होटलको झ्यालबाट खसेर एक छात्राको मृत्यु
सिन्धुली / चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित होटल पार्क साइडको चार तलामाथिबाट खसेर सिन्धुलीकी एक छात्राको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार कमलामाई नगरपालिका–६ पानीट्याङ्गीकीका १८ वर्षीया स्नेहा पाख्रीनको मृत्यु भएको हो ।
सुवेदीको अनुसार हिजो बुधबार राति ११ः१० बजेको समयमा होटलको झ्यालबाट खसेपछि गम्भीर घाइते भएकी पाख्रीनलाई तत्कालै उद्धार गरी रत्ननगर–७ बकुलहरस्थित टाँडी अस्पताल पु¥याइएको थियो ।
उपचारको क्रममा उनलाई चिकित्सकले राति ११ः४५ बजे मृत घोषणा गरेका हुन । हाल मृतकको शव भरतपुर अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
कलेजको शैक्षिक भ्रमणका लागि उनी र शिक्षकसहित एक सय ६ जनाको समूह चितवन पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


