• जिवी श्रेष्ठ

    ज्ञान, सीप र प्रविधिको उपयोग मार्फत आर्जित छरिएर रहेका पूँजी एकत्रित गरि उत्पादनशिल कार्यमा लगाउने माध्यम नै सहकारी हो । सहकारीको परिभाषा दिँदा शव्दमा तलमाथि हुनसक्ला तर गर्ने काम, प्रदान गरिने सेवा, कर्तव्य र प्राप्त गर्ने अधिकारहरु भने समान हुन्छन् । जिम्मेवारीपूर्वक दैनिक रुपमा आफ्ना सेवाहरु प्रवाह गर्दैआइरहेका सहकारीहरु त्यसवेला दोधारमा परे जव आकस्मिक रुपमा सरकारले बन्दाबन्दी (लकडाउन) को घोषणा ग¥यो ।
    नियमित रुपमा कार्यालय सन्चालन गरिरहेका सहकारीहरु सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण दुविधामा परे । कोभिड– १९ को कारणले अचानक मन्त्री परिषदको लकडाउनको निर्णयले भोलीबाट सहकारी खोल्ने कि नखोल्ने, लकडाउनमा के–के गर्न पाईन्छ के गर्न पाइन्न भन्ने कुरामा सहकारीहरु अन्योलमा परे । कति सहकारीकर्मीलाई प्रहरीले कार्यालयमा आउँदा बाटोबाटै फर्काईदिए त केहि अनेक बाहाना गरेर कार्यालय सम्म आए । भोलीबाट लकडाउन हुन्छ भन्ने थाहा नभएकाले सदस्यहरुले आफूलाई आवश्यक पर्ने रकम झिक्नसम्म पाएनन् । जसले गर्दा अब के गर्ने भन्ने अन्योल त थियो नै । साथै कोरोनाको त्रास संगै वित्तिय आवश्यकताले समेत सताउन सुरु ग¥यो । बचतकर्ता, सहकारीकर्मी लगायत अन्य सेवाग्राहीहरु समेत विस्तारै समस्यामा पर्नथाले ।
    हरेक समस्याको कुनै न कुनै समाधान पक्कै हुन्छ, सवाल ढिलो छिटो भन्ने मात्र हो । फलस्वरुप केहि दिनदेखि नै सहकारीकर्मीले आफ्ना सदस्यहरुलाई सामाजिक सन्जालबाट धमाधम सूचना दिन थाले । वित्तिय आवश्यकता परेमा सम्पर्क गर्न सकिने माध्यम, व्यक्ति र समयका बारेमा स्थानिय सन्चार माध्यम, पत्रपत्रिका तथा सामाजिक सन्जाल मार्फत अधिकांस सहकारीहरुले आफ्ना सेवाग्राहीहरुलाई सूचना प्रवाह गर्न कुनै कन्जुस्याँइ गरेनन् ।
    कोभिड–१९ ले विश्वभर आफ्नो दुस्प्रभाव पारिरहेकाबेला सहकारी कर्मीलाई स्वास्थ्यको चिन्ता एकातिर थियो नै त्यसका साथै आफ्ना सदस्यहरुको वित्तिय आवश्यकता कसरी पूरा गर्ने भन्ने अर्काे चिन्ता थप भयो । यो अवस्थामा सिन्धुलीमा सन्चालीत सहकारीकर्मी एक भए र कसरी सहकारीका सदस्यहरुलाई वित्तिय सेवा दिने भनेर सामाजिक सन्जालमा जोडिए अनि एउटा निचोड निकाले । लकडाउनको समयमा बचत बढि फिर्ता हुने भएकाले तरलतामा कमि आउला भन्ने अधिकांस सहकारीकर्मीलाई चिन्ता थियो । सिन्धुलीमा अधिकांस सहकारीहरु बजार कै भरमा छन् भन्ने कुरा घाम झैँ छर्लङ्ग छ । दैनिक बजारबाट रकम संकलन गर्ने अनि त्यहि रकम सदस्यहलाई लगानी गर्ने । बन्दाबन्दीमा बजार बन्द रहेकाले दैनिक रकम संकलन गर्न सम्भव थिएन । सहकारी अलि बढि समुदाय संग जोडिएको सँस्था भएकाले सदस्यहरु वित्तिय आवश्यकताको लागि सहकारी धाउने कुरा स्वाभाविक हो । यसैवीचमा तरलताको कमि आउला भन्ने हामीलाई ठूलो चिन्ता थियो ।
    बन्दाबन्दी (लकडाउन) का बेला सिन्धुलीका बढि जसो सहकारीले कार्यालयमा काम गर्न नआएका कर्मचारीहरुलाई पनि नियमित पाउने सेवा सुविधा दिएका छन् । नियमित ब्याज तथा किस्ता तिर्न आउने ऋणीहरुलाई ब्याजमा छुटको ब्यवस्था दिएका छन् । रकम संकलन छैन, महामारी यथावत छ, बचत फिर्ता भैरहेको छ तथापि कर्मचारीलाई दिँदै आएको सेवा सुविधा अधिकांस सहकारीहरुले यथावत राखेका छन् । यस्तो अवस्थामा आम्दानी कम खर्च बढि हुनु स्वाभाविक हो । यस्ता अनेकौँ समस्याका बाबजुद पनि सहकारीहरुले आफूले प्रदान गर्दै आएको सेवा प्रवाहलाई निरन्तरता दिइरहे ।
