राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
 
 						सिन्धुली/प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ले राष्ट्रका लागि सकारात्मक योगदान पुर्याउने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । आज हरिहरपुरगढी गाउँपालिकाले विद्यालय शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गरेका हरिहरपुरगढीभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
एउटा विद्यार्थीको सफलताभित्र राष्ट्रको सफलता हुने उहाँको भनाइ छ । ‘मेरो सफलताभित्र राष्ट्र सफल हुन्छ, राष्ट्रको निम्ति चाहिने ज्ञान मैले आर्जन गर्न सक्नुपर्छ, राष्ट्रका लागि सकारात्मक योगदान गर्नुपर्छ भन्ने इच्छाशक्ति लिएर बढ्नुहोस्,’ सांसद दाहालले भन्नुभयो, ‘हिजो हामीले अवसर पाएनौं, आज प्रविधिले तपाईंहरुलाई यस्तो ज्ञान आर्जन गर्ने अवसर दिएको छ । फेसबुक चलाएर समय बिताउनुभन्दा व्यावहारिक ज्ञान हासिल गर्न लाग्नुहोला ।’
उहाँले विद्यार्थीहरुले आलोचनात्मक र प्रतिस्पर्धामक क्षमता विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो । सिक्नेसँगै अरुलाई सिकाउन पनि मिहेनत गर्न उहाँले आग्रह गर्नुभयो । ‘मानिसको व्यवहारबाट ज्ञान अभिव्यक्त हुन्छ । तपाईंहरुले प्राप्त गरेको ज्ञान व्यवहारबाट प्रमाणित हुनुपर्यो । ज्ञान प्राप्त गर्न चिन्तन मनन गर्नु जरुरी छ,’ सांसद दाहालको भनाइ छ ।
हरिहरपुरगढीका विद्यालयलाई कसरी सक्षम बनाउने, विद्यार्थीलाई कसरी अब्बल बनाउने, दक्ष बनाउने भनेर आफू निर्वाचित भएपछि निरन्तर पहल गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले हरिहरपुरगढी गाउँपालिकाले आफ्नो स्रोत साधनले भ्याएसम्म शिक्षामा लगानी गरेको बताउनुभयो । ‘तपाईंहरुलाई प्रोत्साहित गर्न, ऊर्जा थप्न यो सम्मान गरिएको हो । यो सम्मान कार्यक्रमले अरु विद्यालय र विद्यार्थीलाई पनि हामीले मिहेनत गर्नुपर्ने रहेछ भन्ने कुरामा प्रोत्साहित गर्ने उद्देश्यसहित आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो ।
सांसद दाहालले संविधानमा मौलिक हकको रुपमा व्यवस्था भएको शिक्षालाई कसरी व्यावहारिक बनाउने, कसरी प्रविधिमैत्री बनाउने भन्ने विषयमा तीन तहकै सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यही असार २३ गतेबाट सुरु हुने संसदको अधिवेशनबाट संघीय शिक्षा ऐन पारित गरिनेसमेत बताउनुभयो । ‘संघीयतालाई अवरोध गर्ने विधेयकहरु क्रमशः पारित गर्न सरकारलाई दबाब बढाउँदै र ठूलो दल कांग्रेसलाई विश्वासमा लिँदै नेकपा माओवादी केन्द्रले पहल गरेको छ । शिक्षकहरु पुनः सडकमा जानु नपर्ने अवस्था निर्माण गर्न पहल गरिरहेका छौं,’ सांसद दाहालले भन्नुभयो ।


 सिन्धुली खबर
								सिन्धुली खबर								
 
 														 
 														 
 														 
 														 
 														 
 										 
 										 
 										 
 										 
 										 
 										 
 										