एसबीआई बैंक लुटपाटमा संलग्न ६ जनालाई मुद्दा पुर्पक्षका लागि कारागार पठाइयो
सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार ६ जनालाई मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय सिन्धुली पठाइएको हो । एसबीआई बैंक घ्याङलेख २ हायुटार शाखा गत पुस २९ गते लुटपाट भएको थियो ।
नायव उपरिक्षक सुवेदीको अनुसार सिन्धुली जिल्ला अदालतको माघ २७ गतेको आदेश अनुसार घ्याङलेख गाउँपालिका २ हायुटार बस्ने कबे स्याङतानका ४३ वर्षीय छोरा छविलाल स्याङतान, सोही स्थानका लालबहादुर बजुका ४३ वर्षीय छोरा चतुरमान बजु, कृष्णबहादुर तामाङका ५३ वर्षीय छोरा ज्ञानबहादुर भ्लोन तामाङ, चितवनको भरतपुर महानगरपालिका २ पोखरा बसपार्क बस्ने सुरेश श्रेष्ठका २२ वर्षीय छोरा शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका ५ भेडाबारी बस्ने भरत मगरका २२ वर्षीय छोरा विवेक मगर तथा सोही स्थानका गणेश गिरीका २३ वर्षीय छोरा मिलन गिरी ६ जना व्यक्तिहरुलाई मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय सिन्धुली पठाइएको हो ।
त्यस्तै प्रहरीको अनुसार परिवर्तित जिल्ला ३५ बस्ने परिवर्तित नाम ०८२÷०८३ सिन्धुली (९) लाई पनि सोही आदेशअनुसार मुद्दा पुर्पक्षका लागि एक बालकलाई बाल सुधार गृहमा राख्न अदालतले निर्देशन समेत दिएको छ ।

