दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते
सिन्धुली/सिन्धुलीको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बीपी राजमार्गमा बुधबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
डल्ले माझीले प्र.३–०२–०१४ प ८३६० नम्बरको २२० मोटरसाइकल चलाएको थिए ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ बस्ने करिब ४५ वर्षीय चालक डल्ले माझी रहेका छन् ।
उहाँको अनुसार हिजो राति करिब ९ बजे चैनपुरबाट खाल्टेतर्फ जाँदै गरेको बा.प्र. ०२–०२७ प ११०० नम्बरको एफजेड मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.३–०२–०१४ प ८३६० नम्बरको २२० मोटरसाइकल एकआपसमा ठोक्किँदा उकत दुर्घटना भएको हो ।
दुर्घटना पश्चात माझीलाई उनलाई तत्काल उपचारका लागि खाल्टेस्थित आत्मिय सामुदायिक अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको गए राति करिब १०ः१५ बजे समयमा मृत्यु भएको सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै घाइते हुनेहरुमा बा.प्र. ०२–०२७ प ११०० नम्बरको मोटरसाइकल चालक सिन्धुली सुनकोशी गाउँपालिका–६ का ३२ वर्षीय कैलाश तोलाङ्गे र सोही मोटरसाइकलमा पछाडि सवार ४९ वर्षीय दिपेन्द्र के.सी. रहेका छन् ।
घाइते दुवैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । हाल उनीहरूको केएमसी मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको बताइएको छ ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरीरहेका छ ।

