• पूर्वीय पात्रो अनुसार हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमाका रूपमा मनाउने गरिन्छ । पौराणिक कालका प्रसिद्ध महर्षि वेद व्यासको जन्म भएको दिनसम्मको सम्झनमा उनकै श्रद्धा र सम्मानमा मनाइने गुरु पूर्णिमाको विशेष महत्व छ । द्वापर युगको अन्त्यतिर कौरव पाण्डव भन्दा अघि उत्तरायण नक्षत्र पूर्णिमाका दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियोे । आफ्ना छोरा सुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद वेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ । महर्षि वेद व्यासले वेद वेदान्त अठार पुराण, उपनिषद्हरू, विष्णु सहस्र नाम तथा महाभारत आदि जस्ता पौराणिक ग्रन्थहरूको रचना गरेर पूर्वीय वेदान्त दर्शन तथा हिन्दु धर्म संस्कृतिलाई ठूलो गुन लगाएका छन् । त्यसैले उनको जन्मदिनको दिन गुरुलाई सम्मान गर्नुका साथै व्यासलाई सम्झने गरिन्छ ।
    ‘गुरु’ शब्दको अर्थ र प्राचीन सन्दर्भ
    वृहत् नेपाली शब्दकोशमा ‘गुरु’ शब्दको अर्थ कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक, अध्यापक, संगीत कला सिकाउने व्यक्ति, उस्ताद, गायत्री, वेद मन्त्र आदि दीक्षा दिने व्यक्ति, आचार्य, बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति, मान्यजन आदि भनेर लगाइएको छ । यसर्थ शिक्षा दिने, सङ्गीत सिकाउने लगायत विभिन्न ज्ञान, सिप सिकाउने व्यक्तिलाई गुरु भनेको पाइन्छ ।
    गुरु शब्दको शाब्दिक अर्थ यसरी पनि लगाइएको छ ः
    ‘गु’ को अर्थ अन्धकार, ‘रु’ त्यसको विनाशक
    अन्धकारको विरोधी भै गुरु भो नाम खासक ।।

    अर्थात् ‘गु’ को अर्थ ‘अँध्यारो’ हुन्छ भने ‘रु’ को अर्थ उज्यालो वा प्रकाश हुन्छ । त्यसैले अज्ञानको अँध्यारो हटाई ज्ञानको उज्यालो प्रकाश छर्ने व्यक्तिलाई गुरु भनेको पाइन्छ ।
    गुरुलाई हाम्रो पूर्वीय शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु, संहारकर्ता महेश्वरले पनि समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता रहेको पाइन्छ । त्यसैले भनिएको छ ः–

    गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर ।
    गुरु साक्षात् पत ब्रह्म तस्मै श्री गुरवे नम ः ।।
    अर्थात्,
    गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ ।

    गुरुको स्थान र दायित्व
    महाभारतको एक प्रसङ्गमा धर्मराज युधिष्ठिर आफ्ना भाइहरुसँग भन्दछन् “गुरुको स्थान संसारमा सबैभन्दा उच्च छ । गुरुको आज्ञा पालन गर्नु नै सबैभन्दा ठुलो धर्म हो ।”
    गुरुलाई शास्त्रहरूले बाबुको दर्जा दिएको पाइन्छ । गुरुलाई पन्चपिता मध्ये एक मानिएको छ । पन्चपिता अन्तर्गत बाबु, गुरु, ससुरो, किसान, राजालाई मानिन्छ । गुरु दीक्षाद्वारा दीक्षित शिष्यलाई द्विज मानिन्छ । द्विज भनेको दुइचोटी जन्मिएको हो । आफ्ना बाबुले पहिलो पटक जन्माउँछन् भने गुरुले शिक्षा दीक्षा आदिबाट दोस्रो जीवनको सुरुवात गरिदिने मान्याताका आधारमा गुरुलाई दोस्रो बाबुको दर्जा दिएको देखिन्छ । माता पितालाई जस्तै गुरुलाई पनि आचार्य देवो भवः भनिन्छ ।
    पहिले पहिले गुरु भन्ने बित्तिकै गायत्री मन्त्र सिकाउने, दीक्षा दिने, तथा धनुर्विद्या सिकाउने गुरु आदिलाई मानिन्थ्यो । तर गुरुको परिभाषा अहिले व्यापक भएको छ । व्यक्तिगत गुण, राम्रो स्वास्थ, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशील प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान् बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ ।

    परम्परागत शिक्षा प्रणाली ः गुरुकुल
    आधुनिक शिक्षा प्रणालीको विकास हुनुपूर्व गुरुकुल शिक्षा प्रणाली प्रचलित प्रचलित थियोे । प्राचीन कालबाट सुरु भएको गुरुकुल नै शिक्षाको जग हो । घरमा नबसी गुरुका अधीनमा रहेर ब्रह्मचार्यपूर्वक त्याग एवम् तपस्यायुक्त जीवन यापन गर्दै विद्या आर्जन गर्नु परम्परागत गुरुकुल शिक्षा प्रणालीको प्रमुख उद्देश्य हो । प्राचीन कालमा आठ वर्षमा उपनयन संस्कार सम्पन्न भएपछी गुरुका आश्रममा बसेर कठोर अनुशासनको पालना गर्दै विद्या आर्जन गर्ने चलन थियो । २५ वर्ष नपुग्दासम्म गुरुका साथमा बसेर विद्या आर्जन गर्नुपथ्र्याे । त्यस पस्चात् निकै कठिन परीक्षा सामना गरेपछि मात्र शिष्य दीक्षित हुन्थे । गुरुका जस्तासुकै कठिन आदेश पनि चुपचाप पालना गर्नुलाई शिष्यले आफ्नो धर्म सम्झिन्थे । गुरुले शिष्यलाई त्यस्तैमा अभ्यस्त गराएका हुन्थे । यदाकदा यसलाई गुरुहरूले दुरुपयोग गरेर आफ्नो स्वार्थ अनुकूल प्रयोग गरेको पनि पाइन्छ ।
    यसको ज्वलन्त उदाहरणका रूपमा गुरु द्रोणाचार्य र शिष्य एकलव्यलाई लिन सकिन्छ । पाण्डवहरूलाई धनुर्विद्या दिइरहेको समयमा द्रोणाचार्यलाई थाहा हुन्छ कि उनले निरन्तर शिक्षा दिएर सर्वश्रेष्ठ धनुर्धर बनाएका अर्जुनभन्दा गुरुविना नै एकलव्य धनुर्विद्यामा बढी पारङ्गत भएका हुन्छन् ।यो देखेर द्रोणाचार्यलाई ईष्र्या हुन्छ जब कि ईष्र्या असल गुरुको गुण होइन । उनी तुरुन्त एकलव्यकहाँ गई तिमीलाई गुरुविना शिक्षा ग्रहण गर्ने अधिकार छैन भन्छन् । एकलव्यले आफूले गुरुबाट नै शिक्षा ग्रहण गरेको बताउँछन् । ‘तिम्रो गुरुसँग मलाई पनि भेटाउ न त’ भन्दा एकलव्यले आफूले प्रतिस्थापन गरेको द्रोणाचार्यकै मूर्तिलाई देखाउँछन् र मैले उहाँबाटै शिक्षा लिएको हो भन्छन् । त्यस बेलाको मान्यता अनुसार एकलव्य नीच जातिका भएकाले ब्राह्मणबाट शिक्षा आर्जन गर्न वर्जित थियोे तर एकलव्यलाई धनुर्विद्या सिक्ने उत्कट चाहना हुन्छ । त्यसैले उनले पाण्डवहरूलाई द्रोणाचार्यले शिक्षा दिएको बेलामा लुकेर धनुर्विद्या सिकेका हुन्छन् । गुरुविनाको ज्ञान पूर्ण नहुने मान्यता भएकाले उनले द्रोणाचार्यको मूर्ति स्थापना गरि सोही मूर्तिलाई गुरु मानेर अभ्यास गरेका हुन्छन् । यी सबै कुरा थाहा पाएपछि द्रोणाचार्य आफ्नो अनुमतिविना आफूबाट शिक्षा ग्रहण गरेको हुनाले आफूलाई गुरु दक्षिणा दिनुपर्ने बताउँछन् । एकलव्यले आफू गुरूको इच्छा बमोजिमको गुरुदक्षिणा चढाउन तयार रहेको बताउँछन् । द्रोणाचार्यले उनीसँग दायाँ हातको बुढी औँला माग्छन् । गुरुको आज्ञा पालन गर्दै एकलव्यले तुरुन्तै आफ्नो दायाँ हातको बुढी औँला काटेर गुरु द्रोणाचार्यलाई अर्पण गर्दछन् । यसपछि एकलव्यको धनुर्विद्या अपूर्ण बन्न पुग्दछ । सबै ज्ञान भएर पनि त्यसलाई प्रयोग गर्न उनी असमर्थ बन्छन् । तर उनी भने गुरुभक्त शिष्यका रूपमा तिनै लोकमा अमर र उदाहरणीय बन्दछ्न् । यस कार्यलाई गुरुका रूपमा द्रोणाचार्यको गलत कार्यका रूपमा चित्रण गर्न सकिन्छ ।

    गुरु शिष्य सम्बन्धको वर्तमान आयाम
    गुरु शिष्य सम्बन्ध पौराणिक कालदेखि नै एक पवित्र र विशिष्ट रूपमा रहँदै आएको छ । वास्तवमा गुरु शब्दले छुट्टै ओज र गरिमा बोकेको छ । कुनै पनि व्यक्ति शिष्य नभइ गुरु बन्न सक्तैन । तसर्थ जो गुरु हो ऊ आफैँ शिष्य पनि हो । जसले गुरुको भूमिकालाई न्याय गर्न सक्दैन ऊ स्वभावैले पूर्ण शिष्य बन्न पनि सक्दैन । उसले गुरु बन्ने योग्यता पूरा गरेको ठहर्दैन ।तसर्थ गुरु शिष्य एकै व्यक्तिका दुई स्वरूप हुन् । हिजोका शिश्य आजका गुरु हुन् भने आजका शिष्य नै भोलि गुरु हुने हुन् । गुरुले आफ्नो गुरुप्रति गरेको व्यवहारको अनुशरण उसको शिष्यले गर्दछ ।
    आजभोलि गुरु शब्द प्रयोगको दायरा फराकिलो भने भएको छ तर यसको पूर्ण अर्थलाई भने यसले वहन गर्न सकेको देखिँदैन । आजभोलि गुरु–शिष्य लाई शिक्षक विद्यार्थीमा सीमित गरिएको पाइन्छ । तर यतिले मात्रै गुरु शब्दको सार्थकता हुँदैन । वास्तवमा जसले गन्तव्यमा पुग्न मद्दत गर्छ त्यो नै गुरु हो । शिक्षा मात्रै दिने गुरु हुन सक्दैनन् । गुरुले शिष्यलाई शिक्षाका साथसाथै जीवन जिउने कला समेत सिकाउन सक्नुपर्छ । शिष्यलाई माछा मारेर दिने गुरु हुन सक्दैन जसले माछा मार्न सिकाउँछ त्यो गुरु हुन्छ । तसर्थ शिक्षक वा प्राध्यापक धेरै हुन सक्छन् तर गुरु त्योभन्दा कम हुन्छन् । शिक्षकले शिक्षा मात्र दिन्छन् भने गुरुले दीक्षा दिन्छन् । त्यसैले गुरु जो कोही बन्न सक्दैनन् । गुरु बन्न स्वार्थ त्याग, अध्यनशीलता, तटस्थता, मानवता, सहिष्णुता, सेवा जस्ता गुणहरूको आवश्यकता पर्दछ ।