    कोभिड –१९ बाट सुरक्षित हुन आवश्यक सावधानि अपनाउँदै कर्मचारीहरु अहिले दैनिक काममा लागेका छन् । उस्तैगरि आफ्नो जिम्मेवारी वहन गरिरहेका छन् । यस्तो संक्रमणको बेला आफ्नो र परिवारको स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्ने त छँदैछ । संगसंगै आवश्यक परेको बेला जुनसुकै बेला पनि वित्तिय आवश्यकता पूरा गर्न यतिबेलास सहकारीका कर्मचारीहरु सेवाग्राहीमाझ पुगिरहेका छन् ।
    सत्य सुन्दा र सहनुपर्दा तितो लाग्नु नयाँ कुरा हैन । वास्तविक कुरा गर्ने हो भने सहकारीकर्मीहरुलाई समुदायले हेर्ने नजर अझै पनि अपेक्षाकृत रुपमा सकारात्मक छैन । छरछिमेकमा कुरा चल्दा पनि ‘छोरा छोरी के गर्छन्’ भनेर कसैले सोध्दा अभिभावकको सहज जवाफ हुन्छ ‘फलानो सहकारीमा काम गर्छन् ।’ तर जवाफ भुइंमा खस्न नपाउँदै सोध्नेको नाक मुख खुम्चिएर सिमा कटिसक्या हुन्छ । किन निको हुँदैन यो पूरानो रोग ? जसले ८ देखि १० घण्टासम्म सँस्थामा काम गरेर सेवाग्राहीसम्म पुगिरहेको हुन्छ उसैको सीप, क्षमता र रोजीरोटीमा समाजको आँखा किन सँधै टेँडो हुन्छ ? भनेको समयमा बचत फिर्ता घरैमा पु¥याइदिनुपर्ने, संस्थामा पुगेर समाधान गर्नुपर्ने सेवाग्राहीका समस्या उहि कर्मचारीले घरैमा पुगेर समाधान गर्नुपर्ने, संस्थाले तोकेको जिम्मेवारी पनि सहि तरिकाले पूरा गर्नैपर्ने । यति भएर पनि सहकारीकर्मीप्रति समाजको नजर किन माथि उठ्न सकिरहेको छैन ? किन हेयको नजरले हेरिन्छ सहकारीकर्मीहरुलाई कि उनिहरुको क्षमता, योग्यता र सीप अन्त नबिकेर सहकारीमा विक्री गरिएको जस्तो । पहिलाको तुलनामा केहि परिवर्तन भएको पक्कै छ सहकारीकर्मीलाई हेर्ने समाजको नजर । तर जुन रुपमा उनिहरुको सीप, क्षमता र योग्यताको मूल्यांकन हुनुपर्ने हो त्यसरी भएको छैन । अर्काे कुरा केही सहकारीमा अझै पनि संस्थापकको एकाधिकार चलिरहेको छ । संस्था स्वयंले कर्मचारीहरुलाई हेर्ने नजर र गर्ने व्यवहार जर्राे र टर्राे दुवै छ । लाग्छ त्यहाँ शाषक र शाषित मात्र छन्–रोजगारदाता र कर्मचारी छैनन् । यसमा परिवर्तन आउन जरुरी छ । श्रमको मूल्यांकन गरिनु जरुरी छ, श्रमको सम्मान हुन जरुरी छ ।
    अहिलेको अवस्थालाई हेर्ने हो भने सहकारीहरुवीचको सम्वन्ध केही सुधारिएको छ । एकले अर्काेको कुरा काट्ने, सेवाग्राही भड्काउने र कर्मचारीहरुवीचमा फाटो आउने क्रम न्युन हुँदै गएको छ । यसको प्रमुख कारण अधिकांस सहकारीमा भएको युवा नेतृत्व नै हो । उनिहरुमा भएको जोस, जाँगर र क्षमता सहित आपसी सौहार्द्रता नै यति हुनुको मूल ओखती हो । आपसी सहकार्य र समन्वय सहित स्वच्छ वित्तिय प्रतिष्पर्धालाई आजको आवस्यकता मानेर युवा नेतृत्वले आफूलाई उभ्याएको छ सहकारीमा । यहाँका सहकारीहरुमा देखिएको सहकार्य र कर्मचारीहरुमा भएको एकतालाई यसैको उपज हो भन्दा गलत नहोला ।
    (लेखक सहकार्य साकोसका प्रबन्धक हुन् । )