विज्ञान र प्रविधिमैत्री शिक्षा दिन शिक्षक आफैं अपग्रेड हुनुपर्छ : सांसद दाहाल

सिन्धुली/प्रतिनिधिसभा सदस्य लेखनाथ (राजन) दाहालले शिक्षण पद्धतिलाई विज्ञान र प्रविधिमैत्री हुनेगरी स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रबार एकीकृत अखिल नेपाल शिक्षक संगठन हरिहरपुरगढीले आयोजना गरेको सेवाप्रवेशी शिक्षक स्वागत, सम्मान तथा पूर्ण बैठकमा सांसद दाहालले अहिले ज्ञानलाई जसरी पनि विज्ञान र प्रविधिसँग जोड्नुपर्ने परिस्थिति सिर्जना भएको बताउनुभएको हो ।
उहाँले अहिलेको प्रवाह गरिएको ज्ञान र अभ्यास गरिएको ज्ञान नयाँ पुस्ताका लागि पर्याप्त नहुने धारणा राख्नुभयो । शिक्षकहरुले समयको मागअनुसार आफ्नो ज्ञान र क्षमता बढाउँदै जानुपर्नेमा उहाँको जोड थियो । “यो विषयमा गम्भीर समीक्षा गर्न जरुरी छ । यदि शिक्षण पेसामै रहनुहुन्छ भने शिक्षकहरु अपग्रेड हुनैपर्छ । हिजो सिकेको सीपले अब पुग्दैन । नयाँ प्रविधिले माग गरेअनुसार आफ्नो ज्ञानको दायरा बढाउनुपर्छ,” सांसद दाहालले भन्नुभयो ।
उहाँले शिक्षण पेसा आफैं सिक्ने र अरुलाई सिकाउने काम निरन्तर अभ्यास गर्नुपर्ने पेसा भएको उल्लेख गर्नुभयो । ‘‘अरु कुनै पेशालाई एकपटक सिकेपछि पुग्न सक्छ तर शिक्षकले प्रत्येक दिन नयाँ कुरा सिक्नैपर्छ । शिक्षकले नै नयाँ ज्ञान नलिने हो भने विद्यार्थीलाई के सिकाउनुहन्छ,’’ सांसद दाहालको भनाइ छ ।
सिक्ने चाहना राख्ने र सिकाइको अभ्यास गर्ने शिक्षक मात्र सफल हुने उहाँले बताउनुभयो । सांसद दाहालले सामाजिक सञ्जालको बिषय पाठ्यक्रममै समावेश गर्नुपर्ने धारणा राख्नुभयो । सामाजिक सञ्जालको सवल र दुर्वल दुवै पक्षको विषयमा पढाउनुपर्ने उहाँको भनाइ छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न पनि यस विषयलाई पाठ्यक्रममै राख्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।
सोही कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले एकीकृत अखिल नेपाल शिक्षक संगठन सक्रियताको साथ लाग्नुपर्ने बताउनुभयो । उहाँले शिक्षकहरुले आफ्नो हकअधिकारको लागि गरेको प्रयासमा आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।
अध्यक्ष वाइबाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । यसका लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल गर्न आवश्यक सहयोगका लागि आफू तयार रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष वाइबाले शैक्षिक गुणस्तर उकास्न संघ, प्रदेश र स्थानीय तहले गरेका करोडौं लगानीको प्रतिफल निराशाजनक रहेकोतर्फ शिक्षकहरुको ध्यानाकर्षणसमेत गराउनुभयो । शिक्षकहरुले जवाफदेही भई विद्यालयको शैक्षिक स्तर सुधारका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीका अध्यक्ष सन्तोष श्रेष्ठले २०२८ सालकै शिक्षा ऐनलाई तोडमोड गरेर लागू गरिनु खेद्जनक रहेको बताउनुभयो । शिक्षामा परिवर्तन नआउनुको पछाडि यो पुरानो ऐन पनि कारक बनेको उहाँको भनाइ छ । “शिक्षा ऐन बनेको ५३ वर्ष भयो । ४० वटा सरकार परिवर्तन भए । ४० वटा प्रधानमन्त्री फेरिए । तीन वटा शासकीय व्यवस्था भोगियो तर शिक्षा ऐन परिवर्तन भएन,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा अन्य संगठन परित्याग गरी प्रवेश गरेका तथा सेवा प्रवेशी ४५ जना शिक्षकलाई संगठनमा स्वागत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *