६ केजी गाँजासहित एक जना पक्राउ
सिन्धुली/सवारी चेकजाँचका गर्ने क्रममा सिन्धुलीमा ६ केजी गाँजासहित एक जनालाई पक्राउ गरीएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–१० सिर्जनानगर क्षेत्रमा प्रहरीले नियमित सवारी चेकजाँच गर्ने क्रममा ६ केजी गाँजासहित एक जना पक्राउ गरीएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार दमकबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५४ नम्बरको हायस गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त हायसको १० नम्बर सिटमा सवार उदयपुरको कटारी नगरपालिका–८ आहाले निवासी ३७ वर्षीय टेकबहादुर मगरले बोकेको कालो झोलामा शंका लागेपछि खोल्न लगाइएको थियो ।
उहाँको अनुसार झोलाभित्र लुकाइ राखिएको अवस्थामा शुद्ध तौल ६ केजी गाँजा फेला परेको प्रहरीले पुष्टि गरेको छ । त्यसपछि मगरलाई तत्काल नियन्त्रणमा लिई लागूऔषधसहित प्रहरी चौकी दुधौलीमा ल्याइएको छ ।
प्रहरी चौकी दुधौलीबाट खटिएको टोलीले बागमती प्रदेशबाट आएका तालिमप्राप्त लागूऔषध खोजी कुकुर ‘जुनु’ को सहयोगमा सवारी साधनहरूमा कडाइका साथ जाँच गरिरहेको थियो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मगरमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ ।
उक्त गाडीका चालक काभ्रे पनौती नगरपालिका–१२ निवासी ३९ वर्षीय नवराज राउतलाई आवश्यक सोधपुछ गरी गाडीका कागजपत्र नियन्त्रणमा राखिएको छ भने उनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

