• पवित्रा कुमारी श्रेष्ठ

    सिन्धुली, जेष्ठ ३२ । उमेरले ६५ टेकेका छन् पदम बहादुर उर्फ जुनार कृषक पदम बहादुर ठाडामगर । गोलन्जोर गाउँपालिका वडा नं. ४ तीनकन्या निबासी पदम बहादुरले वि.सं. २०३८ सालबाट जुनार खेती सुरु गरेका हुन् । उतिबेला कृषि विकास बैंकबाट ६० हजार रुपैयाँ ऋण लिएर जुनारका बिरुवा उत्पादन गर्न सुरु गरेका उनले अहिले आफ्नै व्यक्तिगत स्क्रीन हाउस निर्माण गरेर बिरुवा विक्री वितरण समेत गर्दैआएका छन् । सुरुवाती चरणमा कृषि फर्म र कृषि विकास कार्यालयबाट उनले प्राविधिक सहयोग मात्र पाएका थिए ।
    सुरुमा उनले बेशीमा भएको खुल्ला जमिनमा बिरुवा उत्पादन गरेका हुन् । अहिले लेक र बेशी दुवै ठाउँमा बिरुवा उत्पादन भैरहेको छ । स्क्रीन हाउस बनाएर बिरुवा उत्पादन गर्न थालेको ५ बर्ष मात्र भएको छ । त्यसोत पदम बहादुरले स्क्रीन हाउसमा भन्दा बाहिर खुल्ला जमिनमा धेरै बिरुवा उत्पादन गरिरहेका छन् । झण्डै ४ रोपनी खुल्ला जमिनमा जुनार सुन्तलाका बिरुवा मात्रै उत्पादन गर्छन् पदम बहादुर । त्यस्तै स्क्रीन हाउसमा २५ सय देखि ३ हजारसम्म बिरुवा उत्पादन हुन्छ ।
    सबै प्रकृया पूरा गरेर बिरुवा विक्रीयोग्य हुन २ देखि ३ वर्ष लाग्ने मगरको भनाई छ । खुला ठाउँमा उत्पादन भएको बिरुवा प्रतिगोटा ४० देखि ५० रुपैयाँ र स्क्रीन हाउसमा उत्पादन भएका बिरुवा प्रतिगोटा १२५ रुपैयाँमा बिक्री गरिने उनले बताए । ‘एकपटक बिरुवा बिक्री गर्दा सवै खर्च कटाएर अढाई देखि ३ लाख रुपैयाँ हातपर्छ,’ पदम बहादुरले भने ‘यो पटक बिरुवा अलि कम भएकाले अढाई लाख रुपैयाँजति आम्दानी होला ।’ आफ्नो परिश्रम र कमाइप्रति आफू सन्तुष्ट रहेको भन्दै परिश्रमी किसान पदम भन्छन् ‘जुनारसंगको मेरो साइनो भर्खरको हैन–४० वर्ष पुरानो हो, जहाँ जुनार हुन्छ त्यहाँ म हुन्छु ।’ जुनार र पदम बहादुरको सम्बन्ध नङ र मासुको जस्तै हो भन्ने कुरामा कुनै बिमती नभएको भन्दै उनले ‘पदम बहादुर र जुनार आपसका पर्याय हुन्’ भन्दा खुसीले गद्गद भए ।
    पदम बहादुर र जुनारको कहानी यतिमै सकिँदैन । उनले उत्पादन गरेका जुनार सुन्तलाका बिरुवा सिन्धुलीमा मात्र नभै अन्य बाहिरी जिल्लामा समेत बिक्री हुनेगरेको छ । बाहिरी माग अनुसार उनले आफ्नो उत्पादन पनि बढाउँछन् । छिमेकी जिल्ला काभ्रे संगै काठमाण्डौ, तेर्हथुम हुँदै भोजपुरबाट पनि बिरुवाको माग हुँदैआएको उनको भनाइ छ । उनको जुनार बगैँचा पनि नभएको हैन । तर बिरुवाहरु बुढो हुँदै गएकाले उत्पादन घट्दै गएको छ । अहिले बार्षिक ७०/८० हजार रुपैयाँको जुनार बिक्री गर्छन् पदम बहादुर । साथै उनले जुनार सुन्तलाको नयाँ बगैँचा निर्माण गरेका छन् । अबको ४ वर्षपछि तिनले उत्पादन दिन सुरु गर्छन् । उनले यसपटक तयार भएका सवै बिरुवाहरु विक्री गरिसकेका छन् । तिनको हिसाब किताब गरेर पैसा लिन मात्र बाँकी रहेको मगरले बताए ।
    खुला जमिनमा बिरुवा उत्पादन गर्दा पाएको सास्ती र सोचेजस्तो वृद्धि नभएको दिन सम्झँदै पदम बहादुरले जिल्ला कृषि विकास कार्यालयप्रति कृतज्ञ हुँदै भने ‘स्क्रीन हाउस निर्माणका लागि तत्कालिन कृषि विकास कार्यालय (हालःकृषि ज्ञान केन्द्र) ले मलाई ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेर नबिर्सिने गुन लाएको छ, जसबाट मलाई सफल जुनार किसान बन्नका लागि थप उर्जा मिल्यो ।’ त्यतिमात्र हैन बाहिर निर्माण गरेको नर्सरी र स्क्रीन हाउसमा उत्पादन भएका बिरुवाहरुले समयमा पानी नपाउँदा त्यहि पानीका लागि आफू र आफ्नो परिवारले गरेको दुःखलाई पनि सम्झन भ्याए पदम बहादुरले र भने ‘जुनार सुपरजोन कार्यक्रमले हाम्रो पानीको कष्ट टारिदिएको छ, यो कार्यक्रम हामी जुनार किसानहरुका लागि सँधै रहिरहनुपर्छ ।’ जुनार सुपरजोन कार्यक्रमले उनलाई जुनारमा सिँचाइका लागि पोखरी निर्माण गर्न ३० लाख रुपैयाँ र इन्टेक निर्माण सहित २००० मिटर पाइप खरिद गर्न १ लाख १४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आफनै आँगनमा पाइप सहितको पोखरी बनाइदिने जुनार सुपरजोन कार्यक्रम परिवारलाई उनले हृदयदेखि नै धन्यवाद दिएका छन् । त्यसो त तीनकन्यामा मात्रै जुनार सिँचाईको लागि पोखरी निर्माण गर्न जुनार सुपरजोन कार्यक्रमबाट २४ लाख रुपैयाँ लगानी भएको जुनार सुपरजोनका प्राविधिक दिलिप कार्कीले बताए ।
    आफ्ना ६ वटा छोरा छोरीहरु जसरी हुर्किए त्यसरी नै आफ्नो नर्सरीमा जुनारका हरिया बिरुवाहरु हुर्काएको उनले सुनाए । आफूले बिताएका विगतका कष्टलाई पदम बहादुर भुल्न सक्दैनन् । २५ वर्षको उमेरदेखि जुनारसंग दौँतरी गाँसेर ६५ वर्ष टेक्दा सम्म जुनार र पदम बहादुर आपसका पर्याय भएका छन् । आफ्नो नाजुक पारिवारिक अवस्थालाई माथि उकास्न यहि जुनार खेतीले ठूलो सहयोग गरेको भन्दै मगर भन्छन् ‘विगतदेखि वर्तमान सम्म आइपुग्दा मेरो जुन पहिचान बनेको छ यो सबै जुनार खेतीबाट नै सम्भव भएको हो ।’