तामाङ समुदायको सांस्कृतिक एवं परम्परागत बाजा डम्फु बनाउने तालिम सुरु

सिन्धुली/हरिहरपुरगढी गाउँपालिका – ४, हाकपारामा आजबाट तामाङ समुदायको सांस्कृतिक एवं परम्परागत बाजा डम्फु बनाउने तालिम सुरु भएको छ ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुवप्रसाद ढकालको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको थियो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष कमलकुमार राई, ५ नम्बर वडाका अध्यक्ष साईला लामा लगायतको उपस्थिति रहेको थियो । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको वार्षिक कार्यक्रम अनुसार तामाङ समुदायको सांस्कृतिक एवं परम्परागत बाजा डम्फु बनाउने तालिम तालिमको आयोजना गरिएको उद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले तालिमले परम्परागत बाजाको संरक्षणसँगै उक्त बाजा बनाउने सीप विकास गरी उद्यमशीलता प्रवद्र्धन हुने आशा व्यक्त गर्नुभयो ।

वर्षभरिमा विभिन्न सीपमूलक तालिम सिकाइने र युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँमा तालिम प्रदान गरिँदै आएको कार्यालय प्रमुख ध्रुवप्रसाद ढकालले जानकारी दिनुभयो । सोही कार्यक्रमअन्तर्गत तामाङ समुदायको बाहुल्यता रहेको सो ठाउँमा मागअनुसार संस्कृतिको जगेर्नासँगै स्वआर्जनमा सहयोग गर्ने उद्देश्यले तालिम प्रदान गरिएको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।
तालिममा स्थानीय तामाङ समुदायका २० जना सहभागी रहनुभएको छ । तालिममा लिलाबहादुर स्याङ्तानले प्रशिक्षण गराउनुहुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *