ऐतिहासिक हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढीसम्म पदयात्रा हुँदै
सिन्धुली/यही माघ ५ गतेका दिन ऐतिहासिक हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढीसम्म पदयात्रा हुँदै छ । नेपाली सेनाको भवानी बक्स गण, ठुलिटार ब्यारेक, सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वय र सहकार्यमा उक्त पदयात्रा कार्यक्रम हुन लागेको हो ।
हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा अवस्थित ऐतिहासिक हरिहरपुरगढी किल्लाको सम्वर्द्धन, प्रवर्द्धन तथा प्रचारप्रसारसमेत गरी समग्र आन्तरिकरबाह्य पर्यटन प्रवर्द्धनलाई बढावा गर्ने उद्देश्यका साथ पदयात्रा गर्न लागिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले जानकारी दिनुभयो ।
हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको पदयात्रा कार्यक्रममा स्थानीय भेषभूषा तथा संस्कृति झल्कने मौलिक बाजागाजासहितको सांस्कृतिक कार्यक्रम, नाटकलगायतको प्रस्तुति रहने जानकारी दिइएको छ । यसका साथै, विशेषज्ञ डाक्टरसहितको जनरल ओपिडी सेवा, आँखा रोग, नाक कान घाँटी, बालरोग विशेषज्ञ सेवालगायतको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमसमेत सञ्चालन हुने अध्यक्ष वाइबाले बताउनुभयो । उहाँले उक्त निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिन अनुरोधसमेत गर्नुभयो ।
हरिहरपुरगढी गाउँपालिकाले ऐतिहासिक हरिहरपुरगढी किल्लादेखि सुरु हुने पदयात्राको बिदाइका लागि आयोजित बिदाइ कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ । पदयात्राको शुभारम्भ तथा बिदाइ समारोह हरिहरपुरगढी गाउँपालिका–१ स्थित हरिहरपुरगढी किल्लामा बिहान १० बजे आयोजना हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

