कविता – मन
ध्रुवचन्द्र खड्का
सिन्धुली
मनका प्रत्येक इच्छा पूरा भैदिए
हरेक मनका हिमाल सगरमाथा भैदिन्थे होलान्
मन, तिनै इच्छा पूरा गर्न
प्रत्येक हिमाल माथि टेकेर सगरमाथा छुन खोज्छ ।
सलल बग्ने स्वतन्त्र पानी
कहिँ अर्थमा, कहिँ बिना अर्थमा बग्ने आँसुको मोल
एकै देख्ने यो मनले
आँसु र पानी बेग्लै हो भन्ने जान्दिए
पानी: पानी नै हुन्थ्यो होला
आँसु: आँसु नै हुन्थ्यो होला
हो त्यहि आँसु र पानी बीचको खाडल नै हो मन ।
कतै उत्साह, कतै नैरास्यता
कतै विश्वासको दियो, कतै घातको पिँजडा
चाहेको बेला समानता पाउन नसकिने मन
खोजेको बेला पृथकता भेट्टाउन नसकिने मन
कहिले गुमाउँदा दुख्छ, कहिले पाउँदा दुख्छ
हो त्यहि पाउने र गुमाउने बिचको
असमान सन्धी हो मन ।
कहिले आउँछ मायाको बस्तीमा
पिरतीको फूल लिएर
आउँछ कहिले मित्रताको धुन बनेर
के के भन्छ, के के कहन्छ मन
सागरको लहर मेरै हो भन्छ
बिहानी प्रहर मेरै हो भन्छ
जुन उदाएको रात उसको हो रे
तारा झरेको साँझ उसको हो रे
आउँछ कहिले बजाएर सरगम
र बनाउँछ खुसी कसैको धड्कन
माया, ममता, तर्कना र भावना
अपेक्षा, उपेक्षा सवै उसैको रे
कस्तो उपहार हो यो जीवनका लागि
चोर्छ कसैले, चोराउँछ कसैले
तोड्न पनि मिल्ने फोड्न पनि मिल्ने
काँडा बनेर यसमा कोर्छ कसैले
भुल्छ आत्मियता अनि विर्सन्छ संसार
खै कस्तो पागलपन
हो त्यहि पागलपन पनि हो मन ।
मनले बढाएको आत्मियता सवैको जीवन हुँदैन
कसैसंग नजिकिएको पल पनि हो जीवन
जीवन भित्र मन छ, मन भित्र आत्मियता
त्यहि मनले आत्मियता बिर्सँदा
पोल्दो रैछ, असाध्यै पोल्दोरैछ ।
मनः पिरतीको न्यायाधिश, मित्रताको वकिल हो
र पनि कहिलेकाहिँ किन हुन्छ अन्जान ?
हो यहि अन्जानपन पनि हो मन ।
भुलेर नसक्ने मन, बुझेर नसक्ने मन
चोटहरुको खात या पिडाको महल
उमंगको वर्षा या खुसीको बहार
चाँदनीको रंग झैँ खुलेर नसक्ने मन
खोटै भएपनि, चोटै सहेपनि
कसैगरि नि भुलेर नसक्ने मन ।