बगरमा तरबुजा : कृषकको सपना, श्रम र सफलताको कथा

सिन्धुली/सिन्धुलीका नौ वटै स्थानीय तहहरुले आ–आफ्नै पहिचान बोकेका छन् । धार्मिक, सांस्कृतिक, पर्यटकिय, कला, इतिहास तथा अन्य कुनै न कुनै रुपमा हरेक स्थानीय तहले पहिचान बनाएका छन् ।

त्यस्तै हरेक स्थानीय तहसंग कृषि क्षेत्र पनि जोडिएको छ । हरेक क्षेत्रको माटो कृषिको कुनै न कुनै बालीसंग परिचित छ । आलु, केरा, तरकारी, फलफूल, अन्नबाली लगायत हरेक स्थानीय तहको माटो कृषिको कुनै न कुनै बालीको पकेट क्षेत्रका लागि उपयुक्त छ ।

नौ वटा स्थानीय तहमध्ये हरिहरपुरगढी गाउँपालिका यतिबेला तरबुजा उत्पादनका लागि निकै प्रख्यात छ । पालिकाको वडा नं.२ जखौली अन्तर्गत पर्ने चार विगाहा क्षेत्रफलमा फैलिएको बगरमा रोपिएको तरबुजाले यतिबेला जिल्ला मात्र हैन देशव्यापी रुपमै ख्याति कमाएको छ ।

जमिनको उर्वर माटो बालुवाले पुरिएकोे थियो । ठाउँ–ठाउँमा टुक्रिएका ढुंगा, कतै खोलाले कोरेर बनाएका सानाखोँचहरु । चार वर्ष अघिसम्म यस्तै देखिन्थ्यो, बागमतीखोलाको किनार । अहिले त्यो उजाड बगरमा हरियाली लहराएको छ । यो कुनै चमत्कार होइन । सरकारको सहयोग र किसानको अथक मेहनतको प्रतिफल हो ।
गत माघ महिनाको अन्तिममा हरिहरपुरगढी गाउँपालिका–२ जखौली अन्र्तगत पर्ने चार विगाहा क्षेत्रफलमा फैलिएको बगरमा तरबुजाको बिऊ रोपिएको थियो । अहिले त्यहि तरबुजाको फलले बगर ढाकिएको छ । अथक परिश्रम पश्चात फलेका तरबुजासंग सपना सजाउँदै घुम्छन् किसानहरु । यसले बगरको उजाडतालाई विस्तापित गर्दै उत्साहको सञ्चार गराएको छ ।

बागमती खोलाको किनारमा फैलिएको बगर वर्षौँसम्म उपयोगविहीन भएर बसेको थियो । स्थानीय धिरेन्द्र राई दनुवारले त्यहाँ फरक सपना देख्नुभयो । बगरलाई हेरेर उब्जनीको सपना देख्ने दनुवार यतिबेला सफलताको स्वाद लिइरहनुभएको छ । जागरण कृषक समूहका अध्यक्ष समेत रहनु भएका किसान धिरेन्द्रले सफलताको श्रेय आफूसंग जोडिएका व्यक्ति र समूहलाई समेत दिनुभएको छ ।
राईको नेतृत्वमा रहेको समूहलाई व्यवासयिक खेतीमा अगाडि बढ्न सरकारको पनि साथ मिल्यो । बगरको बालुवामा पनि व्यवसायिक खेतिको सम्भावना देखेको बागमती प्रदेश सरकारको आर्थिक सहयोग र हरिहरपुरगढी गाउँपालिका सिन्धुलीको साझेदारीमा बगरमा व्यवसायिक तरबुजा खेती थालिएको हो ।

यस वर्ष १७ लाखको तरबुजा उत्पादन भएको अनुमान छ । सरस्वती जातको तरबुजाको मुल्य प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको कृषक समूहका सचिव सुकदेव राईले बताउनुभयो । उत्पादित तरबुजा स्थानीय बजारदेखि हेटौंडासम्म पठाउने गरिएको छ । बिचौलियाको सट्टा समूहले सीधा उपभोक्तासँग सम्पर्क गर्दै बिक्री गर्ने गर्छन् । उत्पादन भएका तरबुजा बेच्न खासै समस्या छैन । उपभोक्ताहरुले यहाँको तरबुजा निकै मनपराएका र सिधै घरसम्मै पनि लिन आएको समूहका सदस्यहरु बताउँछन् ।

कृषक समूहले बागमती खोलाको बगर क्षेत्रमा तरबुजा खेती गर्न बागमती प्रदेश सरकारबाट अनुदानमा ६ लाख प्राप्त गरेको छ । त्यस्तै ६ लाख रुपैयाँ समूह आँफैले लगानी गरेकोे छ । अन्य प्राविधिक सहयोग तथा साझेदारीमा गाउँपालिकाले कतै पनि कमी महशुस गराएको छैन । साझेदारी मोडलमा गाउँपालिकाभित्रका अन्य बगर क्षेत्रहरू पनि उपयोग गर्ने बारेमा छलफल भइरहेको गाउँपालिकाको कृषि शाखा प्रमुख प्रवेश देवकोटाले जानकारी दिनुभयो । “प्रयोगमा नआएको जमिनलाई उपयोग गरेर आम्दानीको राम्रो स्रोत बनाउने सोंचले यो खेतिलाई अघि बढाइएको हो । स्थानीय कृषक समूहले सँगठित भएर कामगर्दा परिणाम उत्साहजनक देखिएको छ,” उहाँले भन्नुभयो ।

जागरण कृषक समूहमा १४ जना किसान आवद्ध छन् । यसमध्ये आठ जना किसान सक्रिय रुपमा कृषिकर्ममा खटिएका छन् । कहिल्यै उपयोगमा नआएका बगरमा थालिएको तरकारी तथा फलफूल खेतीले किसानलाई आशाजगाएको छ । जहिल्यै पनि बालुवा, झारपात र बाढीले ढाकिएको देखिने बगर अहिले भने तरकारी र फलफूलको खेतीले सिंगारिदै गएको छ ।

त्यस्तै मरिण गाउँपालिका–२ सिन्दुरे दोभानका १७ जना किसानले पशुपति सिन्दुरे दोभान उघु उद्यमी कृषक समूह गठन गरी सामूहिक बगर खेती सुरु गरेका छन् । गाउँपालिकाको ८० प्रतिशत र कृषकको २० प्रतिशत लगानीमा तीन विगाहा जमिनमा तरकारी तथा फलफूल खेती गरिएको छ । “बेरोजगारीको चपेटामा परेकालाई गाउँमै कामदिलाउन र आयआर्जन बढाउन हामीले सामूहिक खेतीको अवधारणा ल्याएकाहौं,” मरिण गाउँपालिका अध्यक्ष विर्मश मोक्तानले भन्नुभयो ।

उहाँका अनुसार बगरमा खेती गर्न गाउँपालिकाले कुल ८ लाख ८६ हजार रुपैयाँ लगानी गरेको छ । उक्त रकमबाट बीउ, मल, टनेल, पानीसिँचाइका सामग्री, औजार लगायतका कृषि सामग्रीहरू उपलब्ध गराइएको हो । किसानले चाहिने श्रम, स्थानीय स्रोत र सिँचाइ व्यवस्थापनमा सक्रियता देखाएका छन् । सामूहिक बगर खेतीले उत्पादनसँगै रोजगारी पनि सिर्जना गरिरहेको छ । किसान खेतीमै व्यस्त छन् । श्रमको फल राम्रो हुनुभनेको आफ्ना सन्तानहरु सफल हुनुजस्तै हो भन्ने किसानहरु यतिबेला कृषिकर्मप्रति आकर्षित हुँदैगएका छन् ।

किसानले मात्र सपना देखेर त्यो सपना पूरा नहुन सक्छ । उसलाई आवस्यक आर्थिक, प्राविधिक तथा मानसिक रुपमै तयार गर्नका लागि सम्वन्धित सवैको हौसला र सहयोग जरुरी हुन्छ । यो कुरा मरिण र हरिहरपुरगढी गाउँपालिकामा गरिएको कृषि कर्म र यसबाट प्राप्त सफलताले पुष्टि गरिसकेको छ । विशेषगरि स्थानीय सरकारले दिल फुकाएर सहयोग गर्नसके किसानको श्रमले सार्थकता पाउनेरहेछ भन्ने प्रमाण यहि नै हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *