• यतिबेला विश्व समुदाय कोभिड–१९ को भिषण आक्रमणको अकल्पनिय क्षति व्यहोरिरहेको छ । विश्वका २१० भन्दा बढि राष्ट्रहरुमा यसले आफ्नो नागरुपि फँणा फिँजाइसकेको छ । जसले गरेको विष बमनको परिणाम विश्वमानव समुदायले भोगिरहेको छ ।
    कोरोना भाइरसका कारण लाग्ने रोग कोभिड–१९ को संक्रमण नेपालका ७३ जिल्लामा फैलिसकेको छ । संक्रमणको असर सबै क्षेत्रले खेप्नुपरेको छ । आर्थिक, सामाजिक देखि लिएर मानसिक रुपमा आक्रान्त पारिरहने यो भाइरस नियन्त्रणका लागि विश्वले गरेका प्रयासहरु एकपछि अर्काे विफल हुँदैगएका छन् । जसले गर्दा विश्व समुदायमा थप भय सिर्जना भएको छ ।
    संक्रमित ७३ जिल्लामध्ये सिन्धुली पनि संक्रमित जिल्ला नै हो । नेपालमा बन्दाबन्दी सुरु भएको ८४ दिन वितिसकेको छ । यतिका दिन वितिसक्दा बन्दाबन्दीका सुरुका केहि दिनमा सिन्धुलीमा बन्दाबन्दी छ भन्ने थोरै महसुस भएको थियो । त्यसपछिका दिनहरुमा यहाँका मानिसले कोरोनालाई बिर्सिएर मनमर्जि गरेकै हुन् । फेरी विचमा जव सिन्धुली अस्पतालका केहि कर्मचारी सहित २० जनामा आर.डि.टी पोजेटिभ देखियो त्यसपछि सिन्धुली बजारक्षेत्र केहि आतंकित बन्यो । जसको परिणाम केहि दिन बजार सुनसान बन्यो, अतिआवस्यक बाहेकका यातायातका साधन कम चल्न थाले । तथ्यांक अनुसार सिन्धुलीमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । सेवाक्षेत्रको हिसाबले हेर्ने हो भने स्वास्थ्य सेवा क्षेत्र अति नै जोखिममा छ । राष्ट्रिय तथ्यांक हेर्ने हो भने पनि संक्रमितको संख्या दिनानुदिन आकासिँदो छ ।
    तर अहिले सिन्धुली माडिबजारको अवस्थालाई हेर्दा लाग्छ सिन्धुलीका मानिसहरुले कोरोनाबारे सुनेकै छैनन् । यहाँको अव्यवस्थित सेवा प्रवाहलाई हेर्दा लाग्छ सिन्धुली कोरोनाले नछोएको स्थान हो । बन्दाबन्दीकै समयमा लुकिछिपी जिल्ला बाहिर गएर अहिले सिन्धुली आउनेहरुको संख्या धेरै नै छ । २ नं. प्रदेशका विभिन्न जिल्लामा बसेर सिन्धुली आएका र आफ्नो व्यापार व्यवसाय पुनः सन्चालन गर्न थालेका व्यवसायिहरु यहाँ धेरै छन् । उनिहरुले न आर.डि.टी परिक्षण गरेका छन्, न पि.सि.आर नै । अझ उनिहरु यो वीचमा तराईका कुन कुन जिल्लामा पुगेर यतिका समयपछि आए र फेरी आफ्नो व्यवसाय सन्चालन गर्न सुरु गरे भन्ने कसैलाई जानकारी छैन । न त उनिहरु आफैं भन्न तयार छन् । यतिबेला माडिबजारका स्थानिय व्यवसायीहरु थप त्रासमा छन् । किनकी उनिहरु आफ्नै घरभित्र बसेर बन्दाबन्दीको पालना गरिरहेका थिए । तर जब उनिहरुका छिमेकीहरु तराईका जिल्लाबाट फर्केर व्यवसाय सुरु गर्नथाले त्यसपछि स्थानिय व्यवसायीहरुमा त्रास बढ्नथालेको हो । माडिबजार अन्तरगत धुराबजार, १ नं. बजार, बैंकरोड क्षेत्र लगायतका केहि व्यवसायीहरु बन्दाबन्दीकै समयमा तराइका जिल्लाहरुमा गएर लामो समय उतै बिताएर आएका छन् । तेतिमात्र हैन उनिहरु आएपछि पनि उनका आफन्तहरुको आवत जावत बाक्लै भएको छ । यो अवस्थामा स्थानिय छिमेकी व्यवसायी तथा अन्य स्थानियहरु त्रसित बनेका छन् । सावधानी अपनाऔँ, सुरक्षित बनौँ, जोसुकैलाई आफ्नो घरमा प्रवेश नगराऔँ भन्दाभन्दै पनि सवै कुरालाई लत्याएर लापर्वाहीको क्रम उच्चतम विन्दुमा पुगिरहेको छ । सबैलाई थाहा छ ः यसको परिणाम एक दुईले मात्र हैन सवैले भोग्नुपर्छ ।
    यतिमात्र हैन बिहानदेखि खुलेको बजारको अवस्था र मानिसहरुको अस्तव्यस्ततालाई हेर्दा यहाँ कोरोनाले छोएकै छैन, आएकै छैन । यस्ता लापर्वाहीहरु बेपर्वाह अझै बढ्दै गयोभने सिन्धुलीमा महामारीको अवस्था निकै भयावह हुनेमा दुईमत छैन । केहि व्यवसायिहरुले सुरक्षाका विधिहरु अवलम्वन गरेको देख्न सकिन्छ । तर सडक छेउका फुटपाथका पसलदेखि मध्य बजारका पसलहरुमा समेत अस्तव्यस्त अवस्था देख्न सकिन्छ । न व्यवसायि त सेवाग्राही कसैले पनि सुरक्षाका उपायहरु अपनाएको पाइँदैन । अहिलेकै अवस्थामा स्वास्थ्य संस्थाहरु त्रसित भैरहेका छन् । आकस्मिक बाहेकका सेवा बन्द भएकाबेला कोरोना संक्रमितहरु थपिंदै जाँदा कसरी व्यवस्थापन गर्ने भन्ने अर्काे जटिल पाटो सिर्जना भएको छ । यसर्थ सवैले स्वविवेक प्रयोग गर्दै सामाजिक दुरी कायम गरेर बजार व्यवस्थापन तथा सेवा प्रवाह गर्नु उचित देखिन्छ ।