोलेका थिए । विपीले त्यहीँ प्रारम्भिक शिक्षा हासिल गरे । ८ कक्षादेखि उनी वनारसमै भर्ना भइ पढे । त्यहाँ पढ्दा आर्थिक अभावका कारण उनीसँग स्कुल जाँदा लगाउने एकजोर कुर्ता र धोती बाहेक अरु कपडा थिएन । जुत्ताको अभावमा उनी खाली खुट्टा नै वनारसको भतभती पोल्ने तातो भुइँमा पैताला पिल्स्याउँदै हिँड्न बाध्य थिए । यस्तै कष्टका बिच पनि उनले दोस्रो श्रेणीमा म्याट्रिक पास गरे । १९९३ मा कलकत्ता विश्वविद्यालयबाट उनले कानुनमा स्नातक सकेर केही समय दार्जिलिङमा वकालत समेत गरे ।
राजनीतिक व्यक्तित्व
विपी कोइराला नेपालको राजनीतिक इतिहासका सर्ववाधिक चर्चित र सफल राजनेता हुन् । त्यो उचाइको राजनेता हालसम्म अर्को जन्मिन सकेको छैन । यिनको राजनैतिक जीवनको सुरुवात तत्कालीन समयमा भारतमा महात्मा गान्धीको नेतृत्वमा चलिरहेको भारतीय स्वतंत्रता सङ्ग्रामबाट भयो । यिनको बाल्यकालीन समयमा भारतमा अंग्रेज उपनिवेशबाट मुक्तिका लागि आन्दोलन चलिरहेको थियोे । सोही आन्दोलनमा सहभागी भएको अभियोगमा सन् १९३० मा अङ्ग्रेज शासकले यिनलाई पक्राउ गरी १५ वर्षका विपीलाई केही महिना जेल हाले । सन् १९४२ भारत छोडो आन्दोलनका दौरानमा फेरि यिनलाई पक्राउ गरी बाँकीपुर जेलमा डा. राजेन्द्रप्रसादसँग थुनियो । पछि हजारीबाग जेलमा सारियो जहाँ जयप्रकाश नारायण र राममनोहर लोहियालाई राखिएको थियो । यी दुबै भारतीय नेताहरु जेलबाट भागेर नेपाल प्रवेश गरेको अवस्थामा आश्रय दिएको आरोपमा पिताजी कृष्णप्रसाद कोइरालालाई काठमाडौमा थुनिएको थियो । २००१ साल माघ ३ गते निमोनियाका कारण कृष्णप्रसादको जेलमै निधन भयो । त्यसको भोलिपल्ट हजारीवाग जेलबाट छुट्दा विपीले यो खबर सुने । आफ्ना श्रद्धेय पिताको अन्तिम अवस्थामा मुख हेर्न त पाएनन् नै चितामा दागबत्ती समेत दिन नपाएको अवस्थाले साम्राज्यवादी अंग्रेज र निरंकुश जहाँनिया राणा शाहीको साझेदारीमा उत्पन्न भएको घटना वीपीको जिबनमा मर्मान्त बनेर बिझ्यो ।
२००७ सालको क्रान्तिको नेतृत्व
भारतमा अंग्रेज साम्राज्य समाप्त भै जवाहरलाल नेहरुको नेतृत्वमा अन्तरिम सरकार बनेपछि पटनाबाट प्रकाशित हुने सर्छ लाइट पत्रिकामा २००३ साल असोजमा विपीले “नेपाल आह्वान” शीर्षक लेखमार्फत् नेपाली जनताको सुनौलो भविष्यका खातिर राणा शासन अन्त्य गर्नका लागि राजनीतिक दल खोल्नुपर्ने आह्वान गरे । सोही वर्षको कार्तिकमा भारतका विभिन्न स्थानमा अध्ययनरत युवाहरूले अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक दल खोले । विपीले पनि जेलबाट भागेर भारत पुगेका गणेशमान सिंहसँग छलफल गरी २००३ माघमा कलकत्तामा सम्मेलन गरी पार्टीको नाम नेपाली राष्ट्रिय काँग्रेस राख्ने तय गर्यो । प्रजा परिषदको आन्दोलनमा सहभागी भएवापत जेल जीवन बिताइरहेका टङ्कप्रसाद आचार्यलाई पार्टीको सभापति बनाइयो भने विपी कार्यवाहक सभापति बने । सोही वर्ष चैत्रमा विराटनगर जुट मिलमा भएको मजदुर हड्तालका क्रममा विपी पक्राउ परे । २००४ भदौमा जेलमुक्त भएपछि माघमा भएको दोस्रो महाधिवेशनबाट उनलाई पार्टीको सभापतिमा सर्वसम्मत चयन गरी आन्दोलनको कमान्डर बनाइयो । आन्दोलनका दौरान २००५ सालमा काठमाडौ पुगेका बखत राणा सरकारले पक्राउ गरी नेल लगाएर ६ महिनासम्म यातनागृहमा कठोर यातना दियो । यसका विरुद्ध उनले २००६ सालको वैशाखमा २९ दिनसम्म लगातार भोक हडताल गरे । बाध्य भएर राणा प्रधानमन्त्री मोहनशमसेरले उनलाई मुक्त गरे । यस क्रममा मोहन शमसेरले उनलाई चेतावनी दिंदै भनेका थिए –
“तिमीले ठानेका हौला राज गरौंला, तिमीजस्ता भारेभुरे ठेट्नाहरुले कराउँदैमा कसैले राज्य दिँदैन । राज्य गर्न र पुर्पुरोमा लेख्नुपर्छ ।”

आन्दोलनका दौरान २००५ सालमा काठमाडौ पुगेका बखत राणा सरकारले पक्राउ गरी नेल लगाएर ६ महिनासम्म यातनागृहमा कठोर यातना दियो । यसका विरुद्ध उनले २००६ सालको वैशाखमा २९ दिनसम्म लगातार भोक हडताल गरे । बाध्य भएर राणा प्रधानमन्त्री मोहनशमसेरले उनलाई मुक्त गरे । यस क्रममा मोहन शमसेरले उनलाई चेतावनी दिंदै भनेका थिए – “तिमीले ठानेका हौला राज गरौंला, तिमीजस्ता भारेभुरे ठेट्नाहरुले कराउँदैमा कसैले राज्य दिँदैन । राज्य गर्न र पुर्पुरोमा लेख्नुपर्छ ।”

विपीको नेपाली राष्ट्रिय काँग्रेस र महावीर र सुवर्ण शमसेरको नेपाल प्रजातन्त्र काँग्रेस विच एकीकरण भै २००६ सालमा कलकत्तामा सम्मेलन गरी नेपाली काँग्रेस पार्टी बनाइयो । यसै सम्मेलनले पार्टीको विधान समेत संशोधन गरी सशस्त्र संघर्षको मार्ग प्रशस्त ग¥यो । वर्माको समाजवादी सरकारबाट समेत हतियार सहयोग जुटाउन विपी सफल भए । विपीको नेतृत्वमा राणा विरोधी आन्दोलन भुसको आगो झैँ फैलिँदै गयो । राजा त्रिभुवन समेत प्रजातन्त्रको पक्षमा देखिए । फलस्वरूप २००७ साल कार्तिक २१ मा राजा त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिन पुगे । कार्तिक २६ गते दिल्ली प्रस्थान गरे । सोही राति नेपाली काँग्रेसले भारतीय सीमा क्षेत्रबाट राणा फौजमाथि धावा बोल्यो । त्यसको २ महिना पनि नबित्दै देशको ५०५ भन्दा बढी भूभाग कब्जा गरेपछि घुँडा टेकेर मोहनशमसेरले बार्ताका लागि आफ्ना प्रतिनिधि दिल्ली पठाए । दिल्लीमा प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्थतामा राणा, राजा र काँग्रेसका बिच त्रिपक्षीय सम्झौता भयो । जस अनुरुप नेपाल फर्केर मोहनशमसेरकै नेतृत्वमा राणा र काँग्रेसको संयुक्त सरकार बन्यो । काँग्रेसको तर्फबाट गृहमन्त्रीसहित विपीले सरकारको नेतृत्व गरे ।
२००७ देखि ०१७ सालसम्म विपी नेपाली राजनीतिको केन्द्र भागमा रहे । संयुक्त सरकारमा पनि विपी र मोहन समसेरबिच टकराव जारी रह्यो । विवाद बढ्दै गएपछि २००८ कार्तिकमा विपीले गृहमन्त्रीबाट राजिनामा दिए । सरकारमा रहेका दुइ घटकमध्ये एक घटकको नेतृत्व गरिरहेका व्यक्तिले राजिनामा दिएपछि बाध्य भएर मोहन शमशेरले पनि पद छाड्नुप¥यो । यस बिचमा त्रिभुवन र उनीपछि राजा भएका महेन्द्रले पनि विपीलाई सत्ता र शक्तिबाट सकेसम्म टाढै राख्ने नीति अख्तियार गरे । उनीहरूले विभिन्न साना पार्टी र गुटका मान्छेलाई प्रधानमन्त्री बनाउने र फेर्ने, मौका परे प्रत्यक्ष शासन चलाउने शृङ्खला चलाए । विपीको नेतृत्वमा काँग्रेस पार्टीले गरेको सत्याग्रहका सामु नतमस्तक भएर राजा महेन्द्रले २०१५ साल फागुन ७ गतेदेखि निर्वाचन सुरु हुने घोषणा गरे । यसै क्रममा फागुन १ गते नेपाल अधिराज्यको संविधान पनि घोषणा गरे । यस संविधानमा रहेको प्रावधानलाई लिएर विपीले भनेका थिए–
“यो संविधान एउटा यस्तो साधन छ जो प्रजातन्त्रको विकासमा सहायक सिद्ध हुन सक्छ साथै प्रजातन्त्रका विरुद्ध पनि सफलतापूर्वक प्रयोग हुन सक्छ ।”
नभन्दै महेन्द्रले २०१७ साल पुस १ गते प्रजातन्त्रका विरुद्ध यसको सफल प्रयोग गरे ।
सुवर्ण शमसेरको अध्यक्षतामा गठित सरकारले चुनावी प्रक्रिया अगाडि बढायो । नेपाली काँग्रेसले विपीसहित १०९ मध्ये ७४ स्थानमा बिजय हासिल गरेर २ तिहाइ बहुमत ल्यायो । २०१६ साल जेठ १ गते राजाले विपीलाई प्रधानमन्त्रीमा नियुक्त गरे । यसरी विपी नेपालका बाइसौँ तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए । उनको नेतृत्वमा जननिर्वाचित सरकारले नेपालको सुनौलो भविष्यका लागि जनमुखी कार्यक्रमहरू अगाडि बढाउँदै थियोे । उनले नै पहिलोपटक महिलालाई मन्त्री बनाए भने प्रधानमन्त्री र मन्त्रीको तलबमा १ हजार र ५ सयले कटौती गरे । विपीको लोकप्रियता चुलिँदै गयो । यो कुरा राजालाई सह्य भएन । सरकार गठन भएको ठिक १९ महिनापछि अचानक २०१७ पुस १ गते थापाथलीमा तरुण दलको कार्यक्रममा सहभागी हुँदै गरेको अवस्था प्रधानमन्त्री विपीसहित उपस्थित सबै मन्त्रीहरूलाई समेत पक्राउ गरे । कलिलो प्रजातन्त्रको घाँटी निमोठी दलहरूमाथि प्रतिबन्ध लागाइयो । विपीको पÞmेरि जेलजीवन सुरु भयो । आठ वर्षपछि २०२५ सालमा विपीसहित गणेशमान सिंहलाई रिहा गरियो । जेलबाट बाहिरिएपछी पुनः उनले आफ्नो प्रजातान्त्रिक संघर्षलाई तिब्रता दिए । सशस्त्र संघर्षलाई अगाडि बढाउन आर्थिक स्रोत जुटाउन बाध्य भएर २०३० सालमा विपीले विमान अपहरण को गिरिजाप्रसादको योजनालाई मन्जुरी दिए । सो विमान अपहरणबाट ३० लाख भारू लुट्न सफल त भए तर भारतको इन्दिरा गान्धी सरकारले विमान अपहरणमा संलग्नलाई धमाधम पक्रन थाल्यो । विपीको दिल्ली स्थित निवासमा छापा मा¥यो । विहारको आन्दोलन र संसदीय निर्वाचनको विषयलाई लिएर इन्दिरा गान्धीले विपक्षी दलका सबै नेताहरूलाई जेल हालिन् । यस्तो विषम परिस्थितिमा एकातिर भारतमा टिक्न मुस्किल हुन थाल्यो भने अर्काेतिर नेपालको राष्ट्रियता कमजोर भएको महसुस विपीले गरे । विपीविरुद्ध नेपालमा राजद्रोहका सात ओटा मुद्दा थिए । तीमध्ये एउटा मात्रमा दोषी ठहर भए उनलाई फाँसीको सजाय हुन सक्थ्यो । यस्तो अवस्थामा पनि मेलमिलापको नीति लिएर स्वदेश फर्किने जोखिमपूर्ण निर्णय लिए । उनको भनाइ थियोे, “म भारतीय भूमिमा ढिलो गरेर मर्नुभन्दा मेरो देश नेपाल पुगेर तत्काल मर्न चाहन्छु ।”
२०३३ साल असोज १६ गते गणेशमान सिंहसहित विपी नेपाल फर्के । तर उनीहरूलाई पन्चायती सरकारले विमानस्थलबाटै पक्राउ गरेर सिधै सुन्दरीजल बन्दी गृह लग्यो । २०३४ साल फागुनमा ७ मध्ये ५ मुख्य मुद्दामा उनी निर्दोष ठहर भए । फागुन ११ गते उनलाई थुनामुक्त गरियो । २०३५ चैत्रमा सुरु भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदै गएपछि त्यसलाई मत्थर पार्ने उद्देश्यले राजा वीरेन्द्रले २०३६ जेठ १० मा जनमत सङ्ग्रहको घोषणा गरे । जस अनुरूप २०३७ वैशाख २० मा भएको जनमत सङ्ग्रहबाट बहुदलीय व्यवस्थाका विरुद्ध सुधारिएको पन्चायती व्यवस्थालाई विजयी बनाइयो । प्रशस्त मात्रामा धाँधली भएको भन्दै सो परिणामलाई स्वीकार नगर्न चौतर्फी दबाब आएको भए पनि विपीले खेलमा सहभागी भएपछि परिणामलाई स्वीकार गर्ने अभिव्यक्ति दिए ।
विपी कोइराला पहिलेदेखि नै घाँटीको क्यान्सर र फोक्सोको समस्याबाट ग्रसित थिए । त्यसबाट उनी अझ थलिँदै गए । उनले २०३८ साल पुस १६ मा टुँडिखेलमा आयोजित मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गरे जुन उनको जीवनकै अन्तिम सम्बोधन बन्न पुग्यो । २०३९ साउन ६ गते आफूले देखेको समाजवादको सपनालाई अधुरै छाडी उनी यस संसारबाट सदाका लागि बिदा भए ।
राजनीतिक दर्शन
विपीको अन्तिम लक्ष्य भनेकै प्रजातान्त्रिक समाजवाद थियोे । उनी नेपालमा प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् । नेपालमा यही राजनीतिक दर्शनको स्थापनालाई उनले आफ्नो एक मात्र अर्जुन दृष्टि बनाएका थिए । उनी विश्व समाजवादी आन्दोलनका अग्रज हस्तीहरूको सूचीमा आफूलाई सगर्व उभ्याउन सफल राजनेता हुन् । नेपालका सन्दर्भमा उनले समाजवादलाई अत्यन्तै सरल रूपमा प्रस्तुत गरेका थिए । उनको भनाइ थियोे, “हाम्रो देशमा १०० मा नब्बे जति गरिब छन् । कुटो कोदालो गरेर गाउँमा बस्छन्, जसलाई खान लाउन पुग्या छैन । नेपाल भनेकै तिनै १०० मा नब्बे मानिस हुन् । जब म नेपालको कल्पना गर्छु, त्यसबेला तिनै गरिब दाजुभाइहरुको तस्विर मेरो अगाडि आउँछ । मैला लुगा लगाएका, खान नपाएको र रोगी अनुहारको तस्बिर । अनि मलाई लाग्दछ–यी रोगी, खान नपाएको अनुहार पो हाम्रो देश हो । त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओंठमा हासो आओस्, रोगीले औषधिमूलो पाओस्, केटाकेटीले पढ्न पाउन् भनेर नै हामी राजनीतिमा लागेका हौं । मन्त्री हौंला, ठूला ठूला कुर्सीमा जाऔंँला भनेर राजनीतिमा लागेका होइनौंँ ।”
नेपाल भनेको गाउंँ हो । हामीले विकासका कुरा गर्दा विकासले ग्रामीण परिवारलाइ के गर्यो भन्ने प्रश्नको जवाफ दिन सक्नुपर्छ । यदि ठूला सडक बन्छ भने मोटर गाडी जो सित छ उसले उपयोग गर्छ । प्लेन गाउँको गरिबले चढ्न सक्दैन । त्यसकारण मैले प्रधानमन्त्री हुंँदा योजना आयोगको मिटिंगमा भनेको थिएंँ, तपाईंहरु भित्तामा राजाको साथै नेपालको एउटा गरिब गाउँले किसानको आफ्नो झोपडी अगाडी उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् अनि सोध्नोस्–यस योजनाले त्यस झोपडीमा बस्ने किसानलाइ के लाभ दिनसक्छ ?
जसले किसानको भलाइ गर्छ, हलो जोत्ने मानिसको भलाई गर्छ त्यही समाजवादी हो । हाम्रो समाजवाद भनेको गाउँका जनताको भलाइ हुने नीति तथा कार्यक्रम हो । जसले त्यस्तो नीति तथा कार्यक्रम ल्याउँछ त्यही नै समाजवादी हो ।”
साहित्यिक व्यक्तित्व
राजनीतिका अत्यन्तै सफल राजनेता विपी कोइराला प्रखर साहित्यकार पनि हुन् । उनी स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य रचना गरेर नेपाली साहित्यमा नयाँ चिन्तन,नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर अमर बनेका छन् । उनी राजनीतिमा जति सफल छन् साहित्यमा पनि उत्तिकै सफल छन् ।
उनको साहित्य यात्रा पनि राजनीतिसँगसँगै भारतीय भूमी बाटै सुरु भएको हो । वि सं १९८७ मा हिन्दीका प्रसिद्ध साहित्यकार प्रेमचन्दद्वारा सम्पादित साहित्यिक पत्रिका “हंस” मा प्रकाशित ‘उहाँ’ शीर्षकको हिन्दी भाषाको लघुकथा उनको जेठो साहित्यिक सन्तान हो । त्यसपछि हिन्दीमा थुप्रै कथा र कविता समेत रचना गरेका छन् । नेपालीमा भने उनको वि सं. १९९२ मा शारदा पत्रिकामा प्रकाशित ’चन्द्रवदन’ कथा उनको पहिलो रचना हो । उनले प्रसिद्ध पाश्चात्य मनोबैज्ञानिक साहित्यकार सिग्मण्ड फ्रायडद्वारा प्रतिपादित मनोविश्लेष्णात्मक शैलीको प्रयोग गर्दै नेपाली कथा र उपन्यासको रचना गरेका छन् ।
उनी भन्थे–
“म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।”
“राजनीतिको सानो मानिसलाई पनि पोशाक चाहिन्छ, साहित्यमा सम्राट पनि निर्वस्त्र हुन्छ ।”
लामो कैदी जीवनको पट्यारलाग्दा क्षणहरूलाई यिनले साहित्य सिर्जनामा भरपुर सदुपयोग गरे । जबजब विपी जेल पर्थे तबतब साहित्यानुरागीहरू नयाँ रचना पाउने कुराले पुलकित हुन्थे भनिन्छ । राजनीति र साहित्यलाई जीवनरूपी सिक्काका दुई पाटा बनाए । नेपाली साहित्यको विशेषतः आख्यान क्षेत्र यिनको योगदानले हराभरा छ । कथा र उपन्यास यिनका साहित्य साधनाका प्रमुख क्षेत्र हुन् ।
कथातर्फ यिनका १६ कथाहरूको संगालो ‘दोषी चस्मा’ २००६ कथासङ्ग्रह र ४ कथाहरूको संगालो “श्वेत भैरवी” २०३९ कथासङ्ग्रह प्रकाशित छन् । त्यस्तै उपन्यासतर्फ तीन घुम्ती, नरेन्द्रदाइ सुम्निमा, मोदिआइन, हिटलर र यहुदी र बाबू,आमा र छोरा गरि ६ ओटा उपन्यासहरू प्रकाशित भएका छन् । हिटलर र यहुदी यिनले प्रधानमन्त्री हुनुभन्दा पहिले र बाँकी ५ वटा उपन्यास २०१७ पुस १ पछि सुन्दरीजल बन्दीगृहमा बन्दी भएपछि लेखेका हुन् । कथा र उपन्यासका अतिरिक्त यिनले विभिन्न संस्मरणात्मक ग्रन्थहरूको पनि रचना गरेका छन् । त्यस्ता रचनाहरूमा यिनका जेल जर्नल, आत्मवृत्तान्त, आफ्नो कथा, फेरि सुन्दरीजल रहेका छन् । यसरी विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यका पनि मूर्धन्य हस्तीका रूपमा अमर रहेका छन् ।
निष्कर्ष
नेपाली साहित्य र राजनीति दुई पृथक क्षेत्रमा संलग्न रहेर पनि दुबै क्षेत्रमा उत्तिकै न्याय गर्न सक्ने सफल व्यक्तित्व विरलै पाइन्छन् । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला ती विरलै व्यक्तित्वहरूमध्येमा पर्न सफल भएका छन् । नेपाली राजनीति होस् वा साहित्य क्षेत्र दुबै उनको चर्चा विना पूर्ण हुन सक्दैनन् । विपी कोइरालाले जन्म नलिएका भए नेपालबाट राणा राज्य समाप्त हुन निकै कठिन हुन सक्थ्यो । हुनत उनले पनि कम्ती पापड बेलेका त होइनन् । उनी अत्यन्त दूरदर्शी र संवेदनशील व्यक्ति हुन् । देश र जनताप्रति समर्पित, निस्वार्थी, निडर र संघर्षशील उनी जस्ता राजनेता मुलुकले फेरि पाउन मुस्किल छ । विपीको आदर्श एवम् सिद्धान्तलाई पालना गर्न सकेमा मात्र नेपाल र नेपालीको भलाइ हुने कुरामा कुनै सन्देह छैन ।
विपीको सङ्घर्ष र त्यागको विस्तृत चर्चा गर्ने हो भने अझै पनि ठूला ठूला ठेलीहरू तयार हुन सक्छन् । यो सानो लेखमा उनको समग्र व्यक्तित्वको मूल्याङ्कनको एक छेउ पनि पूरा हुन सक्दैन । उनको १०७ औं जन्मजयन्तीका अवसरमा नेपाली राजनीति र साहित्यका अतुलनीय साधकको सम्झना र श्रद्धा यति लेख्ने धृष्टता गरियो ।
अस्तु !
(सन्दर्भः२४ भाद्र २०७७, विपी जयन्ती )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *