हिन्दुहरुका लागि श्रावण महिना विशेष : हरिया, पहेँला चुरा र मेहेन्दीको बजार

सिन्धुली/धर्म र सँस्कृतिको पवित्र महिनाको रुपमा साउन महिनालाई लिइन्छ । पूजा, ब्रत, तिर्थ देखि घर परिवारमा सुख शान्ति छाउने विश्वासका कारण पनि यो महिना विशेष मानिन्छ।

हिन्दु समुदायमा हरियो चुरा र रंगलाई शीतलताको प्रतीकका रूपमा पनि लिइन्छ । नेपालीहरु जुन ठाउँमा भएपनि त्यहाँ रहेका हिन्दु नेपालीहरुले साउन महिनामा भगवान महादेवको पूजा गर्ने र हरियो पहिरन लगाउने गर्दछन् । यो समयमा अरुबेला भन्दा प्रकृति पनि बढि हरियाली नै हुनेगर्दछ । साउन महिनाको हरेक सोमबार शिबालयहरुमा भक्तजनहरुको उत्तिकै भिड लाग्नेगर्दछ।

त्यसो त साउन महिना व्यवसायीक हिसाबले पनि महत्वपूर्ण छ । यो महिना सुरुभएसँगै बजारमा हरियो चुरा र मेहेन्दी किनमेल गर्नेको संख्या वढ्न थालेको छ । विशेष गरी महिलाहरुले साउन महिनामा हरियो, पहेँलो चुरा र मेहेन्दी लगाउने परम्पराग रहेकोले यतिबेला कस्मेटिक पसलहरुमा भिड लागेको देखिन्छ । हिन्दू धर्माबलम्बी महिलाहरुले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा भएकोले गर्दा साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिने गरिन्छ । साउन महिनामा विवाहित नारीहरु आफ्नो श्रीमान्को आयु बढ्ने, सोचे आँटेका कुराहरु पूरा हुने र घरपरिवारमा सुख शान्ति छाउने विश्वासले व्रत बस्ने गर्छन् । साथै साउन महिनामा अधिकांस महिलाहरु हातमा हरियो पहेलो चुरा, मेहेन्दी लगाएर सोही रंगको पहिरनमा सजिएर बस्ने गर्दछन् ।

साउन महिना सुरु भएसंगै सिन्धुलीमा हरियो, पहेँलो चुरा, मेहेन्दी, हरिया पहेँला साडी, कुर्ती लगायतका पहिरनहरुको बिक्रि समेत बढ्को देखिन्छ । सिजन भएता पनि उहि सामानको मूल्य पसल अनुसार फरक फरक भेटिनेगरेको पनि छ । यस्तो अवस्थामा उपभोक्ताहरु ठगिने सम्भावना धेरै हुने उपभोक्ताहरु बताउँछन् । उहि सामान तर पसल अनुसार फरक फरक मूल्य हुँदा उपभोक्ताहरु ठगिने र आलोचना ज्यादा आउने सम्भावन भएकाले उद्योग वाणिज्य संघले यसप्रति चासो दिएर मूल्य एकरुपतामा निगरानी गर्नुपर्ने स्थानीय व्यवसायीहरुले बताएका छन् ।

यो सिजनमा दिनमा कम्तिमा पनि ४ हजारको व्यापार हुने कष्मेटिक व्यवसायी नेहा शाहले सिन्धुली खबरलाई जानकारी दिनुभयो । शाहले दैनिक ३ हजार देखी ५ हजारसम्मको चुरा, पोते, मेहेन्दी र नङपालिसको व्यापार गर्नुहुन्छ । अरु महिना भन्दा साउन महिनामा बजारमा यी सामाना किन्नेको भिड बढि हुने शाहाले बताउनुभयो । सदरमुकाम माडीबजार, धुराबजार, स्टलबजार, बसपार्क क्षेत्र, बैंक रोड एरिया, ढुंग्रेबास लगायत अन्य स्थानमा सन्चालित श्रृङगार पसलहरुमा यतिबेला महिलाहरु हरियो, पहेँलो चुरा र मेहेन्दीका सामाग्री खरिद गर्न व्यस्त रहेको देखिन्छन् ।

सिजनमा भएको व्यवसायले आफ्नो परिवारको गुजारा गर्नेहरुको संख्या पनि कम छैन । सबै व्यवसायीको व्यापार समान हुन्छ भन्ने छैन । लगानी र बजारको अवस्था अनुसार बिक्री पनि सोहि अनुसार हुनेगर्छ । तर सामानको मूल्य भने समान हुन जरुरी छ । सिजन वा अन्य जुनकुनै बहानामा उपभोक्तासंग मनलाग्दी मूल्य कस्न भने पाइँदैन । यसमा सम्वन्धित निकायले निगरानी गर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *