कविता – ‘बा’

बा ! अझै लामो बात मार्नु छ तिमीसंग
धित कहिल्यै नमर्नेगरी
मुजा परेका हातका औँलाहरु समातेर
दूर–दूर सम्मको यात्रा गर्नुछ तिमीसंग
कहिल्यै नथाक्ने गरी
बा,
फेरी एउटा सिंगो चोला तिमी लिएर आउ
म तिम्रो पदचाप पछ्याइरहेको हुनेछु ।

तिम्रो आशिर्वाद शिरमा राखेर
आमाको ममतालाई तक्दिर बनाएर
म घस्रिँदैथें हाँसो भेट्ने बहानामा
उज्यालो खोज्ने रहरमा
जसै तिमले परान छोड्यौ नी बा–
ठिक त्यहिबेला देखि
मेरो जीजीविषा खोट्टिँदै गयो
तिम्रो ओठमा मुस्कानका धर्सा सम्म देख्न पाइन
दुखिया तिम्रो आँसु संग
मेरो उहि आकारको, उहि स्वादको आँसु घोल्नु छ
बा,
फेरी एउटा सिंगो चोला तिमी लिएर आउ
म तिम्रो पदचाप पछ्याइरहेको हुनेछु ।

मेरो ओठमा मुस्कान ल्याउन
आफ्ना ओठहरु हरप्रहर कलेटी पार्यौ
मेरा सपना बिपना बनाउन
आफ्ना हरेक सपनाहरुलाई तिलान्जली दियौ
मेरा आँखा त रसाउन दिएनौ
तर मध्यरातामा म ब्युँझदा
तिम्रो शिरानी हरेक रात किन भिज्थ्यो बा ?
हातका ठेला लुकाउन
हात झट्कालेर रिसाउँथ्यौ म संग
तर हरेक रात दिउरेमा तेल तताएर
सेकिरहने हात कसका थिए बा ?
ओठको मुस्कान, आँखाका सपना, मनको रहर
सबै–सबै मलाई सुम्पियौ
केवल दिलको उज्यालो मात्र राख्यौ आफूसंग
बा,
फेरी एउटा सिंगो चोला तिमी लिएर आउ
म तिम्रो पदचाप पछ्याइरहेको हुनेछु ।

ध्रुवचन्द्र खड्का
सिन्धुली

dhruba2042@gmail.com


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *