थाकलको छाप्रोबाट पक्की भवनमा उठ्यो बालकल्याण प्रावि

सिन्धुली/हरिहरपुगढी–५ धनमनाखोलास्थित बालकल्याण प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । मंगलबार एक समारोहबीच प्रतितिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले भवन उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा सांसद दाहालले प्राथमिक शिक्षा बालबालिकाको भविष्य राम्रो बनाउने जग भएकोले उक्त तहका विद्यार्थीलाई राम्रो शिक्षा र संस्कार दिनुपर्नेमा जोड दिनुभयो । ‘विद्यार्थीलाई भविष्यमा कस्तो बनाउने भन्ने जग बसाउने प्राथमिक विद्यालयबाटै हो । जग बलियो भएन भने घर बलियो हुँदैन । त्यसैले यस विद्यालयका विद्यार्थीहरुलाई जति राम्रोसँग पढाउनुहुन्छ, जति राम्रो संस्कार र अनुशासन सिकाउनुहन्छ, जति मिहेनत गरेर विद्यार्थीको दिमाग विकास गर्न सहयोग गर्नुहुन्छ, त्यहीँबाट उनीहरुको प्रगति सुरु हुन्छ,’ शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई लक्षित गर्दै उहाँले भन्नुभयो ।

सांसद दाहालले हरिहरपुरगढीमा प्राथमिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार निर्माण र दरबन्दी सिर्जना गर्ने काममा लागिपरेको बताउनुभयो । शिक्षा क्षेत्रमा बढी लगानी गरिएको र त्यसको नतिजास्वरुप सहरमा भन्दा गाउँमा शिक्षा राम्रो हुँदै गएको उहाँको भनाइ थियो । गाउँका विद्यालयलाई सूचना र सञ्चारको पहुँचले सहज बनाएको र सूचना प्रविधिले संसारको ज्ञानसँग जोडिएको हुँदा शिक्षक तथा विद्यार्थीहरुले लाभ लिनसक्ने अवस्था बनेको धारणासमेत राख्नुभयो ।

सांसद दाहालले जनकल्याण प्राविको स्तरोन्नतिको आवश्यकतासमेत औंल्याउनुभयो । कक्षा २ सम्म मात्र पढाइ हुने यस विद्यालयका विद्यार्थीलाई त्यसपछि अर्को विद्यालय जान समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले कक्षा ५ सम्म स्तरोन्नति गर्नुपर्ने बताउनुभएको हो ।

‘यहाँ उत्पीडित जाति, जनजातिहरुको बस्ती छ । बस्तीको बीचमा रहेको प्राथमिक विद्यालयमा कक्षा २ सम्म मात्र पढाइ हुन्छ । अरु विद्यालयमा भन्दा विद्यार्थी संख्या राम्रो छ,’ सांसद दाहालले भन्नुभयो, ‘५९ जना विद्यार्थी अध्ययन गर्ने यो विद्यालयलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता बोध गरेका छौं । अर्को विल्द्यालयमा जान दूरी टाढा छ । त्यसकारण न्यूनतम पाँच कक्षासम्म पु¥याउनुपर्छ भन्ने आवश्यकता बोध गरेका छौं ।’
उहाँले विद्यालयको स्तरोन्नतिका लागि आवश्यक दरबन्दी सिर्जना गर्नका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । यसका लागि आवश्यक कागजातलगायत तयारी गर्न उहाँले विद्यालय व्यवस्थापन समितिसँग आग्रह गर्नुभयो ।

शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय काम ः अध्यक्ष वाइबा
विद्यालय भवन उद्घाटन समारोहमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले आफूहरु निर्वाचित भएर आएपछि शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय काम भएको सुनाउनुभयो । ‘हाम्रो सरकार निर्वाचित भएपछि पालिकाभित्रका विद्यालयहरुमा कोटा ल्याउन धेरै संघर्ष गरियो । जसअनुसार अहिले सफल पनि भएका छौं,’ अध्यक्ष वाइबाले भन्नुभयो, ‘प्राविमा ४२ वटा कोटा ल्याउन सफल भएको छ । यसैगरी निमाविमा ४ वटा र माविमा ७ वटा कोटा ल्याएका छौं ।’

उहाँले कोटा ल्याउन गरेको दुःख नदेख्ने गुनासोसमेत गर्नुभयो । ‘अहिलेसम्म ५३ वटा कोटा आइसक्यो, यसलाई उपलब्धि देख्दैन । मास्टर (शिक्षक) आयो कि आएन भन्नेमात्रै कुरा हुन्छ । कोटा ल्याउन गरेको दुःख देख्दैन,’ अध्यक्ष वाइबाको भनाइ थियो ।
उहाँले चालु आर्थिक वर्षमा संघीय ससर्त अनुदानमार्फत विद्यालय भवनका लागि ३ करोड ८० लाख आएकोमा ६ वटा विद्यालय भवनको टेण्डर भइसकेको जानकारी दिनुभयो । अध्यक्ष वाइबाका अनुसार जीवनज्योति प्रावि जितपुरडाँडाको सूचना प्रकाशित भइ टेण्डर स्वीकृत हुने क्रममा रहेको र कालिका प्रावि कोक्टी, जनज्योति प्रावि चिसापानी यस्तै जनप्रगति प्रावि बसेरी, जनकल्याण प्रावि सानोधुम्बे, सरस्वती शिशु बाल प्रावि जमुने, कुशेश्वर प्रावि टेण्डर स्वीकृत भई सम्झौता समेत भइसकेको जानकारी दिनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष वाइबाले १ नम्बरलाई पर्यटकीय क्षेत्र बनाउने कार्यको थालनी भइसकेको बताउनुभयो । दुईतिरबाट चक्रपथ बनाउन बजेट पारित भइसकेको र टावर निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

‘भिमकोटको टावर संरक्षण गर्न सकिएन, पटक–पटक सोलार राखियो , त्यहाँ संरक्षण गर्न सक्दैनौं । त्यसलाई रद्द गरेर १ नम्बरमा ल्याएर टावर बनाउँदैछौं । जितपुरडाँडामा रेडियोको पनि टावर बन्छ । त्यसपछि पर्यटकहरुको अकर्षण बन्ने छ,’ उहाँले भन्नुभयो । जितपुरडाँडामै २७ लाख ५० हजार रुपैयाँको खानेपानी योजनाको पनि शिलान्यास गर्ने तयारी भइरहेको बताउनुभयो ।
सोहि गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले हामिले नेतृत्व लिएसँगै शिक्षा,स्वास्थ्य,बिजुली,सडक लगायतको क्षेत्रलाई परिपुर्ती गर्नको लागि अहोरात्र खटिरहेको भनाइ राख्नुभयो । उहाँले बालवालिकाहरुको जग बलियो बनाउन सक्यो भने शिक्षा व्यावहारिक हुँदै जाने कुरामा दुईमत नभएको बताउनुभयो ।

पक्की भवन बनेपछि विद्यार्थी उत्साहित
हरिहरपुगढी–५ धनमनाखोलास्थित बालकल्याण प्राविमा अध्ययनरत विद्यार्थीहरु उत्साहित हुनुभएको छ । थाकलको छाप्रोमा बसेर अध्ययन गर्दै आउनुभएका उहाँहरु नवनिर्मित पक्की भवनमा पढ्न पाउने भएपछि उत्सहित बन्नुभएको हो । यहाँका अभिभावकमासमेत खुसी छाएको देखिन्थ्यो । विद्यालयको पक्की भवन उद्घाटन हुँदा उहाँहरुले खुसी व्यक्त गर्नुभयो ।

भवन अभावमा यसअघि थाकलको छाप्रोबाट पठनपाठन सञ्चालन गर्दै आएको थियो । नयाँ भवन बनेसँगै अन्य विद्यार्थीलाई समेत आकर्षित गर्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।
उद्घाटन समारोहमा दिइएको जानकारीअनुसार विद्यालय भवन ३५ लाख १५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको हो ।

कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, गाउँपालिकाका पुर्व उपाध्यक्ष अनिता राई,वडा नम्बर ५ का वडा अध्यक्ष साइला लामा साथै गाउँपालिकाका प्रवक्ता कमलकुमार राई लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *