ब्यालेट बिद्रोहको परिणाम, सिन्धुलीका दुवै क्षेत्रमा रास्वपा बिजयी
सिन्धुली/प्रतिनीधि सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले १६ हजार ६ सय ५९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदीप कुमार क्षेत्री ९केसी० ले भने १५ हजार ८ सय ७५ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार उज्ज्वल प्रसाद बराल भने तेस्रो हनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका डेकेन्द्र प्रसाद सुवेदीले ४ हजार ७ सय ८ मत प्राप्त गर्नु भएको छ ।
सिन्धुली १ मा रास्वपा, एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भएता पनि अन्त्यमा भने कार्कीले १६ हजार ६ सय ५९ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टका अनुसार उक्त क्षेत्रमा कुल एक लाख १० हजार ३९१ मतदाता रहेकोमा ६० हजार ६७५ मत खसेको थियो ।
खसेको मतमध्ये ३ हजार ३९५ मत बदर भई ५७ हजार २८० मत सदर भएको थियो । उक्त क्षेत्रबाट यस निर्वाचनमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।
त्यस्तै सिन्धुलीको क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उम्मेदवार आशीष गजुरेल विजयी हुनुभएको छ । गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं निवर्तमान सांसद लेखनाथ दाहाल ९राजन० ले १४ हजार ७८० मत प्राप्त गर्नुभयो । मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टका अनुसार यस क्षेत्रमा कुल १ लाख ४ हजार ६२८ मतदाता रहेकोमा ५६ हजार ८०३ मत खसेको थियो । जसमध्ये ३ हजार १४२ मत बदर भएको छ भने ५३ हजार ६६१ मत सदर भएको थियो ।
उक्त क्षेत्रबाट चुनावी मैदानमा ५ स्वतन्त्रसहित १६ जना उम्मेदवारहरू प्रतिस्पर्धामा उभिएका थिए । क्षेत्र नम्बर २ मा नेकपाका प्रभावशाली उमेदवार लेखनाथ दाहाल ९राजन० निकै प्रतिष्पर्धामा रहेर पनि पराजित हुनुभयो।
सिन्धुलीको दुबै क्षेत्रमा रास्वपाले बाजि मार्न सफल भएको छ। यसपटक ब्यालेट बिद्रोहले पूराना र जब्बर नेताहरुलाई सुध्रिने अवसर प्रदान गरेको छ।

