बिल बिजक नभएको अवैध कपडा बरामद

सिन्धुली/सिन्धुलीमा प्रहरीले बिल बिजक नभएको ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार कमलामाई नगरपालिका–९ स्थित भिमान चेकपोष्ट बाट बिल बिजक नभएको कपडा बरामद गरीएको हो ।

उहाँको अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तर्गत इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले हिजो बिहिबार बिहान करिब ९ बजे बर्दीबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्याज लोड गरेको प्र २–०४–००१ ख ००६१ नम्बरको ट्रकलाई शंकास्पद देखिएपछि ट्रक चेक जाँच गर्ने क्रममा उक्त बोरा भित्र लुकाइछिपाइ राखिएको भारतीय तथा इटालियन ब्रान्डका कपडा फेला परेको हो ।

प्रहरीले ट्रक पूर्ण रूपमा खोली जाँच गर्दा भन्सार गरी ल्याइएको प्याजका २३० बोरा बाहेक ती प्याजका बोराले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न ब्रान्डका सुतीका कपडाका रोलहरू भेटिएको प्रहरीले जनकारी दिएको छ ।प्रहरीको अनुसार बरामद कपडामा ‘पुनित’, ‘डोनातेला’ र ‘भिमल’ कम्पनीका सुती सुट तथा सर्टका थान कपडा रहेका छन् ।

प्रहरीको अनुसार पुनित कम्पनीको ४९ रोल ९१० मिटर, डोनातेला कम्पनीको २० रोल २७० मिटर र भिमल कम्पनीको ३० रोल ३४० मिटर कपडा बरामद गरिएको हो । बरामद कपडाको अनुमानित मूल्य १६ लाख ८३ हजार ६४० रुपैयाँ रहेको छ । प्याजको मूल्य ४ लाख ८० हजार रुपैयाँ र ट्रकको मूल्य २० लाख रुपैयाँ जोड्दा कुल ४१ लाख ६३ हजार ६४० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *