प्रविधि तथा मेशिन उपकरण मर्मत तालिमको उद्घाटन
सिन्धुली/नगरपालिका भित्रका युवाहरुको लागि उपयुक्त प्रविधि तथा मेशिन उपकरण मर्मत तालिमको उद्घाटन गरीएको छ ।
तालिमको आज एक बिशेष समामारोह बिच कमलामाई गरपालिकाका नगर उप प्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा उद्घाटन गरीएको हो ।
उद्घाटन गरे पश्चात कार्यक्रममा बोल्नुहुँदै उप प्रमुख देवकोटाले आजको युगमा प्रविधि चलाउनु मात्र पर्याप्त छैन र त्यसलाई मर्मत गर्ने सीप हुनु पनि उत्तिकै जरुरी रहेको बताउनुभयो । त्यस्तै उहाँले यस तालिमले अरूको भर पर्नु पर्ने अवस्थाबाट मुक्त गरी ’स्वरोजगार’ बन्न मद्दत गर्ने र मेशिन बिग्रँदा काम नरोकिने वातावरण बनाउन यो सीप कोशेढुङ्गा सावित हुने बताउनुहुँदै सहभागीहरूलाई लगनशीलताका साथ सिक्न र सफल प्राविधिक बन्न शुभकामना दिनुभयो ।
त्यस्तै कमलामाई नगरपालिका वडा नं.६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाले कार्यक्रममा नगरपालिका भित्रका युवा र उद्यमीहरूलाई दक्ष बनाउने उद्देश्यले मर्मत तालिमको आयोजना गरिएको बताउनुभयो । त्यसैगरी सामान्य प्राविधिक समस्याका कारण मेशिन थन्किने र उत्पादन रोकिने समस्या अब समाधान हुने बताउनुहुँदै अब सिकेको सीपलाई केवल तालिममा मात्र सीमित नराखी व्यवसायमा बदल्न आग्रह गर्नुभयो ।
आज बिहिबार बाट सुरु भएको प्रविधि तथा मेशिन उपकरण मर्मत तालिम २१ गते सम्म संचालन हुने पालिकाले जानकारी दिएको छ । तालिममा नगर भित्रका युवाहरुको सहभागिता रहने छ ।
कमलामाई नगरपालिका, उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सो तालिमको आयोजना गरीएको हो ।
कमलामाई नगरपालिका वडा नं.६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा प्रमुख, सूचना शाखा र उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

