गत वर्षको तुलनामा यस वर्ष ६ महिना बित्न नपाउँदै हत्याको संख्या उच्च
सिन्धुली/सिन्धुलीमा दिनप्रतिदिन हत्याको प्रकरण बढ्दै गएको छ । गत वर्षको तुलनामा यस वर्षको ६ महिना बित्न नपाउँदै हत्याको संख्या उच्च देखिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार चालु आव २०८२/८३ को ६ महिनामा ५ जनाको हत्या भइसकेको छ ।
६ महिनाको अवधिमा जिल्लाको दुधौलीमा नगरपालिकामा २ जना, कमलामाई नगरपालिकामा १ जना, गोलन्जोर गाउँपालिकामा १ जना र तीनपानटन गाउँपालिकामा १ जनाका हत्या भएको छ । जस्मा १ बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् ।साथै उक्त घटनामा संलग्न रहेका ८ जनालाई कर्तव्य ज्यान मुद्धामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै उहाँको अनुसार गत आर्थिक वर्ष ०८१/०८२ कोे तथ्याङ्क हेर्दा १२ महिनाको अवधिमा ४ जनाको हत्या भएको थियो । जसमा हरिहरपुरगढी गाउँपालिकामा २ जना, घ्याङलेख गाउँपालिकामा १ जना र दुधौली नगरपालिकामा १ जनाको हत्या भएको थियो । जसमा १ बालिका र ३ पुरुष रहेको उक्त तथ्याङ्कमा उल्लेख छ । साउन देखि असार महिनाको अन्तरालमा भएको उक्त हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए ।जग्गाको भागबन्डा, घरायसी विवाद लगाएतको कारणले उक्त हत्याहरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
उसो त चालु आर्थिक वर्षको छ महिना पनि नपुग्दै हत्याको प्रकरणले गत वर्षलाई उछिन्नेको स्पष्ट देख्न सकिन्छ । यस्ता अपराध र हत्याका घटनाहरूको निरन्तरताले समाजमा डर र असुरक्षा फैलाउँदछ । जुन ठूलो चिन्ताको विषय हो । हत्या र अपराधिक घटनाले समाजमा स्थान पाउनुको मुख्य कारण आर्थिक असमानता र प्रलोभन, चेतनाको कमी, आपसि रिसिबि, खराब नियत लगायतका पक्षहरु हुन सक्ने सुवेदीले बताउनुभयो ।
साथै आजभोली मानिसहरुले सानो कुरा पनि सहन नसक्ने र व्यक्तिगत स्वार्थ परिपूर्तिका कारणले पनि धेरै हत्याहरु हुने गरेको उहाँले बताउनुभयो । हत्या तथा अपराधिक घटनाह निवारणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न स्थान, झुण्ड तथा व्यक्तिहरु विच सचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको सूवेदीले बताउनुभयो ।


