• विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट लाग्ने रोग कोभिड–१९ का कारण नेपाली जनजीवन अस्तव्यस्त मात्र हैन भयभित नै बनिरहेको छ । त्यसो त नेपाल सरकारले ४ महिनापछि बन्दाबन्दी खुलेको घोषणा गरे पनि जनजीवन त्यति सहज बन्नसकेको छैन । नेपालमा कोरानाका कारण जीवन गुमाउनेहरुको संख्या ५० को नजिक पुग्दा संक्रमितको संख्या १९ हजार भन्दा बढि छ ।
    बन्दाबन्दी खुलेपछिको अवस्थालाई हेर्ने हो भने स्थिति थप जटिल बन्दै गइरहेको यथार्थ हो । यीनै जटिलताहरुलाई मध्यनजर गर्दै नेपाल सरकारले भदौ १५ गतेपछि मात्र शैक्षिक संस्थाहरुमा पठनपाठन नियमित सन्चालन गर्नेगरि तयारी गरिरहेको छ । सोहि अनुरुप विद्यालयहरुलाई अहिलेकै अवस्थामा पढाइ सुचारु नगर्न परिपत्र समेत गरिसकेको छ । भदौ १ गतेबाट भर्ना सुरु गर्ने र १५ गतेबाट पढाइ सुचारु गर्ने भनेर मन्त्रालयले भनिरहँदा यहाँका केहि स्थानिय तहका केहि वडाले विद्यालयमा पठनपाठन नियमित रुपमा सन्चालन गराइरहेका छन् ।
    त्यसो त सम्वन्धित स्थानिय तहले पनि प्रेश विज्ञप्ती सहित पत्र पठाएर तत्काल विद्यालयमा अन्य गतिविधि सन्चालन गरेपनि पठनपाठन भने सन्चालन नगर्न आग्रह नगरेको हैन । तर वडा कार्यालयले भने स्थानिय अभिभावक र विद्यालय व्यवस्थापन समितिको आग्रहमा भन्दै विद्यालयको पठनपाठन कार्य निरन्तर सन्चालन गर्न लगाइरहेको छ । कोरोनाका कारण समुदाय थप त्रसित बन्दै गइरहेका बेला ‘विद्यालय बन्द गर्दा कोरोना नआउने र खोल्दा कोरोना आउने होइन’ भन्ने तर्क दिँदै वडा अध्यक्ष स्वयं नै पठनपाठन कार्य निरन्तर गराउन खटिरहेका छन् ।
    स्थानिय सरकारले आफ्ना जनतालाई कोरोना कहरबारे सचेत गराउँदै जोखिमबाट बच्न थप प्रोत्साहित गर्नुपर्ने अवस्थामा विद्यालय जस्तो संवेदनशील क्षेत्रमा शिक्षक तथा विद्यार्थीहरुलाई बोलाएर दैनिक ७÷८ घण्टी पढाउन लगाउनु किमार्थ राम्रो होइन । यसबाट संघिय तथा स्थानिय सरकारको निर्देशनलाई एउटा वडाले नराम्रोसंग धज्जी उडाइरहेको छ र जनताको स्वास्थ्य माथि चरम लापर्वाही गरिरहेकोछ भन्ने स्पष्टै बुझ्न सकिन्छ । अहिलेको अवस्थामा सम्वन्धित वडाले आफू मातहतका विद्यालयमा सन्चालन गरिएको पठनपाठन कार्य बन्द गरेर स्थानिय तथा संघिय सरकारको अनुरोधलाई स्विकार गर्दै कार्यान्वयन गर्नुमा नै सवैको भलाई देखिन्छ । किनकी कोरोना कहरमा पढाइ भन्दा मानिसलाई आफ्नो सास प्यारो छ ।