कमलामाई–५ लाई बालमैत्री वडा घोषणा गर्ने
सिन्धुली/ कमलामाई नगरपालिका ५ लाई वि.सं. २०८४ भित्र बालमैत्री वडा घोषणा गर्ने स्पष्ट लक्ष्यसहित सरोकारवाला निकायबीच आज बुधबार छलफल भएको छ ।हेन्डस् नेपाल सिन्धुलीको आयोजना तथा वडा नं. ५ को समन्वयमा सरोकारवाला निकायबीच आज बुधबार बालमैत्री वडा घोषणा गर्ने छलफल भएको हो ।
बाल अधिकारको संरक्षण, प्रवद्र्धन र बालमैत्री वातावरण निर्माणलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यले छलफलको आयोजना गरेको वडा अध्यक्ष तथा वडा स्तरीय बाल अधिकार समितिका अध्यक्ष पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो ।
कमलमाई नगरपालिका ५का अध्यक्ष तथा वडा स्तरीय बाल अधिकार समिति अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षता भएको उक्त छलफल कार्यक्रममा वडा सदस्यहरू, कमलामाई नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाका प्रमुख, नगरपालिकाका सूचना प्रविधि अधिकृत, विद्यालय प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, बाल सञ्जाल, नेपाल प्रहरी, समाजसेवी, पत्रकार तथा सम्बन्धित शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


