राहदानी बनाए बापत पौने चार करोड राजस्व संकलन

सिन्धुली/सिन्धुलीमा राहदानी बनाउनेहरुको संख्या बढिरहेको छ । बढ्दो बेरोजगारी समस्या र राजनीतिक अस्थिरताका कारण खासगरि युवाहरु विदेशीने क्रम झनझन बढिरहेको तथ्यांकले पुष्टि गर्छ ।

यसैक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राहदानी बनाउनेहरुको संख्या झनझन थपिँदैगएको कार्यालयको तथ्यांकले देखाउँछ । तीनै तहका सरकारले युवा स्वरोजगारको क्षेत्रका करोडौँ लगानी गरिरहेका छन् । तथापि विदेशीने युवाहरुको संख्या घट्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मात्रै राहदानी बनाए बापत साँढ़े तीन करोड़ भन्दा बढी राजस्व संकलन गरेको छ।

राहदानी बनाए बापत चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्म ३ करोड ७८ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । ११ महिनाको अवधिमा ७ हजार ३ सय १६ वटा राहदानी पेस भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साधारण सिफारिस लिनेमा ४ हजार ५ सय ८२ जना पुरुष, २ हजार ३ सय ५९ जना महिला र ६२ जना नाबालक गरि जम्मा ७ हजार ३ जना रहेका छन् । त्यस्तै जेठ मसान्त सम्म ३ सय १३ वटा द्रूत राहदानी सिफारिस गरिएको कार्यालयले जनाएको छ ।

उक्त समयमा सिफारिस गरिएको राहदानी मध्ये ६ हजार २ सय ५६ वटा राहदानी जिल्लाबाटै वितरण गरिएको छ । राहदानी बनाए बापत साउनमा ४७ लाख २५ हजार, भदौमा ३५ लाख ४५ हजार, असोजमा १ लाख ८८ हजार संकलन भएको छ । त्यस्तै कात्तिक महिनामा ५३ लाख १० हजार राजस्व संकलन भएको छ जुन चालु आर्थिक वर्षको ११ महिनाको अन्तरालमा सबै भन्दा बढी संकलन भएको राजस्व रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी मंसिरमा १२ लाख ५५ हजार, पुसमा ४९ लाख ७० हजार, माघमा ३३ लाख ५३ हजार, फागुणमा २८ लाख ११ हजार ७ सय ५०, चैतमा २८ लाख ६२ हजार ५ सय संकलन गरिएको छ ।

बैशाख महिनामा २९ लाख १३ हजार र जेठमा ४० लाख ३८ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको आयश्रोतको हिसावमा हेर्नेहो भने राजस्व रकम धेरै भन्दा धेरै संकलन हुनु राम्रो मानिन्छ । यसले राज्यको ढुकुटी भर्न र राज्य सन्चालन गर्न सहयोग पुग्छ । तर युवाशक्ति विदेश पलायन हुनु भनेको चाहिँ देशका दक्ष र क्षमता भएकाहरुको संख्या देशमा न्युन हुनु हो । यो जुनसुकै दृष्टिकोणबाट पनि गलत छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *