पेट्रोल छर्केर आगो लगाई हत्या गरेको अभियोगमा दुई जना पक्राउ
सिन्धुली /सिन्धुलीमा गत आईतबार पेट्रोल छर्केर आगो लगाई हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धु्लीका प्रहरी नायव उपरिक्षक सूृर्य प्रकाश सुवेदीको अनुसार कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ३२ वर्षीया सुशीला बञ्जनलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको अभियोगमा दुई जनालाई पक्राउ गरीएको हो ।
उहाँको अनुसार घटनामा संलग्न भएको आरोपमा मृतकको आफ्नै सासु ५१ बर्षिय माया रानी बञ्जन र नन्द ३५ बर्षिय मीना लामा बञ्जन लाई पक्राउ गरिएको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा मीना लामा बञ्जनले मृतक सुशीलामाथि पेट्रोल छर्केर आगो लगाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । उक्त घटनास्थलबाट प्रहरीले पेट्रोलको बोतल, र लाइटर बरामद गरिएको थियो ।
मृतकका बुबाले छोरीको हत्या गरीएको हो भन्दै किटानी जाहेरी दिएका थिए । साथै उक्त घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।सुशिलाको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ । सोमबार दिनभर सुशिलाका आफन्त र स्थानीयले मृतकको न्याय र घटनाको निश्पक्ष छानविन गरि दोषीलाई कारवाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा घेराउ गरी दवाव दिएका छन् ।
त्यस्तै बुहारीलाई आगो लगाउँदा आगोको लप्काले भेटेर घाईते भएका दुर्गामान बम्जनको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि किर्तिपुर वर्न अस्पतालमा लगिएको छ । उनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाकारी दिएको छ । उनलाई प्रहरीले निगरानीमा राखेको छ ।


