अपाङ्गता भएका ब्यक्तिहरुका लागि परालको चप्पल बनाउने तालिम
सिन्धुली/अपाङ्गता भएका व्यक्तिहरुका लागि परालको चप्पल बनाउने १५ दिने तालिम सिन्धुलीमाढीमा सन्चालन भैरहेको छ।
सिन्धुली अपाङ्ग महिला संघको आयोजना तथा सामाजिक विकास कार्यालय, हेटौंडाको सहयोगमा सन्चालित तालिममा बौद्धिक अपाङ्ग, शारीरिक अपाङ्ग र बहिरा अपाङ्ग गरी २० जनाको सहभागिता रहको छ ।
विराटनगर महिला उद्यमी महासंघका सदस्य अञ्जु थापाले तालिममा प्रशिक्षण गराईरहनुभएको छ भने सहभागिहरुले उत्साहजनक रुपमा सिकिरहेका छन् ।
सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा) को अनुसार अपाङ्ग भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरीएको हो ।
तालिमका सवालमा सकारात्मक नकारात्मक दुवैथरिका प्रतिक्रियाहरु आएको अध्यक्ष देबकोटाले बताउनुभयो । १४औं दिनसम्म आइपुग्दा सहभागिहरुले पनि निकै उत्साहित भएर सिकीरहेको वहाँको भनाई छ। तालिम पश्चात पनि यसैलार्ई निरन्तरता दिने हो भने अपाङ्गता भएका व्यक्तिहरुले आफूलाई चाहिँने खर्च आँफैले जुटाउन सक्ने आयोजकको अपेक्षा छ।
बजारमा परालको चप्पलको माग भएपछि सँस्थाको ध्यान त्यसतर्फ केन्द्रित भएको हो। सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुले सिक्न सक्ने भएकाले फुर्सदको समयमा घरमै बसेर परालको चप्पल बनाएर आयआर्जन गर्न सजिलो होस् भनेर तालिमको आयोजना गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।
परालको चप्पललाई शुद्ध मानिने भएकोले मन्दिर, घरभित्रका कोठाहरु र मृत्यु संस्कारमा गरिने काजक्रियामा समेत लगाउने गरीन्छ । तालिम यहि फागुन २९ गते अर्थात आज शुक्रवार समापन हुनेछ।

